प्रेम आचार्यले आत्मदाह गरेको स्थानबाट राजसंस्था स्थापनाका लागि आन्दोलन सुरु गर्ने प्रसाईँको घोषणा

काठमाडौं ।

व्यवसायी दुर्गा प्रसाईँले राजसंस्था पुनर्स्थापनाका लागि आन्दोलन घोषणा गरेका छन् । एमाले पार्टी परित्याग गरेसँगै उनी राजसंस्थाको पक्षमा खुलेका छन् । ‘राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाऊ महाभियान’ को नाममा मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले यही २० फागुनबाट आन्दोलनमा उत्रिने घोषणा गरेका हुन् ।
नयाँ बानेश्वरस्थित संघीय संसद भवनको दक्षिण गेट अगाडि प्रेम आचार्यले आत्मादाह गरेको स्थानबाट आन्दोलन सुरु गर्ने जानकारी दिँदै प्रसाईंले त्यसमा सहभागी हुन पनि सबैलाई आह्वान गरेका छन् ।
त्यसक्रममा उनले आन्दोलनमा आफूहरुले ०४७ सालको संविधान लागू गर्नुपर्ने, हिन्दु राष्ट्र कायम गर्नुपर्ने, कर्मचारी र तल्लो तहका सुरक्षाकर्मीहरुको मासिक तलव कम्तिमा एक लाख ५० हजार पुर्याउनुपर्ने लगायतका १५ बूँदे माग प्रस्तुत गर्नेसमेत बताए ।
कैदी–बन्दीहरुलाई जेलमुक्त गराई जेलहरुलाई श्रम शिविरमा रुपान्तरण गर्नुपर्ने, उच्च शिक्षा हासिल गर्न विदेश जानेहरुलाई यहीँ पढ्ने वातावरण बनाउनुपर्ने, बेरोजगार युवाहरुलाई बिना धितो ऋण उपलब्ध गराई रोजगारी सृजना गर्नुपर्ने लगायतका माग पनि सरकार समक्ष गरिने प्रसाईंले बताए ।
उनले भने, ‘हाम्रा यी मागहरु पूरा नहुन्जेलसम्म आन्दोलन जारी रहन्छ । यसमा एक्यवद्धता जनाउन पूर्वराजा ज्ञानेन्द्र शाह पनि आउनु हुन्छ । यो लडाई भनेको राष्ट्रको लागि हो, राष्ट्रियताको लागि हो । व्यवस्था बदल्ने लडाईं हो । हामीले धर्म खोजेको, राजा खोजेको हो ।’
व्यवसायी प्रसाईंले आफूहरुको सो माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने बताए । उनले बैंक तथा वित्तीय संस्थाहरुको मारमा परेकाहरु आफूहरुको आन्दोलनमा सहभागी बन्ने दाबीसमेत गरे ।
प्रसाईले एमालेमा छँदै महाअभियान सुरु गरेका थिए । त्यसमा राजसंस्था पुनःस्थापनाको घोषित एजेन्डा थिएन । उनले हिन्दू राज्य स्थापना र संघीयता खारेजीको माग गरेका थिए । पूर्वराजाको परिवार नै उतारेर उनले महाअभियानको घोषणा गरेका थिए ।
प्रसाईंलाई कारवाही सिफारिस भएपछि उनले आफैं एमाले परित्याग गरेका थिए । एमाले छोडेपछि उनले राजसंस्थाको एजेन्डा घोषित रुपमा नै अंगालेका छन् ।

Previous articleनेपालगन्ज रंगशालाको स्विमिङ पुल १ चैतबाट सर्वसाधारणका लागि खुल्ला
Next articleसार्वजनिक बिदामा अव कुन कुन कार्यालय खुल्छन् ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here