राष्ट्रिय युवा संघको महाधिवेशनले सिंगारियो नेपालगन्ज (फोटो सहित)

बाँके, २५ चैत, २०७९ ।


नेकपा (एमाले) को भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको नवौं राष्ट्रिय महाधिवेशनका लागि नेपालगन्ज सहर सिंगारिएको छ । संघको यहि २७–२९ चैतसम्म नेपालगन्जमा नवौं राष्ट्रिय महाधिवेशन हुन लागेको छ ।
कोहलपुरदेखि कार्यक्रम स्थल नेपालगन्जको होटल स्नेहसम्म राष्ट्रिय युवा संघ नेपालको महाधिवेशन सम्बन्धि झण्डा र ब्यानर लगाइएको छ भने ठाउँ–ठाउँमा स्वागतद्वार बनाइएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने महाधिवेशनलाई भव्य बनाउन मञ्च व्यवस्थापन, आवास तथा खाद्य व्यवस्थापन, प्रतिनिधि व्यवस्थापन लगायतका कामहरु धमाधम भइरहेको राष्ट्रिय युवा संघ नेपालका प्रचार विभाग प्रमुख समेत रहेका प्रवक्ता महाराज गुरुङले बताए ।


महाधिवेशन सुरु हुन दुई दिन बाँकी रहँदै अधिकांश तयारी पूरा भइसकेको उनले जानकारी दिए । महाधिवेशनको उद्घाटन समारोहलाई भव्य र ऐतिहासिक बनाउन मञ्च निर्माणको काम भइरहेको उनको भनाई छ । ‘महाधिवेशनको ८० प्रतिशत काम पूरा भइसकेको छ । प्रतिनिधि छनोट पनि अन्तिम चरणमा छ,’ उनले भने ।
महाधिवेशन उद्घाटन समारोहमा नेकपा (एमाले) बाँकेसँगको समन्वयमा दश हजार बढि जनपरिचालन गरिने उनको भनाई छ ।
महाधिवेशनलाई पार्टी अध्यक्ष ओली, उपाध्यक्ष रामबहादुर थापा (बादल), महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्य एवम् मोर्चा संगठन इन्चार्ज भानुभक्त ढकाल, पोलिटव्यूरो सदस्य महेश बस्नेत लगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।


महाधिवेशन उद्घाटन समारोहमा बद्रि पंगेनी, राजा राजेन्द्र, अस्मिता अधिकारी, रवि वड लगायत कलाकारले सांगीतिक प्रस्तुती दिने भएका छन् । महाधिवेशनको तयारीको लागि संघका केन्द्रीय अध्यक्ष किरण पौडेल, केन्द्रीय उपाध्यक्ष, महासचिव लगायत नेताहरु कार्यक्रम स्थल नेपालगन्जको होटल स्नेहमा खटिएका छन् ।

Previous articleजमुनाह नाकामा कोरोना जाँच : २४ दिनमा ३६ जना संक्रमित फेला
Next articleपद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालय ब्यवस्थापन समिति निर्वाचनमा समावेशी प्यानल विजयी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here