चारपाते क्लवबाट उदाएका लुम्विनी प्रदेस मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको यस्तो छ संघर्षको कथा ?

बाँके, १४ बैशाख, २०८० ।


लुम्बिनी प्रदेशसभाका सदस्य नेपाली कांग्रेसका नेता डिल्लीबहादुर चौधरी मुख्यमन्त्री बनेका छन् । यसअघि लुम्विनी प्रदेशको ग्रामीण तथा शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका उनी थारु समुदायबाट मुख्यमन्त्री बन्ने पहिलो ब्यक्ति हुन् । केन्द्रीय राज्यमन्त्रीसमेत भइसकेका उनी यसपालीको प्रदेससभा निर्वाचनमा एमालेका घनश्याम पाण्डेलाई पराजित गरे ।
तत्कालिन देउवा सरकारमा श्रम तथा रोजगार राज्यमन्त्री रहेका उनी दोस्रो संविधानसभाका सदस्य पनि हुन् । लुम्विनी प्रदेसको मुख्यमन्त्रीको आकांक्षी भएर उनी चुनाव लडेका थिए । उनले शुक्रवार मुख्यमन्त्रीको सपथ लिने भएका छन् ।

को हुन् डिल्लीबहादुर चौधरी ?
डिल्लीबहादुर चौधरी विक्रम सम्वत् ०२६ सालमा तुलसीपुर उपमहानगरपालिका डुम्रीगाउँमा आमा सोमती चौधरी र बुबा टुकलाल चौधरीको कोखबाट जन्मिएका हुन् । उनलाई कमैया बस्नु परेन, तर उनकी आमा सोमती करिब १७ वर्ष अर्काको घरमा कम्लहरी बसिन् । परिवारलाई पुग्ने जग्गा थिएन, अधिया जग्गा कमाउनुपर्ने परिवारको बाध्यता थियो । ५ कक्षा पढ्दै गर्दा उनलाई अधियामा खेत जोत्न जानुपथ्र्यो । उनी परिवारका सदस्यसँग बावियो काट्न डुम्रीगाउँबाट विहान तीन बजे उठेर चुरे पहाडस्थित तिल्कन्याको जंगलमा पनि पुग्थे उनी । हलो खोज्न कट्कुइयाँको जंगलमा पुगे । १५ वर्षको उमेरमा बुबा गुमाएका उनी धेरै रात परालको तन्ना ओढेर बिताएका थिए ।
समय परिवर्तनसँगै चौधरी छयालिसको आन्दोलनपछि व्याकवार्ड सोसाइटी एजुकेशन (बेस) मार्फत् सामाजिक अभियानमा जोडिए । हाफ सर्ट, हाफ पाइन्ट अनि खुट्टामा हवाई चप्पल उनको पहिचान थियो त्यसबेला । एसएलसी पास नगर्दै उनी सामाजिक रुपान्तरणका लागि शैक्षिक अभियानमा जोडिए । जुन बेला उनी १४ वर्षका मात्रै थिए ।
शिक्षाको चेतना नहुँदा समाजमा धेरै विकृति हुँदा रहेछन् भन्ने लागेपछि उनले आफ्ना दौतरीको भेला गरे । र, तुलसीपुर नजिकका राइखलियान, गोलौरा, बनगाउँ, बनगई, रजौरा, टरिगाउँ, टरिगैँ, गौरीगाउँ लगायत गाउँमा सचेतना अभियान चलाउने निधो गरे । र, प्रौढ शिक्षाको अभियानमा जुटे ।
विक्रम सम्वत् ०४४÷४५ साततिर पञ्चायती ब्यवस्थाको जगजगी थियो । राजनीतिक संगठन बनाउन र सचेतनाका कार्यक्रम संचालन गर्न प्रतिवन्ध थियो । पञ्चायती ब्यवस्था विरुद्ध मैदानमा आए जेल, नेल भोग्नु पथ्र्यो । तै पनि उनी डराएनन् । गाउँका चार जना यूवालाई साथमा लिएर उनले चार पाते यूवा क्लव स्थापना गरे । र, थारु बाहुल्य गाउँमा प्रौढ शिक्षा कक्षा संचालन सुरु गरे ।
उनले ति प्रौढ कक्षाका लागि मुठि दान अभियान संचालन गरे । र, त्यसबाट संकलन भएको रकम लालटिन, टुकी तथा मट्टीतेलमा खर्च गरे । कतै दियो त कतै लाल्टिन बालेर पिछडिएका वस्तीहरुमा शिक्षाको दियो बल्न थाल्यो, त्यसपछि थारु समुदायमा विस्तारै शिक्षाको चेतनाको विकास हुन थाल्यो । प्रौढ शिक्षा अभियान सञ्चालन गर्दागर्दै उनकै पहलमा १६ माघ, ०४७ मा ब्याकवार्ड सोसाइटी एजुकेशन (बेस) संस्था जिल्ला प्रशासन कार्यालय दाङमा दर्ता भयो ।
