बाँके, २२ पुस, २०७९ ।
तराई–मधेसमा एक सातादेखिको शीतलहर बढ्दै गएको छ । मौसम पूर्वानुमान महाशाखाले नेपालगन्जदेखि सिमरा (मध्य तराई) मा मध्यम शीतलहरको घोषणा गरेको छ । पश्चिम तराई (नेपालगन्जदेखि महेन्द्रनगर) मा मन्द शीतलहर भएको महाशाखाले जनाएको छ ।
सिमराभन्दा पूर्वको तराईमा न्यूनतम तापक्रम घटेर चिसोको लहर बढेको छ । तराईका धेरै भूभागमा अधिकतम र न्यूनतम तापक्रमको अन्तर निकै घट्दा शीतलहर बढेको महाशाखाको विशेष बुलेटिनमा उल्लेख छ ।
मंगलबार मात्र मध्य तराईमा मन्द शीतलहरको घोषणा गरेको महाशाखाले बिहीबार मध्ययम अवस्थामा पुगेको जनाएको छ । ‘सिमरादेखि नेपालगन्जका अधिकांश भूभागमा मध्यम किसिमको शितल देखिएको छ, र नेपालगन्जदेखि पश्चिम तराईका भूभागमा मन्द शितलहरको अवस्था देखिएको छ,’ महाशाखाले भनेको छ, ‘सिमराभन्दा पूर्वमा पनि न्यूनतम तापक्रम घटेर चिसोको लहर बढेको छ ।’
यो अवस्था अझ १–२ दिनसम्म कायम रहने सम्भावना महाशाखाले औँल्याएको छ । विगत पाँच दिन (१७ पुस) देखि तराईमा दिनभर हुस्सु, कुहिरो लाग्दै आएको छ । जसकारण धनगढी, नेपालगन्ज, भैरहवा, सिमरा, जनकपुर क्षेत्रको अधिकतम तापक्रम औसतभन्दा ५ डिग्री सेल्सियस भन्दा बढीले घटेको छ । ती स्थानमा अधिकतम र न्यूनतम तापक्रमबीच १.९ देखि पाँच डिग्री सेल्सियसभन्दा कम भिन्नता आएको देखिन्छ ।
हेर्नुस् भिडियो :