बाँके, २० बैशाख, २०८० ।
पूर्व राजा ज्ञानेन्द्र शाहले राजनीति नै सवैभन्दा उत्तम नीति भए पनि राजनीति दलका नेताहरु नीति र ब्यवस्था अनुसार चल्न नसकेको बताएका छन् । नागरिक अभिनन्दन मूल समारोह समितिले बुधवार नेपालगन्जमा आयोजना गरेको नागरिक अभिनन्दन कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्रले नेपालका राजनीतिक दलहरु नीति अनुसार चल्न नसक्दा देशमा आर्थिक संटक निम्तिएको बताए ।
उनले राज परिवारले बनाएको भौतिक पूर्वाधारको समेत राजनीतिक दलहरुले संरक्षण गर्न नसकेको आरोप लगाए । आफ्नो पुर्वजले निर्माण गरेको महेन्द्र राजमार्ग, पृथ्वी राजमार्ग, त्रिभुवन विश्वविद्यालय, महेन्द्र संस्कृति विश्वविद्यालय, भृकुट कागज उद्योग, महेन्द्र प्रकृति संरक्षण कोष, हेटौडा सिमेन्ट उद्योग, बुटवल धागो कारखाना लगायत देशका विभिन्न स्थानमा स्थापना भएका उद्योग, कारखाना, सडक, विश्वविद्यालय जस्ता भौतिक संरचनाको राजनीतिक दलहरुले संरक्षण गर्न नसकेको उनको भनाई छ ।
‘हाम्रा पुर्वजले निर्माण गरेका भौतिक संरचनाको संरक्षण गर्नुभन्दा विगार्ने, भत्काउने र नष्ट गर्न थालेपछि देश र जनताको हितका लागि बाध्य भएर बोल्न परेको छ,’ पूर्वराजा ज्ञानेन्द्रले भने, ‘देशलाई अपठेरो परेपछि यसअघि पनि हाम्रा बुवा हजुरले राजनीतिक दलहरुलाई सचेत गराउनु भएको थियो । अहिले पनि देश आर्थिक संकटमा परेको छ । विकास, निर्माणका काम ठप्प भएका छन् । जताततै भ्रष्टाचार बढेको छ । देश र जनताको हितका लागि बोल्न म विवश भएको छु । यो मेरो रहर होइन बाध्यता हो ।’

नागरिक अभिनन्दनमा सहभागी पूर्वराजा ज्ञानेन्द्र शाह र परिवारका सदस्यको सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी ।
उनले देशको अवस्था सुधारौँ, ब्यवस्था र पद्दती बसालौँ, जनतालाई सुख, शान्ति र अमनचयन दियौँ भन्ने हेतुले नेपालगन्ज आएको धारणा राखे । राम्रो राजनीति र ब्यवस्था देश र जनताको हित विपरित भइरहेको छ । यसले म र मेरो परिवारलाई ठूलो चोट पुर्याएको छ,’ उनले भने, ‘अव महिला, पुरुष, यूवा सवै मिलेर देश बनाउने अभियानमा जुटौँ । यसैमा सवैको भलो छ ।’
उनले राजनीतिक दलहरुले उद्योग, कलकारखानाको संरक्षण र पवद्र्धन गर्न नसकेका कारण नेपालको दक्ष जनशक्ति विदेश पलायन भइरहेको बताए । दक्ष जनशक्ति विदेश पलायन भएका कारण नेपालको भू–भाग रित्तिदै गएको समेत बताए ।
अभिनन्दन कार्यक्रममा नागरिक अभिनन्दन मूल समारोह समितिका संयोजक समेत रहेका प्रतिनिधि सभा सदस्य तथा राप्रपा महामन्त्री डा. धवलशमशेर राणाले आफ्नो पार्टी सक्रिय राजतन्त्रको पक्षमा नभएको बताए । उनले पूर्व राजालाई राजनीतिमा ल्याउन नखोजेको स्पष्ट पारे । ‘हामी बेलायतको जस्तो संवैधानिक राजतन्त्रको पक्षमा छौँ भन्ने कुरा राजपरिवारलाई म यहि सभाबाट स्पष्ट पार्न चाहन्छु,’ उनले भने ।
उनले पूर्व राजपरिवारका सदस्यलाई आफ्नो कुरा राख्ने अधिकार संविधानले दिएको जिकिर गर्दै राजा र राजपरिवारको बारेमा अनावश्यक भ्रम नछर्न चेतावनी दिए । ‘पूर्वराजा ज्ञानेन्द्रले जनता सामु आफ्ना कुरा राख्दा राजनीतिक दलका नेताहरु डराएका छन् । हतास मनस्थितिले नेताहरु जथाभावी बोलिरहेका छन् । राजनीतिक दलका नेताहरुलाई जस्तै पूर्वराजा र परिवारका सदस्यलाई पनि आफ्नो कुरा राख्ने अधिकार संविधानले दिएको छ,’ उनले भने, ‘अर्काको बारेमा बोल्दा आफ्नो तिर पनि प्रश्न तेस्रिन्छ । होस गर्नुस तपाईहरुको बारेमा बोल्ने दिन पनि एक दिन आउने छ ।’