नरैनापुरका हस्मत अली साइँ : जसले भारतीय तरकारी विस्थापित गर्ने अभियान चलाए (फोटो फिचर)

हस्मतको बारीमा उत्पादन भएको तरकारी देखाउँदै उनकी पत्नी हसिना । तस्विर : गोचाली खवर

बाँके, १९ पुस, २०७९ ।


पाँच वर्षअघि हस्मत अली साइँ (६०) भारतीय तरकारीमा निर्भर थिए । भारतीय किसानले उत्पादन गरेको तरकारी नआए उनको परिवारले हरियो तरकारी खान त के देख्न समेत पाउँदैनथे । तरकारी नपाउँदा उनको परिवारले नुन, खुर्सानीको चट्नी र ढिके नुनसँग भात खान्थे । भारतीय किसानले उत्पादन गरेमात्र हरियो सागसब्जी, काउली, बन्दा, भन्टा, खुर्सानी खाने साइत जुर्थ्यो उनको ।
उनीमात्र नभई नरैनापुरका अधिकांश परिवार भारतीय तरकारीमा निर्भर थिए । यहाँका सर्र्वसाधारण तरकारी किनमेल गर्न भारतीय बजार जमुनाह पुग्थे । नरैनापुरवासीको मागलाई मध्यनजर गर्दै कतिपय भारतीय तरकारी बेच्न नरैनापुरका गाउँ–गाउँ पुग्थे । तर, अहिले समय फेरिएको छ । हस्मत अलि साइँ हरेक छाक हरियो तरकारीसँग भात खान्छन् । उनले आफू मात्र नभई नरैनापुरका अधिकांश सर्वसाधारणलाई हरियो तरकारी खुवाउँन लालायित छन् । ‘पहिले ढिके नुनसँग भात खाइन्थ्यो, तर अहिले तरकारी भएन भने भात, रोटी घाँटी छिर्दैन,’ उनले भने ।
घर छेउको १० कट्ठा जमिनमा ब्यवसायिक तरकारी खेती गरेका उनी विहान–बेलुका तरकारी बारीमा काम गर्छन् । तरकारी बारीको काम पत्नीलाई जिम्मा दिएर उनी दिउँसोको समयमा तरकारी विक्रि गर्न गाउँ–गाउँ पुग्छन् । ‘घरदेखि १५ किलोमिटर टाढासम्म तरकारी विक्रि गर्न पुग्छु,’ उनले भने । हस्मत अली साइँ नरैनापुरमा ब्यवसायिक तरकारी खेती गर्ने पहिलो र एक्ला किसान हुन् ।

आफूले उत्पादन गरेको काउली देखाउँदै अगुवा कृषक हस्मत अली साइँ ।


उमेरले पाका भए पनि उनी हिम्मतिला छन् । उमेर छिपिए पनि काममा यूवाभन्दा कम छैनन् उनी । बारीको तरकारीलाई उनले आफ्नो बालबच्चा जस्तै माया गर्छन् । राम्रोसँग हुर्काउन समयमा पानी र मल हाल्छन् । रोगब्याधी लाग्न नदिन समय–समयमा औषधी छर्किन्छन् । गोड्मेल गरेर झार हटाउँछन् । तरकारीमा कुनै समस्या आउन नदिन उनी दिनरात नजर लगाउँछन् । ‘बारी छोडेर मलाई कहिँकतै जान मन लाग्दैन । चराले आफ्ना बच्चालाई काखिमा च्यापेर बसे जस्तै मलाई पनि तरकारी बारीमा बसिरहन मन लाग्छ । एकदिन बारी छोड्दा मरे जस्तै लाग्छ,’ उनले भने ।
पहिले उनी धान खेतीमात्र गर्थे । राप्ती नदीमा आएको बाढीले एक–एक गरि सवै जमिन बगर बनाए पछि उनी बेघरवार भए । नदीसँग जुध्न नसकेपछि उनी आफ्ना लालावाला लिएर जंगल छेउ (नयाँवस्ती) पुगे । यहाँ उनले खोरिया फाँडेर १० कट्टा जमिन बनाए । अहिले सोही जमिन हस्मतले तरकारी खेती गर्दै आएका छन् ।
पुख्र्यौली जमिन नदीले बगर बनाए पछि उनी निराश भए । खोरिया फाँडेर बनाएको जमिनमा उत्पादन भएको अन्नपातले सात जनाको परिवार पाल्न मुस्किल परिरहेको थियो । उनले मजदुरीका लागि भारत या नेपालगन्ज जाने निर्णय पत्नीहरुलाई सुनाए । तर उनका दुवै पत्नीले मजदुरीका लागि बाहिर नजान सुझाव दिए । त्यसपछि उनले आफ्नै बारीमा तरकारी खेती गर्ने योजना बनाए । र, अघि सरे ।