बेस संस्था स्थापना हुने समयमा कलकलाउँदो बैँस चढेको थियो उनमा । उनीसँगैका साथीभाई रमाइलो गर्दै दिन विताउँदै थिए । तर, उनी रमाइलो भन्दा आफ्नो समुदायलाई शिक्षा दिएर समृद्ध बनाउने अभियानमा थिए । त्यतिबेला राज्य र शोषक, सामन्तसँग खुवै मुकाबिला गर्न परेको उनी अहिले पनि सम्झन्छन् ।
भर्खरै प्रजातन्त्र पुनस्र्थापना भएको थियो । संघसंस्था धमाधम खुल्दै थिए । त्यतिबेला राज्यको सहयोग थिएन । अन्तर्राष्ट्रिय सहयोग त कल्पनै गर्न सकिदैनथ्यो । चन्दा उठाएर उनले बेस चलाए । हरेक वस्तीमा टुकीको उज्यालोमा प्रौढ शिक्षा पढाए ।
गरिवी कारण पढाईलाई अगाडी बढाउन काम गर्नै पर्ने बाध्यता उनलाई थियो । २०४४÷४५ सालतिर उनी तुलसीपुरस्थित राप्ती ग्रामीण विकास केन्द्रमा कार्यालय सहयोगीको जागिरी गर्दै पढाईलाई अगाडी बढाए । उक्त जागिरीले उनको पढाईमा सहयोग त गर्यो नै अंग्रेजी बोल्न र विदेशीसँग हेलमेल हुन थप सहयोग गर्यो । बेस संस्था खुल्दासम्म उनी त्यहि कार्यालयमा जागिरी गरे ।
त्यहीबेला संयोगले आदिवासीका अधिकारका लागि उनी उनी थाइल्याण्ड पुगे । त्यहाँ उनले आदिवासी अधिकारका केही पाटा सिक्ने अवसर पाए । त्यसपछि भारत पुग्दा सन् १९८८ मा ‘बाल बचाऔं’ आन्दोलनका अभियन्ता कैलाश सत्यार्थीको सम्पर्कमा आए, उनी । उनकै शब्दमा नोवेल पुरस्कार विजेता सत्यार्थी उनीभन्दा धेरै सिनियर थिए । उनीसंग उनले धेरै कुरा सिक्ने मौका पाए ।
बेस संस्थामार्फत् शिक्षा र स्वास्थ्य क्षेत्रमा पिछडा वर्गमा धेरै परिवर्तन आयो, उनी त्यो बेला समाज परिवर्तनका ‘हिरो’ बने । माओवादी जनयुद्धका बेला थियो, स्वास्थ्य कार्यक्रम चलाइरहँदा स्वास्थ्यकर्मीहरुमाथि आक्रमण भयो । त्यसपछि उनको कार्यक्रम राम्रोसँग चल्न सकेन । तैपनि उनको संस्था कहिल्यै झुकेन । उनलाई समाज परिवर्तन गर्नु थियो । पहिलो आधार शिक्षा, दोस्रो स्वास्थ्यमा पहुँच । आन्दोलनकै क्रममा स्वास्थ्यकर्मी चढेका गाडीमा समेत अवरोध भयो, बेस कैलालीको कार्यालयमा आगजनी भयो तर, उनी संस्थागत अभियानमा कहिल्यै झुकेनन् ।
त्यसै क्रममा उनी गैरसरकारी संस्था महासंघको जिल्ला अध्यक्ष हुँदै केन्द्रीय अध्यक्षसम्म बने । सामाजिक कामको सिलसिलामा उनी तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको सम्पर्कमा जोडिए । ‘सायद सन् १९९२ सालमा होला,’ उनले सम्झिए । गजेन्द्र हमालमार्फत कांगे्रसको क्रियाशील सदस्यता लिए । गणेशमान सिंहको चुनावी सभामा उनले सक्रिय भूमिकासमेत निर्वाह गरे । त्यो बेला उनलाई मंगलादेवी सिंहसँग पनि नजिकिने अवसर मिलेको थियो । त्यसपछि सामाजिक रुपान्तरण अभियानसँगै उनी कांग्रेसको क्रियासिल राजनीतिमा होमिए ।
बेसमै छँदा उनलाई संयुक्त राष्ट्रसंघमा जागिरे बन्न धेरै प्रस्ताव आएको थियो, तर उनले मानेनन् । दुर्गममा शिक्षा दिने र सक्रिय राजनीति गर्ने उनले सोँच बनाए । त्यसदौरान उनी एकपटक संसदीय निर्वाचन लडे, तर थोरै मतले हारे । संविधानसभाको दोश्रो निर्वाचनमा उनले प्रत्यक्षतर्फको टिकट नपाए पनि समानुपातिक सभासद बने ।
समाजशास्त्रमा स्नातकोत्तर गरेका चौधरीले विभिन्न मुलुकहरुमा विकासवारे तालिमसमेत लिएका छन् । त्यही सीपको सदुपयोग गर्दै उनले ‘गो अहेड, नो व्याक’ अभियानमा लागेका छन् । र, निरन्तर अगाडि बढिरहेका छन् । अगाडि उज्यालो छ, पछाडि अँध्यारो । यही राजनीतिक अभियानमा छन् उनी ।

