२९४ महिलाको पाठेघर जाँच गर्दा २१ जनामा प्रारम्भिक चरणको क्यान्सर, आशंका गरिएका २१ को रिपोर्ट आउन बाँकी

बाँके, ६ फागुन, २०७९ ।


बाँकेका दुई सय ९४ महिलाको पाठेघर जाँच गर्दा पहिलो चरणमा २१ जनामा पाठेघर मुखको क्यान्सर देखिएको छ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले कोहलपुरमा गरेको निःशुल्क स्वास्थ्य शिविरमा जाँच गराएका दुई सय ९४ मध्ये पहिलो चरणमा २१ जना महिलाको प्याप स्मेयर र भिआइए जाँच गर्दा प्रारम्भिक चरणको क्यान्सर पुष्टि भएको संस्थाका बरिष्ठ ब्यवस्थापक जिताराम गौतमले जानकारी दिए ।
उनले जाँच गराएका महिला मध्ये थप २१ जनाको पाठेघरमा पनि क्यान्सर आशंका गरिएको बताए । ति महिलाको प्याप स्मेयर र भिआइए जाँचका लागि बाहिर पठाएको उनको भनाई छ । ‘एक–दुई दिनमा थप रिपोर्ट आएपछि बास्तविक अवस्था स्पष्ट हुने छ,’ उनले भने ।
संस्थाले महिला समुहमा आवद्ध महिलालाई स्वास्थ्य अवस्था बुझ्न आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा जाँच गराएका महिलामा प्रेसर, सुगर, थाइराइड जस्ता समस्या देखिएको नेपालगन्ज मेडिकल कलेजका फिजिसियन डा. श्याम विकले बताए । ‘सामान्य स्वास्थ्य समस्या देखिएका महिलाको संख्या धेरै भए पनि पाठेघरको मुखको प्रारम्भिक चरणको क्यान्सरको समस्या देखिएका महिलाको संख्या पनि उत्तिकै छ,’ उनले भने ।
संस्थामा आवद्ध महिलाको स्वास्थ्य अवस्था बुझ्न शिविर संचालन गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत जनार्दनदेव पन्तले बताए । स्वस्थ जिवनले मात्र उद्यम सम्भव हुने भएकोले संस्थाको समुहमा आवद्ध उद्यमी महिलाको स्वास्थ्य परीक्षण गरिएको बताए । ‘स्वस्थ भएमात्र उद्यमी महिलाले राम्रोसँग उद्यम संचालन गर्न सक्नु हुन्छ । मध्यम आय भएका महिलाको स्वास्थ्य विग्रिए उद्यम तहस नहस हुन्छ,’ उनले भने, ‘महिलाको स्वास्थ्य नै धन हो भन्ने उद्देश्यले स्वास्थ्य शिविर संचालन गरेका हौँ ।’
उनले कर्जाको दुरुपयोग भए खराव स्थिति निम्तिने बताउँदै गरिवी निवारण गर्न सीपलाई उत्पादनसँग जोड्नु पर्ने बताए । ‘प्रविधि र सीपलाई उत्पादनसँग जोड्दा गरिवी हट्छ,’ उनले भने ।
बाँकेमा निर्धन उत्थान लघुवित्त वित्तीय संस्थामा २१ हजार एक सय ४६ जना महिला आवद्ध छन् ।

Previous articleनरैनापुर गाउँपालिका कार्यसम्पादन मूल्याङ्कनमा देशकै उत्कृष्ट
Next articleजिफन्ट बाँके अध्यक्षमा कृष्णबहादुर बुढा निर्वाचित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here