कालीकोट । बलात्कार पछि हत्या गरिएकी कालीकोटकी निरु विकको न्यायका लागि शनिबार सदरमुकाम मान्म बजारको प्रतिमा चोकमा सडक बहस गरिएको छ । निरुलाई न्याय माग्दै अभियान संस्था चे फोर्सले मान्मले बहस गरेको हो ।
निरु विकको न्यायका लागि गृहमन्त्रीलाई ज्ञापन पत्र, निरुको न्यायका लागि हस्ताक्षर संकलन र सडक बहस समेत गरिएको चे फोर्स नेपालका कर्णाली प्रदेश बिग्रेड कमाण्डर हिक्मतजंग मल्लले बताए । २०७८ भदौ ४ गते हत्या गरिएकी विकको हत्यारा पक्राउ गर्न माग गर्दै सडक बहस गरिएको हो ।
हत्याको १६ महिना बित्दा पनि हत्यारा पत्ता नलाग्नु कानूनी शासनको उपहास भएको मल्लको भनाइ छ । यस्ता घटनामा पीडितलाई न्याय दिन प्रशासन गम्भीर हुनुपर्ने उनले बताए । बुधबार मात्र चे फोर्स नेपालका युवाले विकलाई न्याय माग्दै गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएका थिए । जिल्ला प्रहरी प्रमुख डफएसपी जयश्वर रिमालले घटनाको अनुसन्धान जारी रहेको बताए ।