महाआरतीमा सहभागी हुन पूर्व राजा ज्ञानेन्द्र नेपालगन्जमा : विमानमै पुगे राप्रपाका महामन्त्री डा. राणा (फोटो सहित)

बाँके, १६ बैशाख, २०८० ।


पूर्व राजा ज्ञानेन्द्र शाह स–परिवार नेपालगन्ज आएका छन् । बागेश्वरी मन्दिरमा सोमबार हुँदै आएको महाआरतीमा सरिक हुन उनी स–परिवार शुक्रवार बुद्ध एयरबाट नेपालगन्ज आएका हुन् । उनलाई राप्रपाका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य डा. धवलशमशेर राणाले नेपालगन्ज एयरपोर्टमा स्वागत गरे ।
पूर्व राजपरिवारको स्वागत गर्न एयरपोर्ट पुगेका डा. राणा र अन्य नेता, कार्यकर्ता विमान नजिक पुगेका थिए । विमानबाट ओर्लिदै गरेका पूर्व राजपरिवारका सदस्यलाई डा. राणाले पूmलका गुच्छाले स्वागत गरेको फेसबुकमा पोष्ट भएका तस्वीरमा झल्किन्छ ।
आगामी १८ बैशाख सोमबार प्रसिद्ध शक्तिपिठ बागेश्वरी मन्दिरको महाआरतीमा पूर्व राजा दम्पत्ति मुख्यकर्ताका रूपमा सहभागी हुने बागेश्वरी मन्दिर ब्यवस्थापन गुठीका अध्यक्ष समेत रहेका डा. राणाले जानकारी दिए ।


बागेश्वरी मन्दिर व्यवस्थापन गुठीले महाआरतीको जिम्मेवारी लिएपछि सोमवार आयोजना हुने महाआरती दोस्रो हो । यहीं दोस्रो संस्करणमा पूर्वराजा दम्पत्ति मुख्यकर्तासहित महाआरती गर्नका नेपालगन्ज आइसकेको उनले बताए । ‘मुख्यकर्ताका रूपमा पूर्वराजा महाआरतीमा सहभागी हुने निश्चित भएको छ,’ डा. राणाले भने, ‘त्यसका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगिसकेको छ  ।’
पूर्व राजा दम्पत्ति महाआरतीमा सहभागी हुने भएपछि भक्तजनको घुइँचो लाग्न सक्ने सम्भावनालाई मध्यनजर गरि आवश्यक व्यवस्थापन थालिएको उनको भनाई छ  ।
प्रत्येक सोमबार गरिंदै आएको महाआरतीमा हरेक पटक मुख्यकर्ताका रुपमा एकजना व्यक्ति वा परिवार समर्पित हुदै आएकाछन् ।


हिन्दु राष्ट्र पुनस्र्थापन गर्नुपर्ने कुरालाई औपचारिक रुपमा वकालत गर्दै आएका प्रतिनिधि सभा सदस्य डा. राणाकै नेतृत्वमा आगामी २० बैशाखमा पूर्व राजा ज्ञानेन्द्रलाई नेपालगन्जमा नागरिक अभिनन्दन गर्ने तय भएको छ  । शाहका निजी सचिव तिमिल्सिनाको प्रमुख आतिथ्यतामा भएको भेलाले राजतन्त्रका पक्षधर डा. राणाको संयोजकत्वमा ‘नागरिक अभिनन्दन मूल समारोह’ घोषणा गरेको छ  ।
पूर्व राजा ज्ञानेन्द्र सुदूरपश्चिम र जुम्लामा हुने नागरिक अभिनन्दनमा सहभागी हुने कार्यक्रम छ ।

विमानबाट ओर्लिदै पूर्व रानी कोमल शाह र स्वागद गर्दै राप्रपा महामन्त्री डा. धवलशमशेर राणा ।

Previous articleएउटै निर्वाचन क्षेत्रका एक मुख्यमन्त्री र अर्का बने मन्त्री
Next articleकर्णाली नदी संरक्षणको सवाल, भ्रम र यथार्थ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here