सरकारी उदासिनता : बाँकेमा लक्ष्यभन्दा दुई गुणा कम धान खरिद

बाँके, २८ फागुन, २०७९ ।


नेपालगन्जस्थित खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले लक्ष्यभन्दा करिव दुई गुणा कम धान खरिद गरेको छ । बाँकेमा २५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य रहेकोमा नौ हजार क्विन्टल मात्र खरिद भएको कम्पनीका नेपालगन्ज प्रमुख रामशरण लामिछानेले बताए ।
फागुनको पहिलो सातादेखि विक्रिका लागि किसान आउन छाडेको बताए । उनले यसवर्ष जिल्लाका आठ सय ४० किसानबाट २० हजार क्विन्टल मध्यम र पाँच हजार क्विन्टल मोटो गरि २५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य रहेकामा लक्ष्य अनुसार खरिद गर्न नसकिएको बताए ।
तीन सय ४० किसानबाट सात हजार क्विन्टल मध्यम र दुई हजार क्विन्टल मोटो धान गरिद गरिएको उनको भनाई छ । धान विक्रिका लागि जिल्लाका आठवटै पालिकालाई कोटा निर्धारण गरि ५ पुसबाट धान खरिद सुरु गरिएको थियो ।
कम्पनीले ५ पुसबाट धान खरिद सुरु गरेको दावी गरे पनि निर्धारित समयभन्दा धेरै ढिला गरी धान खरिद सुरु गरेको किसानले गुनासो गरेका छन् । कम्पनीले ढिलागरि धान खरिद गरेकोले अधिकांश किसानले पहिले नै धान विक्रि गरेको डुडुवा गाउँपालिका १ होलियाका राजकुमार शुक्लले बताए । ‘कम्पनीले ढिला खरिद गरेपछि बाध्य भएर व्यापारीसँग सस्तोमा बिक्री गर्यौँ,’ उनले भने ।
व्यापारीले सरकारले तोकेको मूल्यमै धान खरिद गरेका कारण किसानले ब्यापारीलाई धान बिक्रि गरेको उनको भनाई छ । सरकारले यस वर्ष मोटा धानको प्रतिक्विन्टल समर्थन मूल्य दुई हजार ९६७ रुपैयाँ र मध्यम धानको मूल्य तीन हजार १२८ रुपैयाँ तोकेको थियो ।
बाँकेका आठवटा पालिकामध्ये जानकी गाउँपालिका र नेपालगन्ज उपमहानगरका अधिकांश किसानले कम्पनीलाई धान विक्रि गरेको प्रमुख लामिछानेले बताए । उनले अन्य पालिकाका अति थोरै किसानले कम्पनीसँग धान विक्रि गरेको स्पष्ट पारे ।

Previous articleमहेन्द्र बहुमुखी क्याम्पसमा ९ विद्यार्थी संगठनको ताला : स्ववियू निर्वाचन प्रभावित, चार विद्यार्थी संगठनको विरोध
Next articleसरकारले अनुदान घटाएपछि रासायनिक मलको मूल्य बढ्ने (कुन मलको कति रुपैँया बढ्दै छ ?)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here