बाँके, ४ बैशाख, २०७९ ।
कोरोना संक्रमणबाट मृत्यू भई पहिलो चरणमा राहत रकम नलिएका परिवारलाई बाँके प्रशासनले रकम वितरण सुरु गरेको छ । लुम्विनी प्रदेश सरकारले कोरोनाबाट मृत्यू भएका बाँकेका ३९ परिवारका लागि राहत रकम पठाएपछि वितरण सुरु गरेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले जानकारी दिए ।
उनले प्रदेश सरकारले पठाएको रकम आम्दानी बाँधेर कोष तथा लेखा नियन्त्रण कार्यालयमा पठाई सकेको बताए । ‘मृतकको विवरण संकलन हुँदैछ । आएका निवेदन माथि छानविन गरि वितरण सुरु गरिएको छ,’ उनले भने ।
पहिलो चरणमा बाँकेका तीन सय ५२ परिवारले राहत रकम लिइसकेको प्रशासनले जनाएको छ । पहिलो चरणमा राहत रकम लिन छुटेका मृतकका परिवारलाई अहिले राहत रकम दिन सुरु भएको छ,’ केसीले भने ।
उनले राहत रकम लिनका लागि नजिकको हकदार खुल्ने सिफारिस, निवेदन, कोभिड–१९ पुष्टि हुने प्रयोगशालाको प्रतिवेदन, कोभिड–१९ का कारण मृत्यु भएको प्रमाण खुल्ने कागजपत्र आवश्यक पर्ने बताए । राहत रकम लिन छुटेकालाई यथाशक्य चाँडो सम्पर्कमा आउन उनले सुझाव दिए ।
६ सय ६३ परिवारका लागि ६ करोड ३६ लाख निकासा
यसअघि राहत रकम लिन छुटेकालाई वितरण कार्य सुरु गरिएको लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री विष्णु पन्थीले जानकारी दिए । उनले १२ जिल्ला मध्ये रुपन्देही जिल्लामा मात्र रकम पठाउन बाँकी रहेको बताए । ‘अघिल्लो सरकारले निर्णय गरे पनि राहत रकम पाउन छुटेकालाई वर्तमान सरकारले प्राथमिकतामा राखेर रकम निकासा गरेको छ,’ उनले भने ।
सरकारी तथ्यांक अनुसार, लुम्बिनी प्रदेशमा कोरोना भाइरस संक्रमणका कारण तीन हजार चार सय सातजनाको मृत्यु भएको छ । जसमध्ये तीन हजार ७९ मृतकका परिवारले राहत रकम लिइसकेको मन्त्रालयले जनाएको छ ।
लुम्विनी प्रदेशका तत्कालिन मुख्यमन्त्री शंकर पोख्रेल नेतृत्वको सरकारले २० जेष्ठ, ०७७ मा कोरोना संक्रमणका कारण मृत्यू भएका परिवारलाई प्रति परिवार एक लाख रुपैयाँ राहत दिने निर्णय गरेको थियो ।
सो निर्णयको आधारमा पहिलो चरणमा दुई हजार चार सय ४३ परिवारलाई रकम उपलब्ध गराइएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. पुष्पराज पौडेलले जानकारी दिए । दोस्रो चरणमा ६ सय ६३ परिवारका सदस्यलाई ६ करोड ३६ लाख रकम निकासा दिइएको छ ।
कुन जिल्लाका कति परिवाले लिएर राहत रकम ?
राहत रकम लिनेमा सवैभन्दा धेरै दाङका छन् । दाङ जिल्लाका एक सय २९ परिवारले एक करोड २९ लाख रुपैयाँ राहत रकम लिएका छन् । त्यस्तै, गुल्मी जिल्लामा एक सय २६ परिवारले एक करोड २६ लाख, रुपन्देहीका ७० परिवारले ७० लाख, बर्दियाका ६२ परिवारलाई ६२ लाख, अर्घाखाँची र नवलपरासीका ४७–४७ परिवारले ४७–४७ लाख, रुपैँया प्रदान गरिएको थियो ।
त्यसैगरी, पाल्पाका ४० परिवारलाई ४० लाख, बाँकेका ३९ परिवारलाई ३९ लाख, प्युठानका ३२ परिवारलाई ३२ लाख, रोल्पामा २३ परिवारलाई २३ लाख, कपिलबस्तुका १९ परिवारलाई १९ लाख र रुकुमपूर्वका दुई परिवारलाई दुई लाख, रुपैयाँ प्रदान गरिएको छ ।
लुम्विनी प्रदेशमा कति भएको थियो मानविय क्षति ?
लुम्बिनी प्रदेशमा सबैभन्दा बढी रुपन्देही जिल्लामा मानविय क्षति भएको थियो । रुपन्देहीमा नौ सय ८६ जनाले ज्यान गुमाएको सरकारी तथ्यांक छ । त्यसपछि दाङ जिल्लामा चार सय ११ जनाको ज्यान गएको अभिलेख प्रदेश सरकारले राखेको छ ।
यस्तै गुल्मीमा दुईसय ९३, बाँकेमा तीन सय ९१, पाल्पामा दुई सय ७९, कपिलवस्तुमा दुई सय २३, नवलपरामी पश्चिममा दुई सय १०, बर्दियामा दुई सय ५५, अर्घाखाँचीमा एक सय ५४, प्युठानमा एक सय २५, रोल्पामा ५६ र रुकुम पूर्वमा १३ जनाले ज्यान गुमाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसअघि पहिलो चरणमा दाङमा दुई सय ८२ जनालाई एक लाखका दरले राहत रकम वितरण गरिएको थियो । अर्घाखाँचीमा एक सय सात, कपिलवस्तुमा दुई सय १५, गुल्मीमा एक सय ६७, नवलपरासी पश्चिम एक सय ६३, पाल्पा दुई सय ३९, प्युठानमा ९३, बर्दियामा एक सय ९३, रुकुमपूर्वमा ११, रुपन्देहीमा पाँच सय ८८, रोल्पामा ३३ गरी दुई हजार चार सय ४३ जनालाई राहत रकम वितरण गरिएको थियो ।