बियर छोडेपछि घट्यो ६० किलो तौल, मृत्युको मुखमा पुगेर फर्केका बेन्डिक्स भन्छन्- त्यागिदिनुस् रक्सीको लत

बाँके, १३ चैत ।


हङकङका एक व्यक्तिले बियर पिउने लत त्यागेर ६० किलो तौल घटाएका छन् । रोस बेन्डिक्स कुनै बेला दिनमै ६ देखि ८ गिलास बियर पिउँथे । अहिले उनले बियरलाई ’बाइबाइ’ गरिसकेका छन् । बियर पिउने लतका कारण बेन्डिक्सको तौल निकै बढेको थियो । उनी कलेजोसम्बन्धी घातक रोग लिभर सिरोसिसबाट पनि पीडित थिए ।
सन् २०२२ मा नयाँ वर्षकै दिन उनी स्ट्रोक भएर ढले । बैठक कोठामा टीभी हेरिरहेका बेला एक्कासि ढलेका बेन्डिक्सलाई अस्पतात लैजाँदै गर्दा उनको अवस्था निकै नाजुक थियो । पाँच दिनसम्म आईसीयूमा बसेका उनले ४२ दिनसम्म अस्पतालमै बिताए । परीक्षणपछि उनलाई लिभर सिरोसिस भएको थाहा भयो । त्यो बेला बेन्डिक्सको तौल १ सय २७ किलो थियो । अस्पतालमा रहेकै बेला उनलाई ब्लड पोइजनिङ, बारम्बार ढल्नेजस्ता समस्या देखा परे ।
पेटबाट निकालियो ८ लिटर तरल पदार्थ
बेन्डिक्सलाई ’एसाइटिस’ को पनि समस्या भएको डाक्टरले थाहा पाए । यसमा ज्यान जाने खतरा हुन्छ । तरल पदार्थ पेटमा जम्मा हुन्छ, जसबाट पेट दुखाइलगायतका समस्या पैदा हुन्छन् ।
बेन्डिक्सको पेट सर्जरी गरी ८ लिटर तरल पदार्थ निकालियो । उनको जिब्रोको पनि अपरेसन गरियो । किनकि ढलेका बेला उनले आफ्नो जिब्रो टोकेका थिए ।
साउथ चाइना मर्निङ पोस्टलाई आफ्नो कथा सुनाउँदै बेन्डिक्सले सन् २०२२ को अन्त्यसम्म जिन्दगी पूर्णतः बदलिएको बताए । बियर छोडेर र जीवनशैली सुधारेर उनले आफ्नो तौल ६० किलो घटाएका छन् । अहिले उनको तौल ६७ किलो छ ।
बेन्डिक्सले भने, ‘लगातार रक्सीको सेवन, अस्वस्थ खानेकुरा खाने बानी, लामो समयसम्म काम गर्ने र व्यायामको कमीका कारण मेरो तौल बढेको थियो । म दिनमा ८ गिलाससम्म बियर पिउँथेँ । र, प्रोसेस्ड फुड नै खान्थेँ । धेरै नखाए पनि मासु, करी, मसालेदार खानेकुरा मेरो रोजाइमा हुन्थे । लगातार रक्सी पिउँदा मेरो शरीरमा निकै सुगर जाँदो रहेछ ।’
किशोरावस्थामै बियर पिउने बानी
बेन्डिक्सले बताएअनुसार, रक्सी उनको जीवनको खास हिस्सा बनेको थियो । उनले आफ्ना सौतेनी बुबा र साथीसँग मिलेर किशोरावस्थामै बियर पिउन थालेका थिए । किशोरावस्थाको उनको यो आदतले युवावस्थामा समेत निरन्तरता पायो । कामको क्रममा उनलाई हातमा बियर लिएको देखिन्थ्यो । तर, जब उनी बिमार भएर अस्पताल पु¥याइए, तब पहिलोपल्ट उनलाई महसुस भयो, आफ्नो सातवर्षे छोरा चार्ली र श्रीमतीसँग उनले ठीक गरिरहेका छैनन् ।
उनले भने, ‘अस्पताल पुगेपछि मैले महसुस गरेँ, मैले आफ्नो हालत कस्तो बनाएको रहेछु । मेरो परिवारमाथि मैले अन्याय गरिरहेको रहेछु । मैले उनीहरूलाई निराश बनाएको रहेछु । मैले आफूलाई हारेको महसुस गरिरहेको थिएँ । म मरेँ भने परिवारको अवस्था के होला भन्ने चिन्तामा परेको थिएँ । त्यही बेला मैले आफूसँग वाचा गरेँ, अस्पतालबाट जिउँदो फर्किएँ भने स्वस्थ जीवन जिउन सकिने हरेक उपाय अपनाउनेछु । अस्पतालमै हुँदा मैले रक्सी छोड्ने कसम खाएँ ।’
स्वस्थ रहन के खान्छन् उनी ?
बेन्डिक्सका अनुसार अहिले उनी प्रोटिन शेक र भरपूर मात्रामा पानी पिउँछन् । उनले हङकङ सेनेटोरियम अस्पतालका एक पोषणविज्ञको पनि सल्लाह लिए । आफ्नो बडी मास इन्डेक्स वा बीएमआई मापन गरेपछि विशेषज्ञले उनलाई भनेका थिए, उनको मेटाबलिक आयु ७३ वर्षको मानिसको जत्तिकै छ, जबकि उनी वास्तवमा ४९ वर्षका हुन् ।
विशेषज्ञको सुझावमा बेन्डिक्सले प्रोसेस्ड फुड खान छोडिदिए । चिनी, नुनको मात्रा पनि घटाए । अहिले उनी फलफूल, सागसब्जी र स्वस्थ मासु खान्छन् । उनी नास्तामा ओट्स, दही र फल, लञ्च र डिनरमा प्रोटिनयुक्त पास्ता, चिकेन र माछा लिन्छन् । बेन्डिक्स स्वस्थ रहनका लागि हरेक दिन १२ देखि १५ किलोमिटर पैदल हिँड्छन् । उनी नियमित व्यायाम पनि गर्छन् । –एजेन्सी

Previous articleनेपालगन्ज नाकामा सोमवार दुई जनामा कोरोना पुष्टि
Next articleअमर माविका विद्यार्थीलाई वित्तीय साक्षरता

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here