बाँके, १२ पुस, २०७९ ।
बाँकेमा वर्षकै चिसो महशुस गरिएको छ । ३१ जनवरी, २०२२ मा वर्षकै सवैभन्दा चिसो मापन भए पनि यस वर्षको सवैभन्दा चिसो मंगलवार गरिएको जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय नेपालगन्जका प्रमुख पलबहादुर विकले बताए ।
३१ जनवरी, २०२२ मा न्यूनतम तापक्रम ६ दशमलव र अधिकतम तापक्रम २० दशमलव ९६ डिग्री सेल्सियस थियो । २७ डिसेम्बर अर्थात मंगलवारका दिन बाँकेको न्यूनतम तापक्रम ८ डिग्री र अधिकतम तापक्रम ११ दशमलव ६ रहेको थियो । ‘न्यूनतम कम भए पनि अधिकृतम धेरै भए चिसो महशुस कम हुन्छ । ३१ जनवरीको भन्दा २७ डिसेम्बरमा न्यूनतम तापक्रम बढि भए पनि अधिकतम तापक्रम जनवरीको भन्दा २७ डिसेम्बरमा कम भएकोले सर्वसाधारणले चिसो महशुस धेरै गरेका हुन्,’ उनले भने, ‘मंगलवार घाम लागने र चिसो हावा चलेकोले अधिक चिसो महशुस भएको हो ।’
२५ डिसेम्बर, २०२२ मा न्यूनतम तापक्रम ८ दशमलव ७ र अधिकतम तापक्रम २३ दशमलव ६ रहेको थियो । २६ डिसेम्बरमा अधिकतम तापक्रम २३ दशमलव ८ र न्यूनतम तापक्रम १० दशमलव २ रहेको जल तथा मौसम विज्ञान फिल्ड कार्यालय नेपालगन्जले जनाएको छ ।
चिसो हावा चलेका कारण अधिक चिसो महशुस गरिएको नेपालगन्ज उपमहानगरपालिका २, घरबारी टोलका गोपाल ओलीले बताए । उनले चिसो हावाले बाहिर निस्कन नसकेको बताए । ‘दिनभर घाम लागेन, चिसो हावाले मुटु काप्यो,’ उनले भने ।
चिसाका कारण नेपालगन्ज, कोहलपुर, राँझा, खजुरा लगायत सहर सुनसान भएका छन् । किनमेल गर्ने ग्राहक नआउँदा ब्यापारीहरु हिटर तापेर बसेका थिए ।