सरकार विस्तार लगत्तै १० दलिय गठबन्धन भत्किने एमाले महासचिव पोख्रेलको दावी

बाँके, ७ चैत ।


नेकपा (एमाले) का महासचिव शंकर पोख्रेलले १० दलिय गठबन्धन लामो समय नटिक्ने दावी गरेका छन् । संविधानले २० मन्त्रालय र मन्त्री २५ भन्दा धेरै बनाउन निषेध गरेको बताउँदै उनले सत्ता गठबन्धनका १० दलले २६ भन्दा बढि मन्त्रालय दावी गरेकाले सरकार गठन अघि नै विवाद हुने र सरकार विस्तार लगत्तै गठबन्धन टुट्ने जिकिर गरे । ‘एमालेले नचाहदा नचाहदै १० दलिय गठबन्धन सरकार विस्तार लगत्तै ढल्ने निश्चित छ,’ उनले भने ।
मिसन ग्रासरुट तथा राष्ट्रिय यूवा संघ नेपालको नवौँ राष्ट्रिय महाधिवेशनका सन्दर्भमा आयोजित जिल्लास्तरिय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै लुम्विनी प्रदेशका निवर्तमान मुख्यमन्त्री समेत रहेका पोख्रेलले शेरबहादुर देउवा सरकारका पालामा देश आर्थिक संकट निम्त्याएकोले स्थायित्व, आर्थिक बृद्धि तथा समृद्धिका लागि पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाएको उल्लेख गरे । हामीले समृद्ध नेपाल र सुखी नेपालीको परिकल्पना गरेर पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनायौँ, तर उहाँ (पुष्पकमल) चरम दक्षिणपन्थी र नाङ्गो दलालीको रुपमा उभिनु भयो,’ महासचिव पोख्रेलले भने ।
पुष्पकमल दाहालका कारण मुलुक फेरि अस्थिरतातर्फ ढकेलिएको उनको भनाई थियो । उनले दाहालकै कारण देशमा आर्थिक संकट निम्तिएको बताउँदै राजनीतिक अस्थिरता र उदण्डता बढेको आरोप लगाए ।
उनले माओवादीका नेता जनार्दन शर्मा अर्थ मन्त्री र शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला देशमा आर्थिक संकट आएको ठोकुवा गरे । ब्यापारीले बैंकको ब्याज दोब्बर भयो भनिरहनु भएको छ, तर चुरो कुरोमा पुग्न नसकेको बताए । ‘जनार्दन शर्माले अवैध रुपैँयालाई बैध बनाउन खोज्दा नेपाली रुपैँया हराएर जाने अवस्था सिर्जना भयो । अर्थतन्त्र धरासायी बन्न पुग्यो । फलस्वरुप तरलता सिर्जना भई बैंकहरुले ब्याज बढाए । यसको असर उद्योगी, ब्यापारी र ब्यवसायीलाई पर्न गयो,’ उनले भने ।
उनले ठूला राजनीतिक दल प्रति जनताको वितृष्णा जागेको भनाईमा सत्यता नभएको बताए । यूवाको भावना बुझ्न नसक्दा अहिलेको निर्वाचनको परिणाम फरक आएको धारणा राखे । उनले नयाँ दललाई पानीको फोकाको संज्ञा दिए । ‘कुनै बेला विवेकशिल साझा पार्टी काठ्माडौँमा उदायो । अर्को चुनावमा पानीको फोका जस्तै आफै विलाएर गयो । अहिले स्वतन्त्र पार्टीको हावा चलेको छ । त्यो पनि पानीको फोकाजस्तै आफै विलाएर जानेमा दुईमत छैन,’ पोख्रेलले भने ।
कार्यक्रममा मोर्चा विभाग प्रमुख समेत रहेका स्थायी कमिटी सदस्य भानुभक्त ढकालले एमालेलाई नेपालका राजनीतिक दलले एक्लाएक्लै चुनौती दिन नसक्ने बताए ।
सो अवसरमा एमालेका पोलिटब्यूरो सदस्य तथा यूवा फाँट इन्चार्ज महेश बस्नेतले यूवा मतदाताको भावनालाई समेट्न नसक्दा निर्वाचनको मत परिणाम फरक आउने धारणा राखे । उनले मिसन ग्रासरुटमा यूवा लक्षित कार्यक्रम लैजान सुझाव दिए । ‘कामका लागि विदेश गएका यूवाहरुले घरमा फोन गरेर आफ्ना बाबुआमालाई यसलाई र त्यसलाई भोट हाल्न दवाव दिएको पाइयो,’ उनले भने ।
राष्ट्रिय यूवा संघ नेपालको महाधिवेशन २७–२९ चैतमा नेपालगन्जमा हुने भएको छ । महाधिवेशनमा देशभरका २५ सय यूवा नेपालगन्जमा भेला हुने जानकारी दिए ।

Previous articleनरैनापुर गाउँपालिकाले पायो ६६ लाख पुरस्कार
Next articleमहेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जको स्ववियू सभापतिमा अनेरास्ववियूका माधव खत्री विजयी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here