ओलीलाई एक्ल्याउने गन्तव्यमा देउवा-प्रचण्ड

काठमाडौँ । यही फागुन २५ गतेका लागि तय भएको राष्ट्रपति निर्वाचनको विषय लिएर सत्ता गठबन्धनभित्र शंका बढेको छ । राष्ट्रपतिमा दाउ छोप्ने प्रयासमा रहेको नेपाली कांग्रेस भने गठबन्धनभित्र अविश्वास बढ्दा चुनाव आफ्नो पक्षमा पार्ने आशामा रहेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पटकपटक सहमतिमै नयाँ राष्ट्रपति चुनिने बताउँदै गर्दा सत्ता गठबन्धनमा रहेका दलबीच शंका बढ्दै गएको हो । कांग्रेस भने प्रचण्डबाट सहमतिको नारा आउँदै गर्दा आशा जगाएरै बसिरहेको छ ।

राष्ट्रपति निर्वाचनमा सहयोग गर्न प्रचण्डसमक्ष नेपाली कांग्रेसले औपचारिकरुपमा प्रस्ताव गरेको छ । प्रधानमन्त्री प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरुबीच आइतबार राति बालुवाटारमा राष्ट्रपतिको निर्वाचनका विषयमा छलफल भयो । प्रधानमन्त्रीलाई भेट्न कांग्रेस सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र नेता कृष्णप्रसाद सिटौला हिजो साँझ बालुवाटार गएका थिए ।

सो छलफलपछि सोमबार बिहान प्रधानमन्त्रीले राष्ट्रपतिमा कांग्रेसले उठाएको उम्मेदवारमा सहमति हुने बताएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलसँगको भेटमा बालुवाटार पुग्दा प्रचण्डले यसो भनेका हुन् । प्रधानमन्त्रीलाई उद्धृत स्रोतले भन्यो, कांग्रेसलाई समेट्नुपर्ने बाध्यता छ । कांग्रेसले उठाएको राष्ट्रपति उम्मेदवार नभई राष्ट्रिय सहमति हुन गार्‍हो छ । सत्ता गठबन्धन जोगाएर पनि कांग्रेस सरकारमा ल्याउने मेरो पुरै कोसिस रहने छ । यसका लागि हिजो कांग्रेसका साथीहरुरुसँग पनि छलफल भयो । मिलेर जानुपर्छ ।’

पछिल्लो समय एमालेभन्दा कांग्रेससँग नजिकिएका प्रचण्ड पुरानै गठबन्धनको नेतृत्व गर्न सकारात्मक रहेका बताइन्छ । कांग्रेस सभापति देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग समानान्तर छलफलमा रहेका प्रचण्ड राष्ट्रपतिमा कांग्रेसलाई सघाएर एमालेलाई एक्ल्याउने रणनीतिमा रहेका स्रोत बताउँछ । विशेषतः देउवाले थालेको पुरानै गठबन्धन ब्युँताउने प्रयासमा प्रचण्ड र नेपाल पनि अघोषित रूपमा सम्मिलित छन् । त्यसैले त शीर्ष नेताहरू नै राष्ट्रपति निर्वाचनमा गठबन्धन फेरिने अभिव्यक्ति दिँदै आएका छन् ।

संसद्को सबैभन्दा ठूलो दल कांग्रेस त झनै हौसिएको छ । गत २६ पुसमा प्रधानमन्त्रीमा प्रचण्डलाई विश्वासको मत दिएकाले राष्ट्रपतिमा आस राख्दै आइरहेको छ । त्यसयता माओवादी र कांग्रेसको सम्बन्ध पनि सुमधुर छ । कांग्रेसले प्रधानमन्त्रीमा प्रचण्डलाई विश्वासको मत दिएपछि एमाले अध्यक्ष ओलीले ‘कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर ढोक्सा थाप्न खोजेको हो भने कांग्रेसको ढोक्सामा माछा नपर्ने’ टिप्पणी गरेका थिए ।

ओलीमा संशय


राष्ट्रपति निर्वाचनको विषयलाई लिएर प्रधानमन्त्री प्रचण्ड र ओलीबीच पनि पटक पटक छलफल भइरहेको छ । यी दुई नेता कहिले बालुवाटार त कहिले बालकोटमा छलफल गरिरहेका हुन्छन् । ओली संशयकाबीच प्रचण्डलाई भेट्दा प्रचण्ड भने ढुक्कताका साथ ओलीसँग भेट गरिरहेका हुन्छन् ।

ओलीले नेता, कार्यकर्तामाझ पार्टीलाई एक्ल्याउने शक्तिहरूले षडयन्त्र गरिरहेको बताए । ‘विभिन्न राजनीतिक शक्तिहरू एमालेसँग स्वस्थ प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा छैनन् । उनीहरू स्वच्छ प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा छैनन् । तसर्थ, उनीहरू अस्वस्थ प्रतिस्पर्धाका अस्वस्थ तरिकाहरू, स्वस्थ विधिहरू अपनाउन सक्छन् । हामीले केही देखेका छौँ,’ उनले भनेका छन् ।

Previous articleहिरमिनियामा कोल्ड स्टोर निर्माण : एक वर्ष सात महिनामा ४० प्रतिशत काम पूरा
Next articleओलीले गरे माधव नेपाललाई राष्ट्रपति बन्न प्रस्ताव

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here