बाँके, ५ पुस, २०७९ ।
डुडुवा गाउँपालिकाले बजेट, नीति तथा कार्यक्रम ढिलोगरि ल्याए पनि उत्कृष्ट ल्याएको छ । गाउँपालिकाले स्वास्थ्य, कृषि र पशुपालनलाई प्राथमिकतामा राखे पनि शिक्षालाई पहिलो प्राथमिकतामा राखेको छ । निर्वाचित भएको सात महिनापछि भएको १२ औँ गाउँसभामा अध्यक्ष नरेन्द्रकुमार चौधरीले शिक्षालाई पहिलो प्राथमिकतामा राखेको बताए ।
उनले छोरी शिक्षालाई बढावा दिन कन्या मुद्दती शिक्षा योजना ल्याएको बताए । कन्या मुद्दती शिक्षा योजना अन्तरगत छोरी जन्मिने वित्तिकै खाता खोलेर पैँसा जम्मा गर्ने लक्ष्य गाउँपालिकाले लिएको छ । ‘छोरीको उच्च शिक्षामा टेवा पुर्याउने यसको मुख्य उद्देश्य हो,’ उनले भने ।
गाउँपालिकाले संस्कृत, अवधी र उर्दु भाषाको संरक्षण र सम्वद्र्धन गर्न मातृभाषामा पठन पाठन गराउने नीति अघि सारेको छ । गुरु–शिक्षक–सहजकर्तामार्फत मातृभाषाको संरक्षण र विकासमा जोड दिने नीति गाउँपालिकाले अघि सारेको अध्यक्ष चौधरीले बताए । छोरीको शिक्षामा टेवा पुर्याउन एसईई उत्तीर्ण छात्रालाई साइकल प्रदान गरी थप अध्ययनको लागि प्रोत्साहित गर्ने योजना छ,’ उनले भने ।
पशुपति माध्यमिक विद्यालय नौरीगौडीमा गाउँपालिका स्तरिय क्याम्पस स्थापना गर्न नीति गाउँपालिकाले बनाएको छ । उक्त क्याम्पस स्थापनाका लागि जग्गा प्राप्तिको काम अगाडी सारेको छ । ‘डुडुवामा रहेका सबै सामुदायिक बिद्यालय र बाल विकास केन्द्रमा अंग्रेजी माध्यमबाट पठनपाठन सिकाई कार्यमा जोड् दिइनेछ,’ प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद पौडेलले भने ।
गाउँपालिकाले डुडुवा सरकारको अवधारणा कार्यान्वयन गर्न घर–घर स्वास्थ्य कार्यक्रम, जेष्ठ नागरीकसँग गाउँपालिका अध्यक्ष कार्यक्रम, घर–घर पशुसेवा कार्यक्रम, वडा–वडामा स्वास्थ्य प्रयोगाशाला सुविधा, टोल–टोलमा घटनादर्ता अभियान र मालपोत संकलन अभियानलाई प्रभावकारी रुपमा अगाडी बढाउने नीति बनाएको छ ।
बाल उद्यानको स्थापना, तलाउ तथा पोखरीको संरक्षण, पिकनिक स्पट निर्माण, राप्ती नदी र डुडुवा खोलामा डुंगा तथा ¥याफ्टिङ्ग संचालन गर्ने योजना अघि सारेको गाउँपालिकाले प्राचिन मठ, मन्दिर, गुम्वा, चर्च, मस्जिद, गुरुद्वाराको संरक्षण, मर्मत सम्भार तथा पुनर्निर्माण गरी पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने भएको छ ।
राप्ती नदी किनारमा स्नानघर र आर्यघाटलाई व्यवस्थितरूपमा संचालन गर्न आवश्यक भौतिक पूर्वाधार निर्माण गर्ने प्रमुख प्रशासकिय अधिकृत पौडेलले बताए । गाउँपालिका वडा नं. ६ माहुत टोलमा सात सय मेट्रिक टन क्षमताको कोल्ड स्टोर निर्माण गर्न बजेट विनियोजन गरेको उनले बताए । ‘डुडुवाका किसानले उत्पादन गरेको आलु र तरकारी तथा फलफूल भण्डारण गर्न कोल्ड स्टोर निर्माण गर्ने योजना छ,’ उनले भने ।
डुडुवा गाउँपालिका २ मा स्थापना भएको बिउ भण्डारण तथा प्रशोधन केन्द्र संचालन गर्न पनि गाउँपालिकाले बजेट विनियोजन गरेको छ । डुडुवाबासीलाई सर्वसुलभ तथा गुणस्तरिय स्वास्थ्य सेवा दिन स्वास्थ्य प्रयोगशाला (प्याथालोजी) नभएका वडामा स्थापना गरि संचालनमा ल्याउने भएको छ । पालिकाले पालिकाको १, ३ र ४ वडामा स्वास्थ्य प्रयोगशाला स्थापना गर्न बजेट विनियोजन गरेको छ । ‘न्यूनतम शुल्कमा डुडुवाका सवैलाई स्वास्थ्य सेवा दिई पहँुचमा वृद्धि गर्न सवै वडामा प्याथालोजी सेवा विस्तार गर्ने योजना अघि सारिएको छ,’ उपाध्यक्ष साहिदा बानोले भनिन् ।
रु. ६५ करोड ३१ लाख ९३ हजारको बजेट पारित
गाउँपालिकाको १२ औँ गाउँसभामा अध्यक्ष नरेन्द्रकुमार चौधरीले पेश गरेको आर्थिक वर्ष ०७९–०८० को वजेट पारित भएको छ । अध्यक्ष चौधरीले सभामा पेश गरेको एक वटा विधियेक, नीति तथा कार्यक्रम र रु. ६५ करोड ३१ लाख ९३ हजारको बजेट पारित गरेका थिए ।
उनले शिक्षा, स्वास्थ्य, कृषि, पशु, स्वरोजगार, विपत, बन तथा बातावरण, विकास निमार्ण लगायतका १८ बुँदे महत्वपूर्ण नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।