बाँके, २३ पुस, २०७९ ।
अत्याधिक चिसो बढेपछि बाँकेका अधिकांश विद्यालयको पठनपाठन बन्द गरिएको छ । डुुडुवा गाउँपालिकाका सम्पूर्ण शैक्षिक संस्था २४–२९ पुससम्म बन्द गरिएको गाउँपालिकाले जनाएको छ ।
केही दिनदेखि बढेको अत्याधिक चिसोका कारण विद्यार्थीको स्वास्थ्यमा समस्या आउन सक्ने र विद्यालयमा पठनपाठन प्रक्रियामा असहज वातावरण भएपछि आइतबारदेखि ६ दिनका लागि शैक्षिक संस्था बन्द गरिएको शिक्षा शाखा प्रमुख संजयकुमार कर्णले बताए । ‘गाउँपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक विद्यालय, मदरसा, गुरुकुल र बालविकास तथा संस्थागत विद्यालयहरु ६ दिनका लागि बन्द गरिएको छ,’ शिक्षा शाखा प्रमुख कर्णले जारी गरेको सूचनामा उल्लेख छ ।
सामुदायिक विद्यालयमा जारी परीक्षा स्थगित गरिएको छ । बाँकी विषयका परीक्षा विद्यालय खुलेपछिसंचालन हुने समेत सूचनामा उल्लेख गरिएको छ ।
यसैवीच, नेपालगन्ज उपमहानगरपालिका भित्रका विद्यालय पनि बन्द भएका छन् । २४–२८ पुससम्म नेपालगन्जका विद्यालय बन्द गर्ने निर्णय भएको शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापाले बताए । उनले १–३ सम्मको कक्षा २८ पुससम्म र त्यसभन्दा माथिका कक्षा पुस २७ सम्म बन्द गरिएको बताए ।