अत्यधिक चहलपहल हुने नेपालगन्जका सात स्थान ‘फ्री वाईफाई जोन’

बाँके, १७ माघ, २०७९ ।


नेपालगन्ज उपमहानगरपालिकाले सर्वसाधारणको अत्यधिक चहलपहल हुने प्रमुख चोकलाई ‘फ्री वाईफाई जोन’ बनाएको छ । नगर प्रमुख प्रशान्त विष्टले मंगलवार ‘फ्री वाईफाई जोन’ को उद्घाटन गरेपछि नगरका प्रमुख सात स्थानमा २४ सै घण्टा वाईफाई प्रयोग गर्न मिल्ने भएको छ ।
वल्र्ड लिंकसँगको सहकार्यमा उपमहानगरपालिकाले निःशुल्क वाईफाई सेवा सुरु गरेको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले बताए । पहिलो चरणमा नगरका सात स्थानलाई ‘फ्री वाईफाई जोन’ बनाइएको उनले बताए ।
विपी चोक, धम्बोझी चोक, चौलिका चोक, सेतु विक चोक, पुष्पलाल चोक, कारकाँदो चोक र भेरी अस्पताल क्षेत्रलाई ‘फ्री वाईफाई जोन’ बनाइएको उनले बताए । ‘नगरलाई सूचना प्रविधिमैत्री बनाउँदै सर्वसाधारणलाई निःशुल्क इन्टरनेटको सुविधा दिने उद्देश्यले हाललाई केही मुख्य चोकहरुलाई लक्षित गरी वाईफाई निःशुल्क चलाउने व्यवस्था गरिएको छ,’ उनले भने ।
पहिलो चरणमा सर्वसाधाणको बढी चहलपहल हुने सात स्थानमा सेवा सुरु गरेको नगर प्रमुख प्रशान्त विष्टले बताए । दोस्रो चरणमा नगरका अन्य चार स्थानलाई पनि ‘फ्री वाईफाई जोन’ बनाउने उनले बताए । ‘परीक्षणका रुपमा सात ठाउँमा सेवा सुरु गरेका छौँ । यसको प्रयोग गर्दा आउने प्राविधिक समस्या हेरेर थप ठाउँमा विस्तार गर्नेछौं,’ मेयर विष्टले भने, ‘नगरलाई सूचना प्रविधिमैत्री बनाउने अभियानमा छौं ।’
उनले नगरका २३ वटै वडामा इन्टरनेट पहुँच पुगेको बताउँदै सवै वडामा अनलाइन प्रणाली मार्फत काम भइरहेको जानकारी दिए । उनले योसंगै सूचना प्रविधिका क्षेत्रमा नेपालगन्ज उपमहानगरपालिकाले अर्को एउटा फड्को मारेको उनले दावी गरे । ‘नगरका प्रमुख ११ स्थान ‘फ्री वाईफाई सुविधा पुर्याउँछौँ,’ विष्टले भने ।
दोस्रो चरणमा त्रिभुवन चोक, राँझा चोक, गणेशमान चोक र ट्राफिक चोकमा निःशुल्क वाईफाई सेवा विस्तार गरिने सूचना प्रविधि शाखा प्रमुख घनश्याम बर्माले जानकारी दिए । एक जना व्यक्तिले २४ घण्टामा ५ सय एमबी बराबरको डाटा प्रयोग गर्न पाउने बर्माले बताए । ‘हरेक चोकको ३०० मिटर उत्तर र दक्षिणसम्म इन्टरनेट पहुँच हुने गरी सुविधा दिइएको छ । एक चोकबाट अर्को चोक पुग्दासम्म डिस्कनेक्ट नहुने गरी सुविधा दिने प्रयास गरिएको छ,’ उनले भने ।
अप्ठेरो अवस्थामा वाईफाईको सही सदुपयोग होस् भन्ने हेतुले हाललाई मुख्य चोकमा फ्री वाईफाई सुरुवात गरिएको वल्र्ड लिंकका नेपालगन्ज प्रमुख नवराज शर्माले बताए । उनले यसको दुरुपयोग वा अनाधिकृत प्रयोग रोक्न पब्लिकलाई ट्रयाक गरेर सिस्टममा ल्याउन पोर्टल पनि बनाइएको स्पष्ट पारे ।
सर्वसाधारणले पहिलोपटक निःशुल्क वाईफाई प्रयोग गर्दा आफ्नो मोबाइल नम्बर प्रविष्ट गर्नुपर्ने शर्माले बताए । त्यसपछि आउने नोटिफिकेशनका आधारमा सुविधा पाइनेछ ।

Previous articleशाहको जिवन रक्षाका लागि आर्थिक सहयोग गर्न प्याब्सन बाँकेको अपिल
Next articleरात्री आधारभूत विद्यालय ब्यवस्थापन समिति अध्यक्षमा मणिराम चौधरी निर्वाचित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here