नेपालगन्जमा अवैध सुनको कारोवार : चार करोड ६९ लाख रुपैँयाको अवैध सुनका गहना बरामद

बाँके, ७ बैशाख, २०८० ।


अवैध सुनका गरगहनासहित कारोवारमा संलग्न पक्राउ परेपछि नेपालगन्जमा अवैध सुनको कारोवार हुने गरेको खुलाासा भएको छ । एक वर्षअघि नेपालगन्ज विमानस्थलमा ठूलो परिमाणको अवैध सुन सहित कारोवारमा संलग्न ब्यक्ति परेका थिए । बुधवार बाँके प्रहरीले करिव पाँच किलो सुन सहित दुई जनालाई पक्राउ गरेपछि यहाँ अवैध सुनको कारोवार हुने गर्छ भन्ने दवावलाई थप पुष्टि गरेको छ ।
बाँके प्रहरीले बुधवार राती चार करोड ६९ लाख पाँच हजार ७६३ रुपैँया बराबरको अवैध सुनका गहनासहित दुई जनालाई पक्राउ गरेको जनाएको छ । प्रहरीले नेपालगन्जको न्यूरोडबाट करिव चार किलो ९२७ ग्राम अवैध सुनका गहनासहित दुई जनालाई पक्राउ गरि विहीवार पत्रकारमाझ सार्वजनिक गरेको छ ।
अवैध सुनका गहनासहित न्यूरोडस्थित होटल इन्द्रेणी तर्फ जाँदै गरेका दुई जनालाई बुधवार राती पक्राउ गरेको बाँकेका प्रहरी प्रमुख एसपी सन्तोषसिंह राठौरले बताए । सुनका विभिन्न गहनासहित पक्राउ पर्नेमा विराटनगर महानगरपालिका ९ का ४२ बर्षिय रमेश सोनी र सोही ठाउँका ३६ बर्षिय प्रकाश ठाकुर रहेका छन् ।
पक्राउ परेका व्यक्तिका साथबाट सुनका सिक्री, चुरा, झुम्का, हार, ब्रास्लेट, मंगलसूत्र, बाला, ढुंग्री, औँठी लगायतका सुनका गहना बरामद गरेको एसपी राठौरले बताए ।
उनीहरुको साथबाट एक थान स्टिमेट बिलको ठेली, एक थान डिजिटल तराजु, विभिन्न मितिमा विभिन्न स्थानमा विक्रि गरेको १४ थान स्टिमेट विल, एनआइसी एसिया बैंकमा जम्मा गरेको सात लाख ३३ हजार चार सय रुपैँया जम्मा गरेको भौचर, प्रकाश ठाकुरको नाममा तीन लाख ८६ हजार चार सय काटेको एनएमबी बैंकको चेक र विभिन्न दरको ३५ हजार रुपैँया बरामद भएको उनले जानकारी दिए ।
गरगहना झोलामा राखेर हिँडिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । ‘सुराकीले दिएको सूचनाको आधारमा मंगलबार राती अवैध सुनका गहना सहित सोनी र ठाकुरलाई पक्राउ गरिएको छ,’ उनले भने ।
उनीहरुले सुन कहाँबाट ल्याए र कहाँ लैजाँदै थिए भन्ने विषयमा अनुुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Previous articleयात्रुको सुरक्षामा कसैसँग सम्झौता गर्दैनौँ : अम्विकेश्वरी यातायात प्रालि
Next articleनेपालगन्ज आइसिपी निर्माण अन्तिम चरणमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here