उनले पहिलो वर्ष बन्दा गोभी र टमाटर लगाए । तर, उनले उत्पादन गरेको तरकारी भन्दा भारतीय तरकारी सस्तो भएकोले विक्रि भएन । बन्दा गोभी र टमाटर सडेर खेर गयो । ‘बन्दा गोभी विक्रि नभएर धेरै घाटा लाग्यो । त्यसपछि लगाउन छाडेँ,’ उनले भने ।
यो समयमा उनको बारीमा तीन किलोग्रामका काउली छन् । उनले अहिलेसम्म १० क्विन्टल काउली विक्रि गरिसके । अझैँ १० क्विन्टल काउली बारीमै छ । टमाटर फलेर पाक्ने तर्खरमा छ । एकथरिको काउली विक्रि भइरहेको छ । अर्को थरि काउली तयार हुँदैछ । अर्को बारीमा भर्खरै काउली रोपेको उनले बताए । ‘एकै पटक धेरै उत्पादन गर्दा विक्रि गर्न सकिदैन । अलि–अलि गरि रोप्दा विक्रि गर्न सजिलो हुन्छ । ग्राहकले सधैँभरि तरकारी पनि पाइरहन्छन्,’ हस्मत अलीले भने ।
उनीसँग दुई पत्नी र दुई छोरा छन् । दुई छोरीको विवाह यसअघि नै गरिसकेका छन् । उनको परिवार यहि तरकारी खेतीबाट पालिएको छ । दुई छोरालाई कक्षा ८ सम्म पढाएका हस्मतले दुई छोरीको विवाह पनि तरकारी खेतीबाट भएको आम्दानीले गरे । ‘अरु आउने स्रोत केहि छैन । घरको सवै खर्च यहि तरकारी खेतीबाट भएको आम्दानीले चलाउँदै आएका छौँ,’ उनले भने ।
उनले तरकारी पैँसाले बेच्दैनन् । धान, गहुँ, मसुरी, तोरीसँग साट्छन् । गाउँघरमा पैँसा नहुने भएकोले अन्नवालीले तरकारी किन्ने गरेको उनले बताए । धान, गहुँको मूल्यको आधारमा तरकारी दिने गरेको उनले सुनाए । ‘पैँसाभन्दा अन्नसँग तरकारी साट्न सजिलो मान्छन्,’ उनले भने, ‘तरकारी बेचेर जम्मा भएको अन्न घरमै आएर ब्यापारीले लैजान्छन् । केहि घरपरिवारले खान्छौँ ।’


