बाँके, ७ फागुन, २०७९ ।
ट्याक्टरमा आगजनी गरेको मुद्दामा कैद सजाय पाएका नागरिक उन्मुक्ति पार्टीबाट कैलाली क्षेत्र नं. २ बाट निर्वाचित सांसद अरुणकुमार चौधरी कारागारमुक्त भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपतिबाट आममाफी पाएपछि सांसद चौधरीलाई जिल्ला कारागार कैलालीले आइतबार मुक्त गरेको हो ।
जिल्ला कारागारले प्रजातन्त्र दिवसका अवसरमा आममाफी पाएका अन्य तीनजनालाई पनि आइतवार मुक्त गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको उपलक्ष्यमा तीन सय ९५ कैदीको सजाय माफी गरेकी छिन् ।
सांसद चौधरीले आगो लगाएको मुद्दामा दोषी भई कैद सजाय पाएको खुलेपछि गत १९ माघमा बाँकेको बैजनाथ गाउँपालिका– १ चिसापानीबाट पक्राउ परेका थिए । कैलालीको लम्कीका महादेव बजगाईंको ट्याक्टरमा आगो लगाएको मुद्दामा जिल्ला कारागार कैलालीले करिब १० वर्षअघि चौधरीसहित तीनजनालाई दोषी ठहर गर्दै जनही ६ महिना कैद र कुल आठ लाख १९ हजार ४२३ रुपैयाँ बिगो असुल्ने फैसला गरेको खुलेको थियो ।
तीनैजना फरारको सूचीमा थिए । फैसलाबारे उजुरीकर्तासमेत अनभिज्ञ थिए, तर दोषी ठहर भएकामध्ये वीरबहादुर चौधरी गत १२ माघमा पक्राउ परेपछि सांसद चौधरीसमेत फरारको सूचीमा रहेको खुलेको थियो । पक्राउ परेपछि उनी निलम्बनमा परेका थिए ।
चौधरी रिहा हुँदा नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलगायत उक्त पार्टीका नेता–कार्यकर्ताले कारागारको गेटमा खादा र माला लगाएर स्वागत गरेका छन् । कारागारबाट रिहा भएपछि सांसद चौधरीले आफूमाथि राजनीतिक प्रतिशोध साँधिएको प्रतिक्रिया दिए ।