‘ला टोमाटिनो फेस्टिभल’ सँगै कोहलपुरमा पहिलो पटक गोलभेडाको रंगले होली (फोटोहरु)

बाँके, २३ फागुन, २०७९ ।


कोहलपुरमा पहिलो पटक गोलभेडाको रंगले होली खेलिएको छ । होलीको अवसरमा मंगलवार गोलभेडाको रंगसँगै ‘गोलभेडा उत्सव नेपाल–२०२३’ (ला टोमाटिनो फेस्टिभल) आयोजना गरेर होली खेलिएको एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले बताए ।
बाँकेको कोहलपुरलाई पर्यटनको हव बनाउने उद्देश्यले ‘गोलभेडा उत्सव नेपाल–२०२३’ आयोजना गरिएको उनले बताए । पर्यटकलाई आकर्षण गर्न विश्वका स्पेन, इटली र भारतका केही सहरमा गोलभेडा पर्व मनाउने गरिएको बताउँदै उनले कोहलपुरलाई लुम्विनी, कर्णाली र सुदूरपश्चिम प्रदेसको पर्यटनको हव मनाउन मद्दत गर्ने जिकिर गरे । ‘भाईचारा, सद्भाव र रंगहरुको पर्व होली जस्तै देखिने यो पर्वले स्वदेशी तथा विदेशी पर्यटकलाई बाँके भित्र्याउन सहज हुनेछ,’ उनले भने, ‘कोहलपुरलाई पर्यटकीय गतिविधिसँग जोड्ने उद्देश्यले गोलभेडा उत्सव गरेका हौँ ।’
सेन्थेटिक रंगले पार्ने नकारात्मक प्रभावबाट उत्सवले केहि हदसम्म जोगाएको उनले बताए ।


टोमाटिनो फेस्टिभलका लागि आवश्यक गोलभेडा कोहलपुर र बैजनाथ गाउँपालिकाका किसानबाट खरिद गएको बाँके पर्यटन प्रवद्र्धन मञ्चका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताए । ‘एकातिर किसानले उत्पादन गरेका गोलभेडा खपत भएको छ । अर्कोतर्फ होली खेल्नेलाई सेन्थेटिक रंगले पार्ने नकारात्मक प्रभावबाट सर्वसाधरणलाई जोगाएको छ,’ उनले भने ।
‘होली खेलेर यस वर्ष वसन्त ऋतु र यसका सबै सुन्दर रंगहरूलाई स्वागत गरौं, जैविक गोलभेडासँगै आफू र आफ्ना प्रियजनलाई विषादी पदार्थबाट सुरक्षित राखौं, सिन्थेटिक होलीका रंगहरूको सट्टा गोलभेडाले होली खेली रमाऔं’ भन्ने मुल नाराका मनाइएको गोलभेडा उत्सवका अवसरमा कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्यले कोहलपुरमा पर्यटकीय गन्तब्यको विकास र संस्कृतिको जगेर्ना गर्न उत्सवले सहयोग गर्ने बताए । ‘आफ्नै संस्कृति मनाउन आफ्नै करेसाबारीमा उत्पादित टमाटर, हलेदोलगायतको मिश्रणबाट रशायनयुक्त रंग र अविरलाई विस्थापित गरी गोलभेडाको रंङ्गले होलीलाई उत्सवको रुपमा मनाउनु अत्यन्तै राम्रो कुरा हो,’ उनले भने ।

Previous articleप्रधानमन्त्रीविरुद्धको रिट दर्ता
Next articleपौडी खेल्न गएका दुई बालकको डुबेर मृत्यू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here