महतोले खिचेको तस्बिर नेपाली सेनाबाट पुरस्कृत

काठमाडौं । नेपाली सेनाले आयोजना गरेको फोटो प्रतियोगितामा अन्नपूर्णकर्मी राजकरण महतोले खिचेको तस्बिर पुरस्कृत भएको छ। नेपाली सेना दिवसको अवसरमा महतोलाई गैरसैनिक विधामा प्रधानसेनापति प्रभुराम शर्माले २५ हजार नगदसहित पुरस्कृत गरेका हुन्। महतोलाई अवार्ड र प्रशंसापत्र पनि प्रदान गरिएको थियो।

नेपाली सेनाले सञ्चालन गरेको एनसीसी ट्रेनिङमा मधेसका छोरीहरू सहभागी भएको तस्बिर महतोले खिचेका थिए। महोत्तरीको बर्दिवास नगरपालिका-९ पशुपतिनगरस्थित राष्ट्रिय मावि पशुपतिनाथ बनरझुल्लाका विद्यार्थीहरूले राष्ट्रिय सेवा दलले सञ्चालन गरेको तालिमको तस्बिर खिचेका थिए।

सोही विधामा संजोग बुढाथोकीले खिचेको तस्बिरले प्रथम पुरस्कार पायो भने वर्षा शाहले खिचेको तस्बिरले तेस्रो पुरस्कार पायो। उनीहरूले जनही ५० हजार र ३० हजार रूपैयाँ पाए।

त्यस्तै रत्नकृष्ण श्रेष्ठले सान्त्वना पुरस्कार प्राप्त गरे। प्रतियोगितामा एक हजार पाँच सय फोटो प्राप्त भएको नेपाली सेनाले जनाएको छ। त्यसमध्ये सैनिक तथा गैरसैनिकतर्फ पुरस्कारका लागि १६ वटा तस्बिर छनोट भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले आयोजना गरेको चार दिने फोटो तथा युनिट विशेष प्रदर्शनीको प्रधानसेनापति शर्माले शुक्रबार उद्घाटन गरे। प्रदर्शनीमा नेपाली सेनाको गैरवमय इतिहास, जिम्मेवारी, हातहतियार, उपकारण, पोसाकलगायत विभिन्न विधा समेटिएको छ। सेनाको इतिहासदेखि वर्तमानसम्म एउटै थलोबाट सबैलाई जानकारी होस् भन्ने हेतुले प्रदर्शनी आयोजना गरिएको नेपाली सेनाले जनाएको छ।

Previous articleजिल्ला स्तरिय अन्तर विद्यालय छात्र छात्रा फुटसल सुरु
Next articleकम्बोडियाबाट बिर्तामोड ल्याइयो निराकार पाण्डेको शव

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here