तुलसीपुर बसपार्क: मापदण्ड मिचेर सटर निर्माण

प्रेमबहादुर राम्जा,

तुलसीपुर । तुलसीपुरको नयाँ बसपार्कमा राष्ट्रिय सडक मापदण्ड मिचेर ७० वटा सटर निर्माण गरिएको छ । सटर निर्माणका लागि तुलसीपुर उपमहानगरपालिकाले स्वीकृति प्रदान गरेको हो । स्थानीय सरकारको स्वीकृतिमा बुढाथोकी ट्रेड एण्ड सप्लायर्सले मापदण्डविपरीत ७० वटा सटर निर्माण गरेको हो ।

कैलालीको बुढाथोकी ट्रेड एण्ड सप्लायर्सले २०७८ फागुन २० गतेदेखि २० वर्षका लागि नयाँ बसपार्कको ब्यवस्थापन तथा सञ्चालनका लागि सम्झौता गरेको छ । सोहीअनुसार सप्लायर्सले सटर निर्माण गरेको हो । सडक मापदण्डअनुसार पिच सडकको दुबैतर्फ २५÷२५ मिटर हुनुपर्ने र थप ६÷६ मिटरभित्र कुनै पनि संरचना निर्माण गर्न नपाइने व्यवस्था छ तर उक्त क्षेत्रमा ७ मिटरको कालोपत्रे मात्रै छ । स्पष्ट ब्यवस्था हुँदाहुँदै स्थानीय सरकार र सप्लायर्सले यसतर्फ ध्यान दिएका छैनन् । राष्ट्रिय राजमार्ग र विद्युतको हाइटेन्सन लाइनमुनि सटर निर्माण गरिएका छन् । तुलसीपुरको बसपार्कको ठेक्का सम्झौता गरेको सप्लायर्सले नगरपालिकाको स्वीकृतिमा सटर निर्माण गरेको जनाएको छ । सप्लायर्सले बसपार्क क्षेत्रमा ३५ वटा तथा दाङ–सुर्खेत सडक खण्डको क्षेत्रलाई लक्षित गरेर ३५ वटा सटर निर्माण गरेको हो ।

सप्लायर्सले सटर निर्माणको कामलाई अन्तिम चरणमा पु¥याएको छ । विद्युतको हाइटेन्सन लाइन र सडक मापदण्ड विपरित निर्माण भएका सटर जुनसुकै बेला भत्काउनुपर्ने अवस्था सिर्जना हुने सरोकारवालाहरुले बताएका छन् । बसपार्कको ब्यवस्थापनका लागि ठेक्का सम्झौता गरेको बुढाथोकी ट्रेड एण्ड सप्लायर्सले सटर भाडामा लगाउने गरी निर्माण गरेको छ । सटर निर्माणका लागि नगरपालिकाले स्वीकृति मात्रै दिएको छ । सटर निर्माणको लागत सप्लायर्स आफैले लगानी गरेको छ । सप्लायर्सका सञ्चालक भीमबहादुर बुढाथोकीले निर्माण गर्नेदेखि भाडामा दिनेसम्मको अधिकार आफ्नो भएको बताउनुभयो । भविष्यमा राज्यको नीति अनुसार सडक मापदण्ड अनुसार सडक विस्तार हुने अवस्था आएमा भत्काउन तयार रहेको सञ्चालक बुढाथोकीले जानकारी दिनुभयो ।

बसपार्कको ब्यवस्थापन, राजश्व संकलन, अस्थायी र स्थायी संरचना निर्माण गर्ने सम्झौताअनुसार तुलसीपुर उपमहानगरपालिकाको स्वीकृतिमा निर्माण गरेको सञ्चालक बुढाथोकीले बताउनुभयो । भविष्यमा हुने अस्थायी र स्थायी संरचना निर्माण गर्दा लागेको लागत आफ्नै हुने र त्यसले राज्यको नीतिविपरीत भएको अबस्थामा हटाउन तयार रहेको सञ्चालक बुढाथोकीले बताउनुभयो । तुलसीपर उपमहानगरपालिकाका प्रवक्ता माधव वलीले सटर निर्माणका लागि स्वीकृति दिएको बताउनुभयो । ठेक्का सम्झौता अनुसार नै सप्लायर्सलाई सटर निर्माणका लागि स्वीकृति दिएको जानकारी दिनुभयो । त्यसको सम्पूर्ण जिम्मेवारी सप्लायर्स नै रहने प्रवक्ता वलीले बताउनुभयो ।

