स्वदेशी उत्पादनलाई बढावा दिने नीति तथा कार्यक्रम ल्याउन लुम्बिनीका मुख्यमन्त्रीको आग्रह

काठ्माडौँ, २१ बैशाख, २०८० ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले स्वदेशी उत्पादनलाई बढवा दिने नीति तथा कार्यक्रममा ल्याउनुपर्ने बताएका छन् । उनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा स्वदेशी उत्पादनहरू प्रवर्द्धन हुने र रोजगारी सिर्जना हुने कार्यक्रमहरू बनाउन भूमिका खेल्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठसँग आग्रह गरेका छन् । आगामी बजेट, नीति तथा कार्यक्रमका बारेमा छलफल गर्न सिंहदरबारस्थित योजना आयोगको कार्यालय पुगेका मुख्यमन्त्री चौधरीले स्वदेशी उत्पादनको प्रवद्र्धन गर्न सके मुलुकको अर्थतन्त्र र विकासमा टेवा पुग्ने बताए ।
मुख्यमन्त्री चौधरीले अहिले विदेशी मदिराहरू जताततै छ्याप्छ्याप्ती रहेको, तर नेपालमै उत्पादन हुने मदिराको भने कुनै मूल्य नरहेको जानकारी योजना आयोगका उपाध्यक्षलाई गराएका थिए ।
‘कोरियाबाट आउने छ्याङ हामी किन्छौँ, अनि यहाँ थारूको घरम बनेकोचाहिँ घोप्ट्याउनुपर्ने स्थिति छ,’ मुख्यमन्त्री चौधरीले भने, ‘यसको अन्त्य गरेर मासबेसमा स्वदेशी उत्पादनहरू बढाउने र रोजगारी सिर्जना हुनुपर्छ ।’
मुख्यमन्त्री चौधरीले स्वदेशी उत्पादनहरू धेरै राम्रा भए पनि बजारिकरण गर्न नसकेको भन्दै अब हरेक स्वदेशी उत्पादनलाई प्राथमिकता राख्नुपर्ने बताए ।
जवाफमा उपाध्यक्ष डा. श्रेष्ठले आन्तरिक उत्पादनहरू बढाउनु नै आजको आवश्यकता रहेको बताए। अर्थतन्त्रलाई बलियो बनाउन पनि स्वदेशी उत्पादनलाई जोड दिनुपर्ने उनले बताए।
स्वदेशी उत्पादन र रोजगारी सिर्जना हुने परियोजनालाई जोड दिइर अर्थतन्त्रलाई बलियो बनाउनुपर्ने उनको भनाइ छ। रोजगारी सिर्जना हुने गरी आन्तरिक उत्पादनहरूलाई जोड दिनुपर्छ भन्ने सधैँ आफ्नो मान्यता रहेको उनले बताए।
‘मासबेस इन्कम जेनेरेट हुने गरी काम गर्नुप¥यो,’ उपाध्यक्ष डा. श्रेष्ठले भने, ‘भइरहेकोभन्दा केही नयाँ गर्नुपर्छ भन्ने छ, हामी उत्पादन र रोजगारीका लागि केही गर्छौँ ।’
भेटमा मुख्यमन्त्री चौधरीलाई उपाध्यक्ष श्रेष्ठले बधाई तथा सफल कार्यकालको शुभकामना दिए । चौधरीले मुख्यमन्त्रीको रूपमा मंगलवार मात्रै प्रदेश सभाबाट विश्वासको मत पाएका थिए ।

Previous articleदलहरु नीति अनुसार चल्न नसक्दा देश बर्बाद भएको पूर्वराजा ज्ञानेन्द्रको आरोप
Next articleखुल्यो नाका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here