सरकारले अनुदान घटाएपछि रासायनिक मलको मूल्य बढ्ने (कुन मलको कति रुपैँया बढ्दै छ ?)

बाँके, फागुन २९, २०७९ ।


सरकारले कृषकलाई दिँदै आएको अनुदान घटाएपछि रासायनिक मलको मूल्य बढ्ने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिको सोमवार बसेको बैठकले अनुदान घटाउने निर्णय गरेसँगै रासायनिक मलको मूल्य बढ्ने भएको हो ।
रासायनिक मलमा यसअघि समग्रमा ७० दशमलव ८२ प्रतिशतबराबर अनुदान दिइरहेकोमा अब ५९ दशमलव ०४ प्रतिशत कायम गरिएको मन्त्रालयले जनाएको छ । ‘यो दरलाई क्रमशः ५० प्रतिशतमा झारिनेछ,’ कृषि मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
सरकारले मलको अनुदान घटाएसँगै कृषकले यसअघि खरिद गर्दै आएको मूल्य पनि बढ्ने भएको छ । अनुदान कटौतीपछि आयात विन्दुमा युरिया प्रतिकिलो रु. २५, डिएपी प्रतिकिलो रु. ५० र पोटास प्रतिकिलो रु. ४० मा बिक्री वितरण हुनेछ ।
यसअघि आयात विन्दुमा युरिया प्रतिकिलो रु. १४, डिएपी प्रतिकिलो रु. ४३ र पोटास प्रतिकिलो रु. ३१ मा बिक्री वितरण भइरहेको थियो ।
साबिकभन्दा अब युरिया प्रतिकिलो रु. ११, डिएपी प्रतिकिलो रु. सात र पोटास प्रतिकिलो रु. नौ महँगो पर्ने भएको छ । सरकारले यसअघि युरियामा ८० प्रतिशत, डिएपीमा ६० प्रतिशत र पोटासमा ५९ प्रतिशत अनुदान दिइरहेको थियो । तर, अब युरियामा ६४ दशमलव ४९, डिएपीमा ५२ दशमलव ३८ र पोटासमा ४६ दशमलव ०९ प्रतिशत मात्रै अनुदान दिइनेछ ।

Previous articleसरकारी उदासिनता : बाँकेमा लक्ष्यभन्दा दुई गुणा कम धान खरिद
Next articleनेपालमै पहिलो पटक ‘नेपाल फोटोग्राफी समिट’ नेपालगन्जमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here