को बन्ने भयो लुम्बिनी प्रदेशको मुख्यमन्त्री ?

बाँके, १३ बैशाख, २०८० ।


लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको छ । मुख्यमन्त्री लीला गिरीले विश्वासको मत नपाएपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको हो । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले कानुन व्यवसायीहरूसँगको छलफलपछि बहुमतको सरकार गठनको आह्वान गरेका हुन् । एमालेले ठूलो दलको हिसाबले सरकारको नेतृत्व दाबी गरिरहँदा शेरचनले संविधानको धारा १६८(२) अनुसार नै नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् । प्रदेश प्रमुख कार्यालयका सचिव प्रह्लाद पोखरेलका अनुसार १४ वैशाख ४ बजेसम्म दुई वा दुईभन्दा बढी दलको बहुमत जुटाएर सरकार बनाउन आह्वान गरिएको हो ।

यसअघि नै कांग्रेस र माओवादीसहित आठ दल र एक स्वतन्त्र गरी ५३ सांसदहरूले कांग्रेस संसदीय दलका नेता डिल्ली चौधरीलाई संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्त गर्न दाबी पेस गरिसकेका छन् । तर, एमालेले ठूलो दलका हिसाबले १६८(३) अनुसारको सरकारको दाबी गर्दै आएको थियो । विश्वासको मत नपाएपछि गिरीले तत्कालीन मन्त्रिपरिषद्को बैठक बसेर ठूलो दलको हिसाबले मुख्यमन्त्रीको नेतृत्व गर्न पाउनुपर्ने भन्दै निर्णय गरी प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका थिए ।

तर, प्रतिपक्ष दलहरूले स्पष्ट बहुमत देखिने हस्ताक्षरसहित १६८ (२) अनुसार सरकारको दाबी गरेको मुख्यमन्त्रीले विश्वासको मत नपाएपछि अन्य दललाई तत्काल विश्वासमा ल्याउन सक्ने आधार पनि नभएको, ११ फागुन ०७७ को सर्वोच्च अदालतबाट गरिएको ‘दुई वा सोभन्दा बढी दल सरकार गठन हुन सक्ने नयाँ समीकरण सिर्जना भएमा त्यस्तो सरकार बनाउने विकल्प प्रतिनिधिसभाभित्र खोज्नुपर्ने उक्त धारा ७६ को समष्टिगत उद्देश्य र मनशाय रहेको देखिन्छ’ भन्ने नजीरलाई मध्यनजर गर्दै १६८(२) अनुसारको सरकार गठनको प्रक्रिया अघि बढेको सचिव पोखरेलले बताए ।

८७ सदस्यीय प्रदेश सभामा एमालेका २९, कांग्रेसका २७, माओवादीका १०, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका चार–चार, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका तीन–तीनजना, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादीका एक–एकजना र स्वतन्त्र एक सांसद छन् । तीमध्ये एमालेका २९ र राप्रपाका चारबाहेक अन्य सबैले सांसद कांग्रेस संसदीय दलका नेता डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन माग गर्दै हस्ताक्षर गरेका छन् ।

Previous articleसिद्धपृथ्वी जनता माविको विवाद चरम उत्कर्षमा : अभिभावकिय भूमिका गुमाउँदै पालिका
Next articleसिद्धपृथ्वी जनता माविलाई उत्कृष्ट बनाउने अभियानमा जुटेका अध्यक्ष लिला ओली भन्छन् – विद्यालयमा राजनीति बन्द गरौँ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here