घरेलु हिंसा पीडित गंगालाई ५० हजार सहयोग

बाँके, ३ बैशाख, २०८० ।


पतिले पेट्रोल छर्केर घाइते भएकी कोहलपुर नगपालिका–२ शक्तिनगरकी गंगा विकलाई कोहलपुर नगरपालिकाले ५० हजार रुपैँया सहयोग गरेको छ । नगरपालिकाले हिंसा पीडित राहत कोषबाट गंगालाई ५० हजार रुपैँया आर्थिक सहयोग गरेको कार्यवाहक मेयर संगिता सुवेदीले जानकारी दिइन् ।
कार्यबाहक मेयर सुवेदीसहितको टोलीले गंगाको घरमै गएर ५० हजार रुपैँयाको चेक प्रदान गरेको उनले बताइन् । कार्यक्रममा बोल्दै कार्यवाहक मेयर सुवेदीले आर्थिक अवस्था कमजोर भएकी गंगाको जिविकोपार्जनमा केहि राहत मिलोस भन्ने उद्देश्यले राहत कोषबाट आर्थिक सहयोग गरेको बताइन् ।
उनले गंगा माथि भएको हिंसा उनको मात्र नभई सिंगो महिलाको सामुहिक समस्या भएको बताउँदै घरेलु हिंसाविरुद्ध एक हुन सबैलाई अपील गरिन् । घरेलु हिंसा विरुद्ध नगरपालिकाले जनचेतनामूलक कार्यक्रम गर्दै आएको बताउँदै उनले कुनै पनि महिला हिंसाको शिकार हुन नपरोस् भन्ने सवालमा नगरपालिका गम्भीर रहेको धारणा राखिन् । ‘घरेलु हिंसा अन्त्यका लागि महिलालाई आर्थिक आयआर्जनसँग जोड्न जरुरी छ,’ उनले भनिन्, ‘सीपमूलक तालिम प्रदान गरेर महिलालाई आयआर्जनमा केन्द्रीत गराउनु आजको आवश्यकता हो ।’
वडा अध्यक्ष हरिसिंह कठायतले घरेलु हिंसा लुकाएर नबस्न वडाबासीसँग आग्रह गरे । उनले घरेलु हिंसा एउटा ब्यक्ति र परिवारका समस्या नभएको बताउँदै हिंसा लुकाएर बसे झनै बढ्ने धारणा राखे ।
कार्यपालिका सदस्य इश्वरी विकले यस्ता जधन्य अपराध हुन नदिन सचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिइनु पर्ने बताए । घटना हुनै नदिन सवैजना चनाखो हुनुपर्ने बताउँदै उनले मादक पदार्थले घरेलुहिंसालाई बढावा दिएको बताए ।
गत १५ माघमा स्थानीय भानुभक्त विकले आफ्नै श्रीमति गंगा विक र छोरा प्रिन्समाथि पेट्रोल छर्केर आगो लगाएका थिए । गंगाको ज्यान जोगिएपनि छोरा प्रिन्सको उपचारका क्रममा मृत्यु भएको थियो । भानुक्ता अहिले पूर्पक्षका लागि कारागारमा छन् । कार्यक्रममा स्थानीयबासीहरुले आफ्नो टोलको अन्य समस्याबारे पनि जनप्रतिनिधिहरुले ध्यानाकर्षण गराएका थिए ।

Previous articleपद्मोदय पब्लिक नमुना मावि व्यवस्थापन समिति अध्यक्षमा विकास चौधरी निर्वाचित
Next articleसशस्त्रका सहायक हवल्दारले आफैँलाई हान्दा घटनास्थलमै मृत्यु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here