फेरि गृहमन्त्री नियुक्त होलान् रवि ?

काठमाडौँ । निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नागरिकता पुनः प्राप्ति प्रक्रिया थाल्ने भएका छन् । अहिले सर्वोच्चले नेपाली नागरिकता पुनः प्राप्ति प्रक्रिया अपनाउनुपर्ने फैसला गरेसँगै लामिछानेले नेपाली नागरिकता पुनः प्राप्ति प्रक्रियामा जाने तयारी गरेका हुन् ।

सर्वोच्चले ‘पुरानो नागरिकतालाई वैधता दिन नसकिने’ भन्दै खारेज गरेसँगै लामिछानेको उपप्रधान तथा गृहमन्त्री र सांसद पद नै गएको थियो । उनले अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकता पुनः प्राप्ति प्रक्रियामा गएका थिएनन् र पुरानै नेपाली नागरिकता प्रयोग गर्दै आइरहेका थिए ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँबाटै उनले नागरिकता पुनः प्राप्ति प्रक्रिया पूरा गर्ने तयारी गरेका छन् । अमेरिकी नागरिकता त्यागेको निस्सासहित पुरानो नागरिकता पेस गरेमा लामिछानेले नयाँ नागरिकता पाउन सक्ने काठमाडौँ प्रशासन स्रोतले बतायो । सम्भवतः उनी एक दुई दिनभित्रै नागरिकता पुनः प्राप्ति प्रक्रिया जानेछन् । लामिछानेले पनि आफ्ना कानुनी सल्लाहकारसँग यस विषयमा छलफल गरिरहेको बताइएको छ ।

रविले सबैभन्दा पहिला नागरिकता पुनः प्राप्ति थालेर नयाँ नागरिकता प्राप्त गर्नासाथ उनी वैध ठहरिन सक्छन् । त्यसपछि पुनः उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी सभापति हुने बाटो खुल्नेछ भने चितवनमा हुने उपनिर्वाचनमा उम्मेदवार हुन कुनै समस्या पर्दैन । लामिछानेले अहिले नागरिकता पुनः प्राप्ति प्रक्रिया थालेर नागरिकता पाएमा उनी पुनः ६ महिनाका लागि गृह तथा उपप्रधानमन्त्री नियुक्त हुन सक्छन् । ६ महिनाभित्र उनले चुनाव जितेर आउनुपर्नेछ । रविलाई चितवन–२ मा हुने उपनिर्वाचनमा जित हासिल गर्न झनै सहज हुने उनी निकटस्थको दाबी छ ।

नागरिकता लिएपछि फेरी गृहमन्त्री !


रविका निकटस्थका अनुसार सर्वोच्च अदालतको फैसलासँगै नागरिकता पुनः प्राप्ति र त्यसलगत्तै उनी पुनः गृहमन्त्रीमा नियुक्त हुने सम्भावना छ । नेपालको संविधानअनुसार कुनै पनि व्यक्ति मन्त्री हुनसक्ने र त्यसरी मन्त्री नियुक्त हुने व्यक्ति ६ महिनाभित्र प्रतिनिधिसभा सदस्य बन्नुपर्ने व्यवस्था छ ।

सोही व्यवस्थाअनुसार रवि पुनः गृहमन्त्री नियुक्त हुने र ६ महिनाभित्र चितवन–२ मा हुने उपनिर्वाचनबाट सहजै जितेर सांसद भएर आउने दाबी उनी निकटको छ । सत्ता गठबन्धनका नेता रविले नेपाली नागरिकता लिएपछि उनलाई पुनः गृह मन्त्रालयमै फिर्ता गर्ने विषयमा सकारात्मक रहेको बताइन्छ ।

Previous articleसातौँ राष्ट्रिय थारु साहित्य सम्मेलनमा राजनीति र कुप्रथा माथि बहस हुने
Next articleरवि लामिछानेले लिए नागरिकता

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here