तुलसीपुर उपमहानगरपालिका र बुढाथोकी ट्रेड एण्ड सप्लायर्सबीच भएको ३३ बुँदे सम्झौताअनुसार २१ नं. बुँदामा अस्थायी र स्थायी संरचना निर्माणका विषयमा उल्लेख गरिएको छ । सम्झौतामा उल्लेख भए अनुसार ‘ठेक्का अवधिभर बसपार्कको सम्पूर्ण क्षेत्रमा स्थायी तथा अस्थायी संरचनाको निर्माण गर्न यस उपमहानगरपालिकाको स्वीकृति लिएर मात्र सम्बन्धित दोस्रो पक्षको लगानीमा गर्न सकिनेछ । त्यस्तो संरचनाको लगत स्टिमेट उपमहानगरपालिकाबाट तयार गरी स्वीकृत भएको हुनुपर्नेछ । साथै त्यो संरचना ठेक्का अवधि समाप्त भएपश्चात स्वतः उपमहानगरपालिकालाई हस्तान्तरण भएको मानिने छ’ भनिएको छ । सप्लायर्सले २०७८ सालमा दुई करोड २३ लाख ३१ हजार सात सय ८६ रुपैयाँमा ठेक्का सम्झौता गरेको हो । सप्लायर्सले उक्त रकममा वार्षिकरुपमा दुई प्रतिशतका दरले बृद्धि गरेर २०९२ सालसम्म ठेक्का सम्झौता गरेको छ ।

फोहोरमैलाको ब्यवस्थापन भएन

बसपार्कको ब्यवस्थापनको जिम्मा लिएको बुढाथोकी ट्रेड एण्ड सप्लायर्सले फोहोरमैला ब्यवस्थापनमा ध्यान दिन सकेको छैन । बसपार्कको पूर्र्वीक्षेत्रमा रहेका ५२ वटा सटरको फोहोरमैला ब्यवस्थापन र सार्वजनिक शौचालय सञ्चालन गरेको छैन । ब्यवसायीले सार्वजनिक शौचालय तथा फोहोरमैला ब्यवस्थापनमा ध्यान दिन आग्रह गरेका छन् ।

बसपार्कको पूर्वीक्षेत्रमा रहेका ५२ वटा सटरमध्ये पश्चिम साइडमा फर्केका २६ वटा सटरक्षेत्रमा फोहोरले बस्नै नसक्ने अवस्था छ । पूर्वक्षेत्रमा फर्केका सटरका लागि फोहोरको समस्या नभए पनि शौचालय सञ्चालन नहँुदा समस्या भएको जनाएका छन् । हाम्रो कस्मेटिक एण्ड गिफ्ट पसलका सञ्चालक ललिता बुढाथोकीले शौचालय सञ्चालन नहुँदा समस्या भएको बताउनुभयो । फोहोरमैला ब्यवस्थापनका लागि ठेकेदार तथा नगरपालिकाले ध्यान नदिएको उहाँले बताउनुभयो । शौचालय नियमितरुपमा सञ्चालन नभएको छ महिना पूरा भएको छ । शौच गर्नलाई अरुको होटलमा जानुपर्ने बाध्यता रहेको पसलकी सञ्चालक बुढाथोकीले बताउनुभयो ।

बुढाथोकी ट्रेड एण्ड सप्लायर्सका सञ्चालक भीमबहादुर बुढाथोकीले सार्वजनिक शौचालयको सेफ्टी ट्यांकी सानो भएकाले बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको बताउनुभयो । बसपार्कको फोहोरमैला ब्यवस्थापनका लागि दैनिक दुईजना कर्मचारी खटाएको भन्दै सहयोगी स्वयंसेवकका लागि सामग्री ब्यवस्था गरिएको जानकारी दिनुभयो तर बसपार्क क्षेत्रको ५२ वटा सटर क्षेत्र, बसपार्क क्षेत्र, टिकट काउन्टरको पछिल्लो भागमा फोहोरको डंगुर छ । फोहोर ब्यवस्थापन हुन नसक्दा बसपार्क कुरुप बनेको छ । नयाँ युगबोधबाट

Previous articleटर्की भूकम्पमा ज्यान गुमाउने संख्या ३ हजार ७ सय नाघ्यो
Next articleथारूसहितका क्लस्टर समेटेर ९ महिनाभित्र निजामती सेवा ऐन जारी गर्न सर्वोच्चको परमादेश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here