राज्यलाई दैनिक लाखौँ राजस्व दिने छोटी भन्सार कहिले पुनर्स्थापना हुन्छन् ?

नरैनापुर गाउँपालिका ४ स्थित छोटी भन्सारको जीर्ण कार्यालय भवन । तस्वीर : गोचाली खवर

बाँके, ८ माघ, २०७९ ।


नेपाल–भारत सीमानाकामा रहेका छोटी भन्सार पुनर्स्थापना गर्न राज्यले चासो नदिँदा अवैध चोरी पैठारी बढेको छ । द्वन्द्वकाल अघि नेपाल–भारत सीमा नाका अन्तरगत बाँकेको सुइया बघौडा, नरैनापुर, भगवानपुर, होलियाको खडैचा, हिरमिनियाको भंघोटना, साईगाउँ र उढरापुरमा छोटी भन्सार संचालनमा थिए ।
असुरक्षाको कारण देखाउँदै द्वन्द्वकालमा एकसाथ विस्थापित भएका ति छोटी भन्सार अहिलेसम्म पुनर्स्थापना नहुँदा राज्यलाई दैनिक लाखौँ रुपैँया राजस्व घाटा हुँदै आएको छ ।
विस्थापित भएपछि छोटी भन्सार कार्यालयका भवन र अन्य संरचना पनि भत्किएका छन् । संरक्षण नहुँदा छोटी भन्सार कार्यालयका भवन काम नलाग्ने भएको नेपालगन्ज भन्सार कार्यालयका भन्सार अधिकृत समेत रहेका सूचना अधिकारी डिल्लुप्रसाद शर्माले बताए । उनले नयाँ संरचना निर्माण भए मात्र छोटी भन्सार संचालन गर्न सकिने बताए । ‘अधिकांश ठाउँका छोटी भन्सार कार्यालय भवन भत्किएका छन् । बाँकी रहेका पनि जीर्ण भएर बस्न नमिल्ने अवस्थाका छन्,’ उनले भने, ‘नयाँ भवन नबनाउँदासम्म कार्यालय संचालन गर्न सकिने अवस्था छैन ।’
छोटी भन्सार पुनर्स्थापना नहुँदा राज्यलाई दैनिक लाखौँ रुपैँया राजस्व घाटा हुँदै आएको छ । विस्थापित हुनुअघि यी छोटी भन्सारले दैनिक सरदर एक लाख रुपैँया राजस्व संकलन गर्दै आएका थिए ।
छोटी भन्सार पुनर्स्थापना नभएपछि तस्कर र सर्वसाधारणले भारतबाट खुलेआम सामान ओसार पसार गर्दै आएका छन् । ‘छोटी भन्सार पुनर्स्थापना नहुँदा राजस्व संकलनको काम पूर्णरुपमा बन्द छ,’ उनले भने ।

खुला नाकाबाट खाद्यन्न र साना सामान ओसार पसार
यी नाकाबाट चिनी, खाने तेल, दाल, चामल, इलेक्ट्रिक, इलेक्ट्रोनिक्स लगायतका सामान ओसार पसार हुने गरेको छ । ‘ठूला गाडी र ल्याउन समस्या हुने सामान बाहेकका सामान यी नाकाबाट ओसार पसार भएको पाइन्छ,’ एक स्थानीयले भने, ‘भन्सार नहुँदा मनोमानी तरिकाले सामान ओसार, पसार भइरहन्छ । नाकामा खटिएका सुरक्षाकर्मीले मात्र रोक्न सक्ने कुरा भएन । अवैध सामान नियन्त्रणका लागि भन्सार कार्यालय आवश्यक छ । राज्यले चासो नदिँदा दैनिक लाखौँ रुपैँया राजस्व घाटा भइरहेको छ ।’
नेपालतर्फका छोटी भन्सार बन्द भएपछि भारतले पनि आफ्नो भन्सार कार्यालय बन्द गरेको छ । भारतले काउन्टर पार्ट भन्सार संचालनमा नल्याउँदासम्म नेपालका छोटी भन्सार संचालनमा ल्याउन नसकिने उनले बताए । ‘नेपाल एक्लैले चाहेर पनि छोटी भन्सार संचालन गर्न सकिदैन,’ उनले भने, ‘जिल्ला तहबाट पुनस्र्थापना गर्न असम्भव छ । केन्द्र सरकारले भारतसँग सल्लाह गरेर संचालन गर्ने नीतिगत ब्यवस्था गरेमात्र सम्भव छ ।’

नाकामा खटिएका सुरक्षाकर्मीलाई सास्ती
छोटी भन्सार रहेका ठाउँमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको कार्यालय छ । ति नाकामा यी सुरक्षाकर्मीले अवैध सामान ओसार पसार नियन्त्रणको काम गर्दै आएका छन् । नेपालगन्जबाट टाढा रहेकोले नियन्त्रणमा लिएका अवैध सामान भन्सार गर्न समेत समस्या भएको सुरक्षाकर्मीले गुनासो गरेका छन् । ‘एक त अवैध सामान नियन्त्रण गर्न समस्या छ । नियन्त्रण गर्ने बेला अनेकौँ थरिका बाधा अड्चन आइलाग्छन् । बल्लतल्ल नियन्त्रणमा लिएको सामान बुझाउन नेपालगन्ज आउँदा झनै समस्या झेल्नु पर्छ,’ एक सुरक्षाकर्मीले नाम नबताउने सर्तमा भने, ‘छोटी भन्सार पुनस्र्थापना नहुँदा नाकामा खटिएका सुरक्षाकर्मी दोहोरो मारमा छौँ ।’

दुई वटा छोटी भन्सार संचालन गर्ने तयारी
बाँकेमा रहेका सात छोटी भन्सार मध्ये दुई वटा संचालनमा ल्याउने तयारी गरिएको भन्सार अधिकृत शर्माले बताए । नरैनापुर र साईगाउँ छोटी भन्सार संचालनमा ल्याउने तयारी गरिएको उनले बताए । तर, यी ठाउँका भवन पनि भत्किएर काम नलाग्ने अवस्थामा छन् । ‘दुई वटा छोटी भन्सार एक महिना भित्र संचालन गर्ने तयारीमा छौँ,’ उनले भने ।
उनले कर्मचारी र भवनको ब्यवस्थापन गरि विस्थापित दुई वटा छोटी भन्सार संचालनमा ल्याइने बताए । उनले सुईया बघौडा, हिरमिनियाको भंघोट्ना, साईगाउँ र भगवानपुरमा भवन नभएको बताए । त्यसैगरि, होलियाको खडैचास्थित छोटी भन्सारको भवन पनि भत्किएर काम नलाग्ने भएको छ । ‘सवैभन्दा धेरै मानिसको आउजाउ हुने सामान निकासी, पैठारी हुने ठाउँका छोटी भन्सारलाई प्राथमिकतामा राखेर संचालन गर्ने सोँच नेपालगन्ज भन्सार कार्यालयले बनाएको छ,’ शर्माले भने ।

Previous articleउपसभामुखमा रास्वपाकी इन्दिरा राना मगर निर्वाचित
Next articleसिकलसेलको औषधि स्वास्थ्य वीमामा समेट्ने स्वास्थ्य मन्त्रीको प्रतिवद्धता, भेरी अस्पतालको निरीक्षण (फोटोहरु)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here