राष्ट्रिय यूवा संघ बाघ जस्तै क्रियाशील संगठन हो : महेश बस्नेत

बाँके, २६ चैत, २०७९ ।


नेकपा (एमाले) का पोलिट ब्यूरो सदस्य एवम् यूवा संघ इन्चार्ज महेश बस्नेतले राष्ट्रिय यूवा संघलाई बाघसँग तुलना गरेका छन् । संघको भोलीदेखि नेपालगन्जमा हुन लागेको नवौं राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बस्नेतले यूवा संघ नेपालमा मात्र सिमित नभएको दावी गरे । बाघले आफ्नो रवाफ जमाए जस्तै एमालेको भ्रातृ संगठन यूवा संघ पनि देशको रक्षाका लागि शतिसाल झैँ ठिंग उभ्याउँदै आएको छ,’ उनले भने ।
उनले देश विकासमामात्र नभई राज्यलाई अपठेरो परेका बेला यूवा संघले काँध थाप्दै आएको स्मरण गराउँदै उनले बाघ जस्तै यूवा संघ क्रियाशीले रहेको जिकिर गरे । यूवा संघ बाघ जस्तै हक्की र निडर भएर देश र जनताको पक्षमा उभिन्छ,’ उनले भने, ‘सामाजिक काम र यूवालाई अनुशासित बनाई जोश, जाँगर भर्ने काम पनि यूवा संघले गर्छ ।’
उनले माओवादीको ज्यादतीका विरुद्ध युथ फोर्सले प्रतिकार गरेको बताउँदै देश र जनतालाई आवश्यक परे फेरि पनि सडकमा उत्रिन तयार रहेको धारणा राखे । उनले कमिसन, घुसखोरीका कारण देशमा आर्थिक समस्या निम्तिएको बताउँदै यसको सम्पूर्ण दोष काँग्रेसलाई दिए । ‘काँग्रेसका नेता, कार्यकर्ताले कमिसन खाएर मुख्य–मुख्य भन्सारमा अधिकृत खटाउँछन् । कमिसन दिएर भन्सार गएको कर्मचारीले राजस्व अनियमितता नगरेर के गर्छ ? बाहिर काँग्रेस नेता, कार्यकर्ताको हालिमुहाली छ । बालुवाटारमा आरजु भाउजुको हैकम छ,’ उनले भने ।
पत्रकार सम्मेलनमा राष्ट्रिय यूवा संघका अध्यक्ष किरण पौडेलले जैविक विविधताको संरक्षणका लागि नवौँ महाधिवेशनको लोगोमा बाघ राखिएको बताए । उनले महाधिवेशनको तयारी पूरा भइसकेको बताउँदै दुई हजार प्रतिनिधिले सहभागिता जनाउने जानकारी दिए ।
उनले प्रतिनिधिको भावना अनुसार नेतृत्व चयन हुने बताए । जनवादी केन्द्रियताको आधारमा नेतृत्व चयन हुने बताउँदै उनले सर्वसहमतको पक्षमा आफू भएको बताए । ‘निर्वाचनलाई मात्र प्रजातान्त्रिक प्रक्रिया मान्न मिल्दैन । निर्वाचनमा पाँच प्रतिशतको मत निर्णायक हुन्छ, तर सर्वसम्मतमा शतप्रतिशतको मत भएको मानिन्छ,’ उनले भने, विकेन्द्रिकरणको सिद्धान्त बमोजिम पद बाँडफाड हुने स्पष्ट पारे ।
उनले महाधिवेशन ऐतिहासिक हुने बताउँदै विधान संसोधन समेत हुने बताए । बन्द शत्रमा नेपालमा दुई दलिय ब्यवस्था, दुई पटकमात्र प्रधानमन्त्री हुन पाउने विषयमा बहस गरि कार्ययोजना बनाउने उनको भनाई छ । ‘यूवालाई सहि दिशामा लैजान विधान संसोधन गर्न पर्ने भए त्यो पनि बन्द शत्रमा छलफल हुन्छ । महाधिवेशनलाई ऐतिहासिक बनाउन विभिन्न विषयमा छलफल गरि निश्कर्ष निकालिने छ,’ उनले भने ।
महाधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले दिउँसो २ बजे उद्घाटन गर्ने कार्यक्रम छ । उद्घाटन समारोहलाई उपाध्यक्ष रामबहादुर थापा (बादल), महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्य एवम् मोर्चा संगठन इन्चार्ज भानुभक्त ढकाल, पोलिटव्यूरो सदस्य महेश बस्नेत लगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।
महाधिवेशन उद्घाटन समारोहमा बद्रि पंगेनी, राजा राजेन्द्र, अस्मिता अधिकारी, रवि वड लगायत कलाकारले सांगीतिक प्रस्तुती दिने भएका छन् । महाधिवेशनको तयारीको लागि संघका केन्द्रीय अध्यक्ष किरण पौडेल, केन्द्रीय उपाध्यक्ष, महासचिव लगायत नेताहरु कार्यक्रम स्थल नेपालगन्जको होटल स्नेहमा खटिएका छन् ।

Previous articleपद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालय ब्यवस्थापन समिति निर्वाचनमा समावेशी प्यानल विजयी
Next articleकोरोना संक्रमणबाट एकको मृत्यू, पछिल्लो २४ घण्टामा १०६ जनामा संक्रमण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here