यूवालाई संगठित गर्ने योद्धा
उनी सानै उमेरदेखि दासता विरुद्ध आवाज उठाउँदै यूवालाई संगठित गर्ने एक योद्धा हुन् । सामान्य थारु परिवारमा जन्मिए पनि उनले स्कुल पढ्दै गर्दा शोषण, दमन, अत्याचार विरुद्ध आवाज उठाउन सुरु गरे । जुझारु स्वभावका उनी असफलतादेखि कहिलै हरेस खाँदैनन् । असफलतालाई सफल बनाउन उनी दुई कदम पाइला चाल्छन् ।
२०४७ सालतिर प्रौढ शिक्षाको कक्षा संचालन गर्न दाङमा अहिलेको जस्तो सजिलो थिएन । पछाडी परेको थारु, दलित, अल्पसंख्यक, सिमान्तकृत समुदायलाई शिक्षा दिएर राज्यको मुलधारमा ल्याउन खोज्दा उनी शोषक, सामन्तीको घेराबन्दीमा परे । शिक्षाको ज्योति फैलाउन शैक्षिक अभियान चलाउन खोज्दा उनले ज्यान मार्ने धम्की खान परेको थियो । तर, उनले हिम्मत हारेनन् ।
विभिन्न डर, धम्कीका बाबजुद उनले दाङको अधिकांश गाउँमा ‘लालटिन अभियान’ चलाए । त्यसको फलस्वरुप दाङका हजारौँ यूवाले शिक्षा लिने अवसर पाए । शोषक, सामन्त, दलालको धम्कीबाट जोगिन उनी लुकेर बस्न परेको थियो । ‘ज्यान मार्ने धम्की दिएपछि कयौँ दिन हाम्रो गाउँको एक घरमा डिल्ली जी लुकेर बसेको मलाई भर्खरै जस्तो लाग्छ,’ दंगीशरण गाउँपालिका १ रहरपुरका रेशमबहादुर चौधरीले भने ।
उनले बर्षौँदेखि दासत्व जिवन विताइरहेका कमैया, कम्लहरी, बुक्रही मुक्तिका लागि आवाज उठाए । उनकै नेतृत्वमा कमैया प्रथा विरुद्ध दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा आन्दोलन सुरु भएको थियो । कमैया प्रथा विरुद्ध गाउँँ–गाउँ, बस्ती–बस्तीबाट सर्वसाधारण मैदानमा उतारेपछि तत्कालिन सरकारले २ साउन, ०५७ मा सौँकी मिन्हा गर्दै कमैया प्रथा अन्त्य भएको थियो ।

