खोप नलगाएका बालबालिकामा दादुरा संक्रमण

बाँके, १० माघ, २०७९ ।


दादुरा विरुद्धको खोप नलगाएका कारण बाँकेका बालबालिकामा दादुरा संक्रमण भएको स्वास्थ्य कार्यालयले जनाएको छ । दुई सय ५१ दादुरा संक्रमित बालबालिकाको विश्लेषण गर्दा खोप नलगाएका एक सय १८ बालबालिकामा दादुरा पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले बताइन् ।
खोप लगाएको–नलगाएको थाहा नभएको २५ जना अभिभावकले बताएको र एक सय आठ जना खोप लगाएका बालबालिका भएको बताइन् । ‘खोप प्रति विश्वास नभएको र सामाजिक एवम् धार्मिक अन्धविश्वासका कारण खोप नलगाएको देखिन्छ,’ उनले भनिन्, ‘खोप नलगाएकै कारण दादुरा संक्रमण भएको एकिन गर्न सकिन्छ ।’
दादुरा पुष्टि भएका बालबालिकाको जातिगत विवरण पनि स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार सवैभन्दा धेरै ८३ प्रतिशत मुस्लिम बालबालिकामा दादुरा पुष्टि भएको छ । त्यसैगरी, दलित, मधेसी र जनजातिका पाँच–पाँच प्रतिशत तथा एक प्रतिशत बाहुन, क्षेत्री बालबालिकामा दादुरा पुष्टि भएको छ । ‘पहिलो चरणमा बाहुन, क्षेत्री बालबालिकामा दादुरा संक्रमण कम देखिएको थियो, तर अहिले यो समुदायमा पनि संक्रमण बढेको छ,’ उनले भनिन् ।
दादुरा संक्रमण हुनेमा पाँच वर्षभन्दा माथिका धेरै रहेको जनस्वास्थ्य प्रमुख पौडेलले बताइन् । उनले पाँच वर्ष माथिका एक सय ३६ बालबालिकामा दादुरा पुष्टि भएको बताइन् ।
त्यसैगरी, दुई–पाँच वर्ष उमेर समूहका ७०, १५ महिनादेखि दुई वर्षका १८, ९–१५ महिनाका १५ र ९ महिनाभन्दा कम उमेरका १२ बालबालिकामा दादुरा पुष्टि भएको छ । ‘दादुरा पुष्टि हुनेमा सानोभन्दा ठूलो उमेरका बालबालिका धेरै छन्,’ उनले भनिन् ।
बाँकेको नेपालगन्ज, खजुरा, डुडुवा र नरैनापुरमा दादुरा–रुवेला विरुद्धको खोप लगाउने कार्य जारी रहेको स्वास्थ्य कार्यालयका खोप अधिकृत नरेशबाबु श्रेष्ठले बताए । उनले ८९ हजार ४५८ लक्षित समूह मध्ये ९ माघसम्म ७९ हजार ९३५ बालबालिकालाई खोप दिइएको बताए । दादुरा फैलिएको पालिकामा ८९.४ प्रतिशत खोप प्रगति भएको छ । खोप लगाउन छुटेका बालबालिकालाई खोप लगाउने अभियान जारी छ,’ उनले भने ।
दादुराका कारण नेपालगन्ज उपमहानगरपालिका ५ का ३१ महिने एक बालकको मृत्यू भएको छ ।

Previous articleथारु सांस्कृतिक संरक्षण केन्द्र चखौराको अध्यक्षमा राजेश चौधरी निर्वाचित
Next articleअति प्रज्ज्वलनशील पदार्थ बोत्तल र जर्किनमा बिक्री वितरण गरे कारवाही गर्ने प्रहरीको चेतावनी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here