दाङ, १३ बैशाख, २०८० ।
दंगीशरण गाउँपालिका र सिद्धपृथ्वी जनता मावि ब्यवस्थापन समिति वीचको विवाद उत्कर्षमा पुगेको छ । निमित्त प्रधानाध्यापक नियुक्तिको विषयमा पालिकाले हस्तक्षेप गरेपछि सुरु भएको विवाद चरम उत्कर्षमा पुगेको हो ।
विद्यालय ब्यवस्थापन समितिले सहायक प्रधानाध्यापक चन्द्रलाल जैसीलाई निमित्त प्रधानाध्यापक नियुक्त गरेको दुई महिना नबित्दै पालिकाले विद्यालय ब्यवस्थापन समितिको अधिकारलाई मिच्दै अर्का शिक्षक बाबुराम अधिकारीलाई निमित्त प्रधानाध्यापक नियुक्त गरेको छ । ‘ब्यवस्थापन समितिको अधिकार मिच्दै पालिकाले नयाँ प्रधानाध्यापक तोकेपछि हामी पनि प्रतिवादमा उत्रिएका छौँ,’ विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष लिला ओलीले भने ।
विद्यालय ब्यवस्थापन समितिले पालिकाले नियुक्त गरेको प्रधानाध्यापकलाई हाजिरी हुन नदिने भन्दै गाउँपालिकालाई पत्र पठाएको छ । स्वेच्छिक अवकाशका लागि दिएको निवेदन स्विकृत भइसकेकाले पालिकाले नियुक्त गरेको शिक्षकलाई कुनै पनि हालतमा प्रधानाध्यापक स्विकार गर्न नसक्ने भन्दै विद्यालय ब्यवस्थापन समितिले पालिकालाई पत्र पठाएको छ ।
‘निमित्त प्रधानाध्यापक तोक्ने अधिकार विद्यालय ब्यवस्थापन समितिलाई हुँदाहुँदै पालिकाले अधिकार मिचेको छ । ‘पालिकाले तोकेको निमित्त प्रधानाध्यापकलाई कुनै पनि हालतमा प्रधानाध्यापक स्विकार्न सकिदैन,’ विद्यालयले लेखेको पत्रमा उल्लेख छ ।
गाउँपालिकाबाट पठाएको मिति २०८०÷१÷११ चलानी नं. १७३४ को प्राप्त पत्र माथि विद्यालय ब्यवस्थापन समितिमा छलफल गर्दा शिक्षा ऐन बमोजिम निमित्त प्रधानाध्यापक तोक्ने अधिकार ब्यवस्थापन समितिलाई मात्र रहेको जिकिर ब्यवस्थापन समितिले गरेको छ ।
ब्यवस्थापन समितिका सदस्य सचिव समेत रहेका प्रधानाध्यापक चन्द्रलाल जैसीले पत्रमा भनेका छन्, ‘स्वास्थ्य समस्या देखाउँदै स्वेच्छिक अवकाशमा जाने उद्देश्यले राजिनामा दिई दंगीशरण गाउँपालिकाको शिक्षा, यूवा तथा खेलकुद शाखा र शिक्षा विकास तथा समन्वय इकाई दाङमा सिफारिस भइकेका शिक्षकलाई पालिकाले निमित्त प्रधानाध्यापक तोक्नु न्याय संगत छैन, यसमा हाम्रो सहमत छैनौँ ।’

स्वेच्छिक अवकाशका लागि राजिनामा दिई स्विकृत समेत भइसकेको शिक्षक बाबुराम अधिकारीलाई पालिकाले निमित्त प्रधानाध्यापक तोकेकोले उक्त निर्णय ब्यवस्थापन समितिको बैठकले अस्विकार गर्ने निर्णय गरेको पनि पत्रमा उल्लेख छ ।
उता, पालिकाले शिक्षक बाबुराम अधिकारीलाई निमित्त प्रधानाध्यापकको जिम्मेवारी दिएको पत्र थम्याएको छ । शिक्षा समितिको निर्णय अनुसार माध्यमिक तह गणित शिक्षक बाबुराम अधिकारीलाई विद्यालयको निमित्त प्रधानाध्यापक तोकेको जानकारी विद्यालयलाई समेत दिएको छ ।
शिक्षा शाखा प्रमुख विनोद अधिकारीले बाबुराम अधिकारीलाई लेखेको पत्रमा भनिएको छ, ‘शिक्षा समितिको मिति २०८०÷१÷११ गतेको निर्णय अनुसार अर्को ब्यवस्था (शिक्षा नियमावली २०५९ संसोधन सहितको नियम ९३ अनुसार) भएमा सोही बमोजिम हुने गरि (शिक्षा नियमावली २०५९ संसोधन सहित) को तफा ९३ (१२) बमोजिम निमित्त प्रधानाध्यापक भई कामकाज गर्नुहुन अनुरोध छ ।’
पालिकाले उक्त पत्र जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई दाङ र सिद्धपृथ्वी जनता मावि श्रीगाउँलाई बोधार्थ दिएको छ ।
अनावश्यक हस्तक्षेप गरि गाउँपालिकाले विद्यालयलाई तहसनहस पार्न खोजेको आरोप विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ओलीले लगाएका छन् । उनले विद्यालयको शैक्षिक गुणस्तर र भौतिक पूर्वाधारमा भएको प्रगति प्रति डाह गर्नेहरुले प्रधानाध्याक नियुक्तिलाई बहाना बनाएर विद्यालयको शैक्षिक स्तर गिराउने नियतका साथ पालिका र केहि ब्यक्ति लागेको बताए ।
निमित्त प्रधानाध्यापक हर्कबहादुर बुढाथोकीले राजिनामा दिएपछि रिक्त रहेको ठाउँमा विद्यालयले जैसीलाई निमित्त प्रधानाध्यापकको जिम्मेवारी दिएको थियो । तर, विद्यालय ब्यवस्थापन समितिको निर्णयलाई पालिकाले स्विकार गरेन । र, विवाद छताछुल्ल भएको छ ।

ब्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापक जैसीको संयुक्त खाता संचालनमा आए पनि पालिकाले उक्त खाता अवैध भएको भन्दै रोक्का गरेको छ । पालिकाले विद्यालयका शिक्षकको ब्यक्तिगत खाता समेत रोक्का गरेको छ । पालिका अध्यक्ष सम्भु गिरी भन्छन्, ‘अवैध खाताबाट शिक्षकको खातामा तलव, भत्ताको रकम गएकोले उहाँहरु (शिक्षक) को खाता रोक्का गरिएको हो ।’
यसअघि पालिका अध्यक्ष गिरीले विवाद समाधान गर्न विज्ञापन खोलेर प्रधानाध्यापक नियुक्त गर्ने गोचाली खवरलाई बताएका थिए । तर, त्यसको एक हप्ता बित्न नपाउँदै उनले विवाद झन बल्झिने गरि शिक्षा समितिको नाममा निर्णय गराएर राजिनामा दिइसकेका शिक्षक अधिकारीलाई प्रधानाध्यापक तोकेका छन् ।
सिद्धपृथ्वी जनता मावि ब्यवस्थापन समितिमा एमाले निकट लिला ओली अध्यक्ष छन् । उक्त विद्यालय ब्यवस्थापन समितिमा एमालेकै वर्चश्व छ । गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष नेपाली काँग्रेसका छन् भने विद्यालय रहेको वडामा पनि काँग्रेसका अध्यक्ष छन् ।