बाँके, १२ माघ, २०७९ ।
सहकारीको ऋण तिर्न नसकेर काठमाडौँमा आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको मृत्यूको शोकमा विहीवार आज नेपालगन्जका पसल बन्द गरिएका छन् । इलामको सूर्योदय नगरपालिकाका व्यवसायी प्रेमप्रसाद आचार्य ‘सन्तोष’ ले संघीय संसद् भवन अगाडि आत्मदाहको प्रयासपछि उपचारका क्रममा भएको निधनको शोकमा नेपालगन्ज उद्योग वाणिज्य संघले विहीवार सम्पूर्ण उद्योग, व्यवसाय बन्द गर्ने निर्णय गरेको छ ।
साथै बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म धम्वोझी चोकमा शोकसभा गर्ने निर्णय भएको छ । आचार्यको निधनले सिंगो ब्यवसायी स्तब्ध भएको अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बताए । ‘सरकारको अव्यवहारिक र अनुचित नीतिका कारण उद्योग–व्यवसाय धराशायी बनेको छ । व्यवसायीहरु घर न घाटको अबस्थामा पुगेका छौँ,’ अध्यक्ष मन्सुरीले भने, ‘हाल उत्पन्न समस्या समाधान गर्दै सहज वातावरण निर्माणको पर्खाइमा बसेका व्यवसायी तथा जनतालाई सरकारका तर्फबाट राहत महसुस हुने कुनै कदम चालिएको छैन । हरेक क्षेत्रमा अनुचित र अव्यवहारिक नीति बनाउँदाको परिणाम स्वदेशमै रहेर इलम गर्ने सपना देखेका होनहार व्यवसायी प्रेमप्रसाद आचार्यले अत्यन्तै गम्भीर र मानव जिवनमा अस्वीकार्य कदम चाल्न बाध्य हुनुभयो ।’
अकल्पनिी घटनाले देशभरका उद्योगी–व्यवसायीलाई मर्माहत र पीडा दिएको महासचिव चिरन्जीवि ओलीले बताए । यो एउटा व्यक्तिको मृत्यु भएको सामान्य घटना नभएको संघले विज्ञप्ती मार्फत अगाडी भनेको छ, ‘हरेक क्षेत्रमा अब्यवहारिक नीति निर्माण गर्ने राज्य चलाउनेहरुको अनुहारमा कहिले पनि नमेटिने गरेर लागेको कालो धब्बा हो । आत्मदाह पूर्व आचार्यले उठान गरेको आर्थिक क्षेत्रका अव्यवहारिक नीतिको पीडा हरेक उद्योगी, व्यवसायीले भोग्नु परिरहेको छ ।’
अकल्पनिय यस घटनालाई गम्भीरतापूर्वक लिँदै निजी क्षेत्रलाई प्रताडित बनाउने नीति सच्याउन संघले माग गरेको छ ।