सातौँ राष्ट्रिय थारु साहित्य सम्मेलनमा राजनीति र कुप्रथा माथि बहस हुने

बाँके, १५ माघ ।


सातौँ राष्ट्रिय थारु साहित्य सम्मेलनमा थारु साहित्यसँगै, राजनीतिक, सामाजिक र सांस्कृतिक विषय उठान गरिने भएको छ । थारु लेखक संघले राप्तीसोनारी गाउँपालिका ६ फत्तेपुरमा गर्न लागेको सम्मेलनमा थारु साहित्यको समकालिन अवस्था, थारु र गैरथारु साहित्यकार वीच समन्वय, विकासमा बरघरको भूमिका, पश्चिम नेपालमा राजनीतिक फिलिङ्गो, थारु हस्तकला, आख्यानमा थारु जिवन, थारु साहित्यमा यूवा लगायत विषयमा चर्चा हुने थारु लेखक संघका केन्द्रिय सदस्य शेखर दहितले बताए ।
२०–२२ माघमा गर्न लागिएको सम्मेलनमा साहित्यकार डा. गोविन्द आचार्यद्वारा लिखित दंगी र उर्वशी नामक पुस्तकको चर्चा समेत गरिने उनले बताए । उक्त सम्मेलनमा थारु समुदायमा विद्यमान सिकलसेल एनिमियाका बारेमा भेरी अस्पतालका बरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डे र सिकलसेल सामुदायिक अस्पताल तथा अनुसन्धान केन्द्रका अध्यक्ष जिवराज चौधरीले सहजिकरण गर्ने कार्यतालिका छ ।
पश्चिम नेपालमा प्रचलित मटावा, बरघर, भल्मन्सा प्रथाले विकासमा पुर्याएको योगदानको समेत चर्चा हुने भएको छ । बरघर प्रथालाई संस्थागत गर्न अग्रणी भूमिका निर्वाह गर्दै आएका एकराज चौधरीले बरघर प्रथाको वर्तमान र विगतका बारेमा औँल्याउने भएका छन् । ‘साहित्य सम्मलेन भनिए पनि हामीले थारु भाषा, साहित्य, संस्कृतिसँगै राजनीतिक, आर्थिक र सामाजिक मान्यता तथा विसंगतीको बारेमा समेत चर्चा गर्ने कार्यक्रम छ,’ उनले भने ।


देवतालाई रक्सी चढाउने र यसलाई थारु समुदायको पहिचानसँग जोड्दा पछिल्लो पुस्तामा नकारात्मक प्रभाव पर्ने भएकोले यसलाई साहित्य मार्फत कुरितीको रुपमा चित्रण गर्न सुझाव दिइएको छ । ‘राजनीतिक, सांस्कृतिक र राजनीतिक मुद्दासँगै थारु समुदायमा देखिएको सिकलसेल एनिमिया सम्बन्धि जानकारी दिने कार्यतालिका छ,’ उनले भने ।
सातौँ राष्ट्रिय थारु साहित्य सम्मेलनमा पूर्व मेचीदेखि महाकालीसम्मका तीन सय बढि थारु सर्जक तथा अगुवाले सहभागिता जनाउने आयोजकले जनाएको छ ।
थारु लेखक संघले पहिलो सम्मेलन दाङको घोराहीमा गरेको थियो । दोस्रो कैलालीको धनगढी, तेस्रो बर्दियाको बढैयाताल, चौथो रुपन्देहीको मुर्गिया, पाँचौँ सुर्खेतको नयाँ गाउँ र छैठौँ कञ्चनपुरमा राष्ट्रिय सम्मेलन भएको थियो । कोरोनाका कारण रोकिएको सम्मेलन यस पटक बाँकेका फत्तेपुरमा गर्न लागिएको जंग्रार साहित्यिक बखेरीका अध्यक्ष सोम डेमनडौराले जानकारी दिए ।
सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको स्थानीय आयोजक थारु गोचाली समाज फत्तेपुरका महासचिव कालुराम समर्पणले जानकारी दिए । उनले बरघर, वन उपभोक्ता समिति र पालिकाले सहयोग गरेको बताए ।
एद्घाटनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाललाई निमन्त्रणा गरिए पनि अझैँ फाइनल भइनसकेको उनले बताए । ‘प्रधानमन्त्रीलाई निमन्त्रणा पठाइएको छ । उहाँको समय नमिले पर्यटन मन्त्रीको करकमलबाट उद्घाटन गराउने योजना छ,’ उनले भने ।

Previous articleएसईईको समय तालिका सार्वजनिक, परीक्षा १७-२९ चैतसम्म
Next articleफेरि गृहमन्त्री नियुक्त होलान् रवि ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here