बाँके, ६ पुस, २०७९ ।
पार्वती (४२) नाम परिवर्तन । उनी नेपालगन्जमा बस्छिन् । उनको पेशा भारतीय बजार रुपइडिहाबाट सामान ओसारपसार (क्यारिङ) गर्ने हो । उनी ब्यापारीको सामान ओसारपसार गर्न दिनको तीन पटकसम्म रुपइडिहा पुग्छिन् । नाकामा खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कार्यालयका कर्मचारीको आँखा छलेर उनी व्यापारीले मागेको सामान नेपालगन्ज पुर्याउँछिन् ।
सुरक्षाकर्मी र भन्सार कर्मचारीको आँखा छल्न उनले हरेक दिन पहिरन परिवर्तन गर्छिन् । रुप बदलिन्छिन् । कुनै कुनै बेला प्रहरीलाई झुक्याउन रुट परिवर्तन पनि गर्छिन् । ‘कुनै कुनै बेला प्रहरी र भन्सार कर्मचारीहरु हामी हिड्ने बाटोमा आइदिन्छन् । त्यसबेला मौका पाउन मुस्किल पर्छ । अनि मौका छोप्दाछोप्दै रात छिपिन्छ,’ ति महिलाले भनिन्, ‘यो काम गर्न समयको सीमा हुँदैन । कुनै बेला मध्यरातमा पनि आउनुपर्ने हुन्छ ।’
सामान क्यारिङ गर्ने क्रममा उनलाई सुरक्षाकर्मीले खेतखेतै लखेटेका छन् । कयौँ पटक प्रहरीले समातेको पनि छ । तर, उनलाई अन्य भन्दा भारतीय बजार रुपइडिहाबाट क्यारिङ गर्ने काम सजिलो लाग्छ । ‘अरु कामभन्दा यसमा परिश्रम गर्न पर्दैन । परिश्रम गर्न नपरे पनि ज्याला मजदुरीको भन्दा पैँसा पनि धेरै हुन्छ,’ नाम नबताउने सर्तमा ति महिलाले भनिन् ।
उनी विहानको खाना खाएर रुपइडिहा पुग्छिन् । ब्यापारीले दिएको लोकेसनबाट सामान उठाउँछिन् । उनले एक पटकमा ५० वटा ट्राउजर, महिलाको अण्डर वयर नेपालगन्ज पुर्याउँछिन् । उनले यी सवै ट्राउजर लगाउँछिन् । केहि अण्डर वयर पनि लगाउँछिन् र केहि गुप्ताङ्गमा पट्याएर राख्छिन् । उनले एक पटकमा कम्तीमा २० वटा ब्रा लगाउँछिन् । अनि, थोरै सामान झोलामा राखेर ल्याउँछिन् ।
उनी जाने बेला पातलो शरिर लिएर रुपइडिहा जान्छिन् । मोटाएर नेपालगन्ज फर्किन्छिन् । ‘तलदेखि माथिसम्म लुगैलुगा राख्दा मुख पातलो शरिर हात्ती जस्तो हुन्छ,’ उनले भनिन्, ‘लुगा लगाएर रिक्सामा बस्न पनि मुस्किल पर्छ । नाकामा खटिएका सुरक्षाकर्मीले हामीलाई यी महिला जानेबेला पातला थिए । आउने बेला मोटाएर फर्किए भनेर जिस्क्याउँछन् ।’
उनले एक पटकमा ५० वटा साडी नेपालगन्ज पुर्याएको रेकर्ड छ । रुपैइडिहाबाट नेपालगन्ज पुर्याए वापत उनले एउटा साडीको तीन सय पाउँछिन् । क्यारिङ गर्न थालेदेखि पाकेटमा रुपैँया खाली नभएको उनले बताइन् । ‘जवदेखि क्यारिङ गर्न थाले तवदेखि मेरो पाकेटमा रुपैँया खाली भएको छैन,’ उनले भनिन् ।
यहाँ महिलाले मात्र सामान क्यारिङ गर्दैनन् । बाालबालिका र पुरुषले समेत सामान क्यारिङ गरेर जिविका चलाइरहेका छन् । महिलाले साडी, सुट, सल्वार, ट्राउजर, अण्डर वयर, ब्रा, धोती जस्ता सामान क्यारिङ गर्छन् भने पुरुषहरु इलेक्ट्रीक, इलेक्ट्रोनिक्स, गाडीका पार्टपूर्जा, दाल, चामल, चिनी, औषधि जस्ता सामान क्यारिङ गरेको फेला परेको सुरक्षाकर्मी बताउँछन् । महिला र पुरुषले यहि सामान क्यारिङ गर्छन् भन्ने छैन, तर पुरुष र महिलाले क्यारिङ गर्ने सामान फरक फरक छन्,’ एक सुरक्षाकर्मीले भने । (रुपइडिहाबाट सामान क्यारिङ गर्ने महिलासँगको कुराकानीमा आधारित)