बाँके, १४ पुस, २०७९ ।
अति आवश्यक काम बाहेक किनमेलका लागि भारतीय बजार नजान जिल्ला कोभिड ब्यवस्थापन केन्द्र (डिसिएमसी) ले आग्रह गरेको छ । भारतमा कोरोनाको नयाँ भेरियन्ट वीएफ डट ७ को संक्रमण फैलिएपछि डिसिएमसीले अति आवश्यक काम बाहेक किनमेलका लागि भारत नजान आग्रह गरेको हो ।
भारतबाट फर्किने एक नेपालीमा कोरोना पुष्टि भएपछि यसबाट जोगिन सजगता अपनाउन समेत डिसिएमसीले सचेत गराएको छ । नेपाल–भारत सीमा नाका जमुनाहस्थित हेल्थ डेस्कमा विहीवार जाँच गर्दा भारतबाट फर्किदै गरेकी जाजरकोटकी ३० वर्षीया महिलामा कोरोना पुष्टि भएको डिसिएमसीका फोकल पर्सन तेज ओलीले जानकारी दिए ।
विहीवार कोरोना पुष्टि भएका महिलालाई होम आइसोलेनसमा राख्ने ब्यवस्था मिलाइएको छ । उक्त महिलामा पुष्टि भएको कोरोना कोभिडको नयाँ भेरियन्ट विएफ डट ७ संक्रमण हुन सक्ने आशंका गरिएको छ । ‘जिन सिक्वेन्सिङ नगर्दै यहि भेरियन्ट हो भन्न मिल्दैन, तर भारत, चीन लगायत विश्वका अन्य देसमा विएफ डट ७ फैलिएकोले त्यहि हुन सक्ने हाम्रो अनुमान हो,’ उनले भने ।
यसैवीच, डिसिएमसीको विहीवार बसेको बैठकले कोरोना सम्बन्धि सचेतना फैलाउने, जमुनाह नाकामा फेला परेका संक्रमितलाई होम आइसोलेशनमा राख्ने ब्यवस्था मिलाउने र स्वास्थ्य मापदण्ड अपनाउने ब्यवस्था मिलाउने निर्णय गरेको छ ।