बाँके, ७ चैत ।
विशेषगरि थारू समुदायका ब्यक्तिमा मात्र देखिएको सिकलसेल एनिमिया रोगको अध्ययन गर्न आएकी जापानी नागरिक डा. युका नाकामुरा विरामीलाई भेट्न पश्चिम नेपालको तराईका जिल्लामा ब्यस्त छिन् । अध्ययनका लागि नेपाल आउने वित्तिकै उनी दाङ पुगिन् । दाङका विरामी र आफन्तसँग भेटघाट गरि उनी ४ चैतमा बाँकेको नेपालगन्ज आइन् ।
नेपालगन्ज बसाईका क्रममा उनले बाँकेका सिकलसेल एनिमिया रोगका विरामीसँग छलफल सकेर सोही दिन कैलालीको टीकापुर पुगेर त्यहाँका विरामीको अवस्था, उपचार र आर्थिक समस्याका बारेमा जानकारी लिएको थारु स्वास्थ्यकर्मी संघका अध्यक्ष जिवराज चौधरीले जानकारी दिए ।
उनी ७ चैतसम्म सिकलसेल एनिमियाका विरामीसँग भेट्ने कार्यक्रम छ । ६ चैत कञ्चनपुर पुग्ने उनको योजना छ । कञ्चनपुरका विरामीसँग छलफल सकेर उनी रूपन्देही हुँदै काठमाण्डौ जाने कार्यक्रम छ । ‘सिकलसेल के कति कारणले थारु समुदायमा मात्र देखियो ? यसको उपचार र निवारणका लागि के गर्नु पर्ने उपाय खोज्न अनुसन्धान थालेकी छु,’ नेपालगन्जको कार्यक्रममा उनले भनिन् ।

यसअघि उनले दाङ तुलसीपुरमै मधुमेह रोगका बारेमा ‘शोधपत्र’ गरेर विद्यावारिधि पूरा गरेकी थिइन् । ‘चार वर्षअघि तुलसीपुर आउँदा थारू समुदायमा मात्रै लाग्ने सिकलसेल रोगका बारेमा सुनेको थिएँ,’ उनले भनिन्, ‘अहिले यसकै रिसर्च गरिरहेकी छु ।’
करिब तीन महिना तुलसीपुर बसेर मधुमेहको अध्ययन गरेको बताउँदै उनले त्यतिबेला सिकलसेलका बारेमा सामान्य अध्ययन गरेको अनुभव सुनाइन् । ‘दुई वर्षअघि नै अनुसन्धान गर्ने योजना थियो, कोभिड कारण आउन सकिएन,’ उनले भनिन् ।
अहिले उनी एक हप्ताका लागि नेपाल आएकी छन् । त्यसपछि पुनः आएर अनुसन्धानलाई पूर्णता दिने उनको योजना छ । उनले भनिन्, ‘थप अनुसन्धानका लागि असारमा आएर बिरामीसँग थप भेटघाट गरेर अनुसन्धानलाई मूर्त रुप दिन्छु ।’
सरकारी अध्ययन अनुसार नेपालमा ११.३ प्रतिशत थारूमा यो रोग लाग्ने गरेको तथ्याङ्क छ । तर पूर्ण रूपमा थारू समुदायमा सिकलसेल परीक्षण हुन नसकेका कारण आधिकारिक तथ्यांक कसैसँग छैन ।

सिकलसेल एनिमियाबाट धेरै विरामीको मृत्यु भइसकेको थारु स्वास्थ्यकर्मी संघका अध्यक्ष जिवराज चौधरीले बताए । उनले केहीले उपचारमा २० लाखभन्दा बढी खर्च गरिसकेको बताए । सिकलसेल एनिमिया रोगका विरामीको उपचारका लागि राज्य उदासिन देखिन्छ,’ उनले भने, ‘उपचारका लागि राज्यले अहिलेसम्म अस्पतालसमेत स्थापना गर्न नसक्नु दुखद मान्नु पर्छ ।’
उनकै पहलमा बाँकेको जानकी गाउँपालिका ३ मा सिकलसेल एनिमिया अस्पताल तथा अनुसन्धान केन्द्र स्थापना भएको छ । तर, उक्त अस्पताललाई राज्यले अहिलेसम्म कुनै सहयोग नगरेको उनले गुनासो पोखे । डा. नाकामुराले सोही अस्पतालका लागि एक लाख रुपैँया सहयोग गरेको अध्यक्ष चौधरीले जानकारी दिए ।