उनले तरकारी बारीमा रासायनिक मल एकदमै कम हाल्छन् । उनले आफ्नो गोठबाट निस्केको मल बारीमा प्रयोग गर्छन् । त्यसले नपुगेपछि गाउँबाट कम्पोष्ट मल किनेर प्रयोग गर्छन् । रासायनिक मल र विषादी प्रयोग भएको तरकारीले मानव स्वास्थ्यमा नकारात्मक असर पर्ने थाहा पाएपछि कम्पोष्ट मलमा जोड दिएको उनी बताउँछन् । ‘यूरिया, डिएपी र पोटास कहिलेकाँहीमात्र हाल्छौँ । विषादी नछर्कि नहुने भएपछिमात्र छर्किन्छौँ,’ हस्मतले भने ।
हस्मतले तरकारी उत्पादन गरेपछि भारतीय तरकारीको भर पर्ने अवस्थाको अन्त्य भएको नरैनापुर गाउँपालिका ५ का अगुवा विनय दिक्षितले बताए । उनले भारतीय तरकारी भन्दा स्थानीय किसान हस्मतले उत्पादन गरेको तरकारी ताजा र मिठो भएको जिकिर गरे । हस्मतले उत्पादन गरेको तरकारीमा रासायनिक मल र विषादी एकदमै कम प्रयोग भएको देखेपछि यहाँका अधिकांशले उहाँले उत्पादन गरेको तरकारी खान थालेका छौँ,’ उनले भने, ‘यहाँको तरकारी ताजा र अर्गानिक भएकोले मिठो पनि हुन्छ ।’

फोटो : गोचाली खवर


ताजा तरकारी खुवाउन उनी लालायित छन्, तर उनीसँग विक्रि गर्ने साधन छैन । दिनभर साइकल ठेला चलाउँदा उनी थाक्छन् । साइकल ठेला चलाएर तरकारी बेच्दा धेरै पटक ज्वरो आएको छ । तै पनि उनले हिम्मत हारेका छैनन् ।
तरकारी बेच्नका लागि सानो गाडी किन्ने जुगाडमा छन्, तर तरकारीबाट भएको आम्दानीले घर खर्च चलाउन ठिक्क छ । उनले कहिँकतैबाट गाडी किन्ने अनुदानको खोजीमा छन् । तर, अनुदान दिने सरकारी कार्यालयका कर्मचारीसम्म जाने पहुँच उनीसँग छैन । न त अनुदानका लागि खुल्ने सूचनानै थाहा पाउँछन् उनले । ‘तरकारी विक्रि गर्ने गाडी भइदिएको भए नरैनापुरमा भारतीय तरकारी आउन बन्द गराइदिन्थे,’ उनले भने, ‘गाउँ–गाउँमा पुगेर यहाँका सर्वसाधारणलाई ताजा र अर्गानिक तरकारी खुवाउँथे ।’
उनले कृषि ज्ञान केन्द्र र नरैनापुर गाउँपालिकाका जनप्रतिनिधिलाई आफूले गरेको तरकारी खेती अवलोकन गरिदिन आग्रह गरेका छन् । ‘अनुदान वा आर्थिक सहयोग दिनुपर्छ म भन्दिन । एक पटक आएर अवलोकन गरिदिए मलाई ठूलो हौसला मिल्ने थियो । अझ धेरै उत्पादन गर्न उर्जा प्रदान हुने थियो,’ उनले भने ।
नरैनापुर गाउँपालिका कृषि शाखाले हस्मतलाई आवश्यक आर्थिक एवम् प्राविधिक सहयोग गर्ने शाखा प्रमुख सदन भण्डारीले बताए । उनले कृषकको माग बमोजिम सहयोग गर्दै आएको बताउँदै हस्मतले सहयोग माग गरे सहयोग गर्न सकिने स्पष्ट पारे । ‘तरकारी खेतीलाई प्रोत्साहन गर्न गाउँपालिकाले विशेष नीति लिएको छ । माग भए सहयोग गर्न सकिन्छ,’ उनले भने ।

फोटो : गोचाली खवर

फोटो : गोचाली खवर

फोटो : गोचाली खवर

फोटो : गोचाली खवर

Previous articleसुधार गृहबाट भागेका चार बालक प्यूठानबाट पक्राउ
Next articleशितलहरले आजित ज्येष्ठ नागरिक न्यानो सिरक पाउँदा खुुुसीले गद्गद (फोटो फिचर)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here