नेपालगन्जमा सम्साँझै यसरी लुटिन्छन् सर्वसाधारण

बाँके, ५ पुस, २०७९ ।


शनिवार रातको ८ बजे । नेपालगन्जको पुष्पलाल चोक सुनसान हुने क्रममा थियो । रात सँगै चिसो छिपिदै गएकोले होटल ब्यवसायी र अन्य ब्यापारीहरु पसल बन्द गरि बासस्थान तर्फ जाँदै थिए । सर्वसाधारणहरु गन्तब्यमा पुग्न हतार गर्दै थिए ।
अम्विकेश्वरी यातायात सेवा सुविधा प्रालिका कर्मचारी गोविन्द विक काउन्टर बन्द गरेर निजी निवास राँझातिर जाँदै थिए । रिक्सा र अन्य सवारी साधन नपाएपछि उनी पैदल जाँदै गर्दा कर्णाली प्रदेस प्रहरी तालिम केन्द्र नजिक उनको एन्ड्रोइड मोवाइलको घण्टी बज्यो । गोजीबाट मोवाइल निकाल्न के भ्याएका थिए, पछाडीबाट आएको गाडीमा बसेका ब्यक्तिले उनको हातबाट मोवाइल थुतेर गाडी कुदायो ।
उनी हतार–हतार आफ्ना साथीभाईलाई अर्को मोवाइलबाट फोन गरेर भारतीय नम्बर प्लेटको गाडीमा बसेको ब्यक्तिले मोवाइल खोसेर भागेको जानकारी गराए । तर, मोवाइल खोसेर भाग्दै गरेको गाडीको इन्धन सकिएर सडक डिभिजन कार्यालय अगाडी रोकियो । ‘गाडीमा आएका गुण्डाले हिड्दै गरेका ब्यक्तिलाई लुट्ने, गोली हानेको फिल्ममा देखेको थिएँ, तर आज प्रत्यक्ष रुपमा आफैले भोगेँ,’ उनले भने, ‘त्यो घटना मलाई अहिले पनि फिल्म जस्तै लागिरहेको छ ।’
गाडी रोकिने वित्तिकै मोवाइल खोस्ने ब्यक्ति भागेको उनले बताए । उनले गाडी चालकसँग मोवाइल मागे । तर, चालकले आफूसँग मोवाइल नभएको भन्दै दिन इन्कार गरे । विकले मोवाइल लुट्ने गाडीका चालकलाई दुई झापड हाने । गाडीको चावी खोसेर राखे, तै पनि मोवाइल फेला परेन । त्यहिबेला प्रहरी विटमा कार्यरत प्रहरी आइन् । उनले मोवाइल लुट्पाट भएको घटना सुनाए । तर, प्रहरीले चालकलाई छाडेर अभियुक्त भगाउन सहयोग गरिन् । ‘मिलापत्र गर्न जिल्ला प्रहरी कार्यालय आउने शर्तमा प्रहरीले चालकलाई छाड्नु भयो । तर, अहिलेसम्म न त अभियुक्त आएको छ न त प्रहरीले खोजतलास नै गरेको छ,’ विकले भने ।
उनले प्रहरीमा निवेदन दिएका छन् । मोवाइल लुटपाट गर्न प्रयोग भएको गाडी अहिले पनि सडक डिभिजन कार्यालय नजिकैको प्रहरी विटमा छ । घटना अनुसन्धानमा प्रहरीले चासो नदिएपछि उनी निराश भएका छन् । मोवाइल पाउने आशा मर्दै गएको छ । ‘मलाई मोवाइल गुमाएको भन्दा नेपालगन्जमा लुट्पाटको घटना बढेकोमा चिन्ता छ । मान्छे मरेको भन्दा काल पल्केको चिन्ता हो मलाई,’ उनले भने, ‘यस्ता घटनालाई प्रहरीले सामान्य मान्दै गयो भने भोली अपराधका ठूला घटना नघट्लान भन्न सकिन्न ।’

Previous articleगाउँसभा भएपछि डुडुवाबासी खुसी : ६५ करोड ३१ लाख बजेट पेश
Next articleडुडुवा गाउँपालिकाको बजेट, नीति तथा कार्यक्रम पारित : ढिलो आयो, उत्कृष्ट आयो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here