दाङ (फुर्केसल्ली), ७ पुस, २०७९ ।
दंगीशरण गाउँपालिका १ फुर्केसल्ली र मलईमा ६ महिनामात्र गाडी पुग्छ । दाङ उपत्यकाको दक्षिण–पश्चिमको चुरे पर्वतमा रहेको यो ठाउँलाई घना जंगलले घेरेको छ । बाँके राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रमा पर्ने यो ठाउँका सर्वसाधारणले दाउरा सहजै प्रयोग गर्न पाउँदैनन् । बस्ती नजिकै खोलामा कलकल पानी बग्छ, तर शुद्ध खानेपानीको सुविधा छैन् ।
तुलसीपुरदेखि झण्डै ४० किलोमिटर दक्षिण–पश्चिममा पर्ने यहाँका सर्वसाधारणलाई सामान्य कामका लागि पनि दाङ उपत्यका झर्नु पर्छ । पहाडको खाँेच र समथर भागमा बसोबास गर्दै आएका यहाँका नागरिक राज्यले उपेक्षा गर्दा यस्ता धेरै पीडा भोग्न बाध्य छन् ।
यहाँका अधिकांश ब्यक्तिसँग एन्ड्रोइड मोवाइल छ, तर इमरजेन्सी परेको बेला समेत आफन्तसँग फोनमा कुराकानी गर्न पाउँँदैनन् । ‘इमरजेन्सी पर्दा समेत परिवारका सदस्य र आफन्तसँग कुराकानी गर्न नपाउँदा मन खिन्न हुन्छ । मोवाइल टावर नहुँदा फोन गर्न घण्टौं हिडेर अग्लो डाँडामा जानु पर्छ,’ दंगीशरण गाउँपालिका १ फुर्केसल्लीका झुपलाल घर्तीले भने ।
यहाँका नागरिकले मोवाइल टावरका लागि सम्बन्धित निकायमा पटक–पटक धाए । मन्त्री, नेता, गाउँपालिकाका पदाधिकारीसँग हारगुहार गरे । तर कसैले उनीहरुको माग सुनुवाई गरेनन् । टावर निर्माणका लागि सम्बन्धित निकायसँग पटक–पटक माग गर्यौँ । निर्वाचनका बेला प्रचार प्रसार गर्न आएका नेतालाई भन्यौँ, तर अहिलेसम्म कसैले हाम्रो आवाज सुनेनन्,’ उनले भने, ‘अव त भन्न पनि मन लाग्दैन ।’
नेपाल टेलिकमले टावर निर्माण गर्न सर्भे टोली पठाए पनि अहिलेसम्म चासो नदिएको स्थानीय गुमानसिंह दमाईले गुनासो गरे । ‘सर्भे गरेपछि आशा पलाएको थियो । एक वर्षसम्म नआएपछि आशा मरिसक्यो,’ उनले भने ।
फुर्केसल्लीको फोन गर्ने ठाउँ देउराली डाँडा
दंगीशरण गाउँपालिका १ कालीताराका ६५ वर्षिय डण्डबीर बिक ३ मंसिरमा दुई घण्टा हिडेर फोन गर्न देउराली डाँडा पुगे । उनको घरमा मोबाइलको सिग्नलले काम नगर्ने भएपछि उनी छोराछोरी, नातीनातिनीसँग कुरा गर्न देउराली डाँडा पुग्ने गर्छन् ।
देउराली डाँडा बाहेक अन्य अग्लो ठाउँमा मोबाइलको सिग्नलले काम गर्छ, तर त्यहाँ पुग्न अझ धेरै समय लाग्छ । ‘मोवाइलको सिग्नलले काम गर्ने भनेको देउराली डाँडा हो, त्यहाँ पुग्न पनि दुई घण्टा लाग्छ,’ उनले भने, ‘न्यास्रो लागेपछि उनलाई गाउँभन्दा टाढा रहेका परिवारका सदस्यसँग कुराकानी गर्न मन लाग्छ, तर मन लागेको बेला कुरा गर्न पाइदैन ।’
दंगीशरण गाउँपालिका १ फुर्केसल्लीमा पाहुना भएर आएकी भक्तपुरकी २६ वर्षीया निता घर्ती पनि फोन गर्न देउराली डाँडा पुगिन् । १५ घण्टासम्म परिवारका सदस्यसँग फोन सम्पर्क नभएपछि उनी देउराली डाँडा पुगेर फोन गरिन् । ‘१५ घण्टासम्म परिवारका सदस्यसँग कुरा नभएपछि मन आत्तियो । मन थाम्न नसकेपछि दुई घण्टा हिडेर देउराली डाँडा पुगेँ,’ उनले भनिन् ।
सरकारले घर–घरमा वाईफाई, हातहातमा फोन भन्ने नारा दिए पनि मलई, फुर्केसल्ली, कालितराका नागरिकलाई उक्त नाराले गिज्याइ रहेको छ । यहाँका फुर्केसल्ली, हाउरे, साङ्ले, लामितरा, कोट, ठाँटी, कालितरा र बुका खोलाका एक सय ६४ परिवार मोवाइल सेवाबाट बञ्चित छन् ।
इन्टरनेट सुविधा नभए पनि मोवाइल सेवा संचालन गर्न स्थानीय दुजा बुढामगरले माग गरे । ‘अहिले देसका विभिन्न स्थानमा घरमै नेट चलाउने सुविधा छ । हामीलाई घरमै बसेर फोन गर्ने सुविधा दिनुस भन्दा कसैले सुन्दैन । घरमै बसेर फोन गर्ने दिन कहिले आउँला ?,’ उनले भने ।
पाखापानीमा टावर निर्माण गर्न सर्भे, तर भएन निर्माण
फुर्केसल्लीको पाखापानीमा टावर निर्माण गर्न नेपाल टेलिकमले सर्भे गरेर यहाँका नागरिकको आँखामा छारो हाल्ने काम गरेको वडा अध्यक्ष रमेश भण्डारीले बताए । उनले सर्भे भएको ठाउँमा टावर निर्माण गरेर मोवाइल सेवा संचालन गर्न माग गरेका छन् । ‘घर–घरमा नेट सेवा, हात हातमा मोवाइल फोन भन्ने नारा साकार पार्न सम्बन्धित निकायले टावर निर्माण गर्न पहल गरोस,’ उनले भने ।