‘रिबोक इन्टरनेशनल ह्यूमन राइट अवार्ड’ बाट पुरस्कृत
चौधरीले दासता विरुद्ध आन्दोलन गरेर नेपालबाट कमैया प्रथा अन्त्य गराएको सम्मान स्वरुप अन्तर्राष्ट्रिय पुरस्कार पाएका छन् । उनले सन् १९९२ मा अमेरिकाबाट ‘द अशोका फेलोसिप अवार्ड’ पाए ।
नेपालबाट कमैया प्रथा उन्मुलनसँगै अधिकाबाट बञ्चित थारु, दलित, अल्पसंख्यक, सिमान्तकृत समुदायको मानवअधिकार स्थापित गराउन सहयोग गरेको भन्दै अमेरिकाले सन् १९९४ मा ५० हजार अमेरिकी डलरसहित ‘रिबोक इन्टरनेशनल ह्यूमन राइट अवार्ड’ बाट पुरस्कृत गरेको थियो ।
यी दुई पुरस्कारले उनलाई पछाडी पारिएका समुदायलाई शिक्षा प्रदान गरि उनीहरुको अधिकार स्थापित गराउने अभियानमा लाग्न थप हौसला मिल्यो । उनले दाङमा सिमित रहेको परियोजनालाई बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, सल्यान, सुर्खेत र रुकुममा विस्तार गरे । शिक्षा र अधिकारलाई पहिलो प्राथमिकतामा राखेका उनको अभियानबाट हजारौँ नागरिकले शिक्षा लिने अवसर पाए ।
दासता विरुद्धको अभियान चलाएर थारु, दलित, सिमान्तकृत, अल्पसंख्यक समुदायलाई राज्यको पहुँचमा पुर्याएको भन्दै बेलायतबाट सन् २००२ मा ‘एन्टिस्लेभरी इन्टरनेशलन अवार्ड’ पाउन सफल भए उनी ।
यो पुरस्कार पाएको एक वर्ष वित्न नपाउँदै उनी सन् २००३ मा भारतबाट ‘द रामकृष्ण जयदयाल हार्मोनी अवार्ड’ बाट सम्मानित भए । अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित भएका चौधरीले नेपाल सरकारबाट पनि विभिन्न मानपदवी पाएका छन् ।
उनले १९९४ मा नेपाल सरकारबाट सुप्रवल गोर्खा दक्षिणबाहु तेस्रो र सन् २००४ मा सुप्रवल गोर्खा दक्षिणबाहु त्रिशक्ति पट्टबाट विभुषित भए । लुम्विनी प्रदेसको पर्यटन, ग्रामिण तथा सहरी विकास मन्त्री भइसकेका उनी पुनः दाङ क्षेत्र नं. ३ प्रदेससभा (क) बाट प्रदेससभा सदस्यमा निर्वाचित भई मुख्यमन्त्री भएका छन् ।

कमैया प्रथा उन्मुलनका नाइके
डिल्लीबहादुर चौधरीले स्थापना गरेको बेसले बर्षौँदेखि दासत्व जिवन विताइरहेका कमैया, कम्लहरी, बुक्रही मुक्तिका लागि आवाज उठाए । उनकै नेतृत्वमा कमैया प्रथा विरुद्ध दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा आन्दोलन छेद्ने काम भयो । कमैया प्रथा विरुद्ध गाउँँ–गाउँ, बस्ती–बस्तीबाट सर्वसाधारण मैदानमा उत्रिए । शान्त सहर, कान नसुनेको बहाना गर्ने तत्कालिन सरकारको ध्यान केन्द्रित गर्ने कार्य उनै डिल्लीबहादुर चौधरीले गरे ।
उनले थालेको आन्दोलन र दिएको शिक्षाबाट प्रेरित भएका कमैयाहरु मालिकको घरबाट बाहिर निस्किएर आन्दोलनमा सहभागी भए । फलस्वरुप तत्कालिन सरकारले कमैयाहरुको सौँकी मिनाह गर्ने निर्णय गर्दै कमैया मुक्तिको घोषणा गर्न बाध्य भयो । कमैयालाई मुक्त बनाउने श्रेय पनि उनै डिल्लीबहादुर चौधरीलाई जान्छ । ‘गरिब, पूर्व कमैया, थारु, दलित, आदिवासी र सीमान्तकृत समुदायको अधिकारका लागि स्थापना कालदेखि नै उत्कृष्ट कार्य गर्न पाउँदा म अत्यन्त खुसी छु,’ चौधरी भन्छन् ।
मुख्यतया शिक्षा, स्वास्थ्य, महिला सशक्तिकरण, सुशासन, आय आर्जन, वैकल्पिक ऊर्जा प्रवद्र्धन, द्वन्द्व न्यूनीकरण र व्यवस्थापन, बालश्रम र कम्लहरी प्रणालीको उन्मूलन, गरिबी न्यूनीकरण, जीविकोपार्जन, कृषि, संगठनात्मक विकास र समग्र रूपमा सामुदायिक परिचालनमा केन्द्रित रहेर काम गरेका उनी नीति निर्माण तहमा पुगेर पछाडी परेका समुदायको उत्थानका लागि काम गर्ने चाहना राखेका छन् ।

Previous articleसिद्धपृथ्वी जनता माविलाई उत्कृष्ट बनाउने अभियानमा जुटेका अध्यक्ष लिला ओली भन्छन् – विद्यालयमा राजनीति बन्द गरौँ
Next articleएउटै निर्वाचन क्षेत्रका एक मुख्यमन्त्री र अर्का बने मन्त्री

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here