सातौँ राष्ट्रिय थारु साहित्य सम्मेलन फत्तेपुरमा सुरु (फोटो र भिडियोसहित)

बाँके, २० माघ, २०७९ ।


राप्तीसोनारी गाउँपालिका ६ फत्तेपुरमा सातौँ राष्ट्रिय थारु साहित्य सम्मेलन सुरु भएको छ । सम्मेलनका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले उद्घाटन गरे ।
सम्मेलन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मोदीले टीकापुर घटनामा पक्राउ परि जेल सजाय भोगिरहेका थारु नेतालाई जेलमुक्त गराएरै छाड्ने प्रतिवद्धता जनाए । ‘टीकापुर घटनामा अदालतबाट दोषी करार भई जेल सजाय भोगिरहेकालाई जेलमुक्त बनाउन म प्रतिवद्ध छु । म धेरै बोल्दैन । यसको परिणाम तपाईहरुले केहि समयपछि पाउनुहुने छ,’ मन्त्री मोदीले भने ।
मन्त्री मोदीले अधिकार प्राप्तिका लागि भएका विभिन्न आन्दोलनले समेट्न नसकेपछि थारु समुदायले अधिकारका लागि समय–समयमा विद्रोह गरेको बताए । ‘ब्यवस्था परिवर्तनका लागि विभिन्न समयमा भएका आन्दोलनले थारु समुदायको अधिकार स्थापित गर्न नसक्दा बेला–बेला थारु समुदाय विद्रोह गर्न बाध्य हुने गरेको छ,’ उनले भने ।


उनले थारु समुदायको पहिचान र संस्कृति संरक्षणका लागि तराई समृद्धि कार्यक्रम अन्तरगत राप्तीसोनारी गाउँपालिकामा थारु संग्रहालय स्थापनाका लागि बजेट उपलब्ध गराउने प्रतिवद्धता समेत जनाए । थारु संग्रहालय स्थापनाका लागि उनले गाउँपालिकालाई योजनासहित रकम माग गर्न आग्रह गरे ।
२०–२२ माघसम्म चल्ने सम्मेलनमा पश्चिम महाकालिदेखि पूर्व मेचिसम्मका थारु साहित्यकार सहभागी भएको आयोजक थारु लेखक संघका केन्द्रिय सदस्य शेखर दहितले जानकारी दिए । सम्मेलन उद्घाटन कार्यक्रममा लुम्विनी प्रदेसका मन्त्री कृष्णा केसी (नमुना) ले थारु समुदायको राजनीतिक तथा सांस्कृतिक अधिकारका लागि प्रतिवद्ध भएर लाग्ने प्रतिवद्धता जनाइन् ।


सम्मेलनमा वर्तमान राजनीतिक अवस्था, बरघर प्रथा, जाँड, रक्सी र थारु, समृद्ध राप्तीसोनारी लगायत विषयमा समेत चर्चा हुने स्थानीय आयोजक थारु गोचाली समाजका अध्यक्ष देखलाल थारुले जानकारी दिए । उद्घाटन कार्यक्रममा थारु समुदायमा प्रचलित नाँच समेत प्रदर्शन गरिएको थियो ।

Previous articleमन्त्री अमनलाल मोदीले गर्ने भए सातौँ राष्ट्रिय थारु साहित्य सम्मेलनको उद्घाटन
Next articleचौतारी स्थापना दिवसमा पत्रकार महिला-शिक्षिका वीच फुट प्रतियोगिता, भोली पुरस्कार वितरण हुने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here