बाँके, १० बैशाख, २०८० ।
प्रायजसो थारु समुदायका ब्यक्तिमा देखिएको सिकलसेल तथा थालेसेमियाका बिरामीलाई कोहलपुर नगरपालिकाले स्वास्थ्य विमा गरिदिने भएको छ । सिकलसेल तथा थालेसेमियाका विरामीको उपचारमा सहयोग पुर्याउन स्वास्थ्य विमा गराउन लागेको कोहलपुर नगरपालिकाका उपमेयर संगिता सुवेदीले बताइन् ।
उनले आर्थिक वर्ष २०८०–०८१ देखि सिकलसेल र थालेसेमियाका विरामीको स्वास्थ्य विमा नगरपालिकाले गरिने बताइन् । सिकलसेल एनिमिया तथा थालेसेमिया रोग सम्बन्धी अभिमुखिकरण कार्यक्रममा उपमेयर सुवेदीले बंशाणुगत रोगका बिरामीको स्वास्थ्य विमा नगरपालिकाले गर्ने योजना बनाएको जानकारी दिइन् । ‘उपचारमा सम्पत्ती सकिने अवस्थाको अन्त्य गर्न नगरपालिकाले स्वास्थ्य विमालाई प्राथमिकतामा राखेको छ,’ उनले भनिन्, ‘उपचार अभावमा कुनै पनि नागरिकले ज्यान गुमाउन नपरोस् भन्ने सवालमा नगरपालिका संवेदनशिल छ ।’
सिकलसेलका विरामीले राज्यबाट उपचारका लागि एक लाख रुपैँया पाउँदै आएका छन् । जनस्वास्थ्य समस्याकै रुपमा रहे पनि थालेसेमियाका बिरामीहरु राज्यको सेवाबाट बञ्चित भएको भेरी अस्पतालका बरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेले बताए । ‘सिकलसेल र थालेसेमियाका बिरामीले बाँचुन्जेल उपचार गर्नुपर्ने हुन्छ । उपचार गराउँदा गराउँदै सम्पत्ति सकिने अवस्था छ,’ उनले भने ।
उनले सिकलसेलका बिरामीले पाउँदै आएको रकम समेत अपुग भएको बताए । राज्यले दिने एक लाख रुपैँया सकिए पछि सिकलसेलका धेरै विरामी उपचारबाट बञ्चित भइरहेको बताए ।
थारु समुदायमा जनस्वास्थ्य समस्याकारुपमा रहेको सिकलसेल तथा थालेसेमियाका रोगीलाई स्वास्थ्य बिमामा समेट्न डा. पाण्डेले सुझाव दिए ।
कोहलपुर नगरपालिकामा मात्र सिकलसेलका ११ हजारको परीक्षण गर्दा सिकलसेलका ९२ जना ट्रेड र एक हजार बढी बाहक फेला परेका छन् ।
त्यसैगरी एक सय ५० जना थालेसेमियाका बाहक फेला परेको कोहलपुर नगरपालिका वडा नं. १५ का अध्यक्ष दिपेन्द्र चौधरीले जानकारी दिए ।