मानव वेचविखन विरुद्ध संयन्त्र बनाउन दुई देसका अधिकारी प्रतिवद्ध

बाँके, १५ पुस, २०७९ ।


नेपाल–भारतका सुरक्षा अधिकारी मानव बेचविखन विरुद्धको अभियानमा सघाउन अन्तरदेशीय संयन्त्र बनाउन प्रतिवद्ध भएका छन् । नेपाल–भारत सीमावर्ती जिल्लाका सुरक्षा अधिकारीहरु एक भएर मानव बेचविखन रोकथाम गर्न अन्तरदेशीय संयन्त्र निर्माण गर्न प्रतिवद्धता जनाएका हुन् ।
माइती नेपालले नेपालगन्जमा आयोजना गरेको ‘मानव बेचविखन विरुद्ध क्रस बोर्डर वर्कसप’ मा सहभागी सीमावर्ती जिल्लाका सुरक्षा अधिकारीले मानव वेचविखन रोक्न अन्तरदेशीय संयन्त्र निमार्ण गरेर अगाडी बढ्न एकमत भएको माइती नेपाल नेपालगन्जका प्रमुख केशव कोइरालाले बताए ।
मानव बेचविखन दुवै देसको साझा समस्या भएकाले यसको रोकथाम गर्ने दायित्व दुवै देसका सुरक्षाकर्मी र सरोकारवाला निकायको भएको औँल्याइएको थियो । ‘दुवै देसका सुरक्षा अधिकारीहरु, स्थानीय सरकार, गैरसरकारी संघसंस्थाका पदाधिकारीहरु मानव बेचविखनविरुद्धको लडाइँमा एकजुट भएर जाने सहमति भएको छ,’ उनले भने ।
मानव बेचविखनमा परेकाहरुको उद्धार गर्ने दुवै देसमा संयन्त्र नभएका बेला नेपाल–भारतका सुरक्षा अधिकारी र संघसंस्थाको पहलमा उद्धार हुँदै आएको छ । मानव बेचविखनविरुद्ध काम गरेका संघसंस्थाले उद्धार संयन्त्र बनाउन जोड दिएपछि दुई देसका सुरक्षाकर्मी संयन्त्र बनाउन सहमत भएकाछन् । ‘उद्धार संयन्त्र राज्य स्तरबाटै निर्माण भइ कार्यान्वयन भए बेचविखनमा परेकाको उद्धार तथा पुनस्र्थापना गर्न कानूनी अड्चन ब्यहोर्न नपर्ने महशुस गराएका छौँ,’ माइती नेपालका कोइरालाले भने ।
नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले खुल्ला नाकाका कारण मानव बेचविखन रोकथाम चुनौतीपूर्ण रहकेकाले दुवै देशका सुरक्षा अधिकारी, स्थानीय सरकार र संघसंस्था मिलेर अघि बढ्नुपर्ने बताए । बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले मानव बेचबिखनको मुद्दा दुई देसको अन्तरदेशीय सुरक्षा अधिकारीको बैठकबाट संयन्त्र निर्माण गर्ने प्रतिवद्धता जनाए ।
भारतीय सशस्त्र सुरक्षा वल (एसएसवी) ४२ नम्बर बटालियनका कमाण्डर तपनकुमार दासले मानव बेचविखन रोकथामका लागि दुवै देसका सुरक्षा अधिकारी वीच निरन्तर छलफल र समन्वय हुनुपर्ने बताए ।

Previous articleसुधार गृहबाट भागेका चार बालक अझैँ बेपत्ता
Next articleट्रकको ठक्करबाट दैलेखका दर्लामीको नेपालगन्जमा मृत्यू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here