बाँके, २३ चैत, २०७९ ।
राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष एवम् लुम्बिनी प्रदेश इन्चार्ज सुमन पुरीले २७–२९ चैतमा नेपालगन्जमा हुन लागेको राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको बताएका छन् । उनले महाधिवेशनलाई ऐतिहासिक एवम् भव्य बनाउन विभिन्न समिति र उपसमितिले आ–आफ्नो काम गरिरहेको बताए ।
लुम्बिनी प्रदेशमा भइरहेको महाधिवेशनलाई भव्य रुपमा सफल पार्न प्रदेशबाट प्रतिनिधित्व गर्ने युवा संघका केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यहरु अहोरात्र खटिएको उनले बताए ।
संघको नवौं राष्ट्रिय महाधिवेशनमा देशभरबाट आउने दुईहजार बढि प्रतिनिधिलाई खाने, बस्ने र कार्यक्रमलाई भव्य बनाउन मञ्च व्यवस्थापन, प्रचार प्रसार लगायतको काम जारी रहेको उपाध्यक्ष पुरीले बताए । ‘लुम्बिनी प्रदेशको नेपालगन्जमा हुन लागेको युवा संघको महाधिवेशनलाई भव्य रुपमा सम्पन्न गर्न हरसम्भव प्रयास गरिएको छ,’ उनले भने ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने महाधिवेशनको उद्घाटन समारोहमा दशौं हजार नागरिकलाई सहभागी गराउने गरी कार्यक्रम तय भएको उनको भनाई छ । ‘प्रतिनिधि व्यवस्थापन, आवास तथा खाद्यान्न, यातायात, जनपरिचालन समितिमार्फत महाधिवेशनको काम भइरहेको छ,’ पुरीले भने ।