बाँके, १ पुस, २०७९ ।
१२ साउनमा नेपालगन्जस्थित भेरी अस्पतालले ल्याएको ६ थान डायलाइसिस मेसिन जडान भएको दुई महिना वित्दा समेत संचालनमा आउन सकेका छैनन् । डायलाइसिसका लागि आवश्यक पर्ने पानी प्रशोधन गर्ने आरओ प्लान्ट जडान भएको पनि एक महिना वितिसकेको छ, तर डायलाइसिस मेसिन अझैँ संचालनमा नआएको भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री चापागाईले बताए ।
आरओ प्लान्टको पानी परीक्षणका लागि काठ्माडौँ पठाएको एक महिना भइसकेको उनले बताए । ‘आरओ प्लान्ट जडान भइसकेको छ । डायलाइसिस गर्ने बेला प्रयोग हुने आरओ मेसिनले उत्पादन गर्ने पानीको गुणस्तरियता जाँच गर्न काठ्माडौँ पठाएका छौँ । पानीको गुणस्तरियता जाँच भएर आउने वित्तिकै नयाँ मेसिनबाट डायलाइसिस सुरु गर्छौँ,’ डा. चापागाईले भने ।
उनले पौष पहिलो साताबाट नयाँ ६ वटा मेसिनबाट डायलाइसिस सुरु गर्ने तयारी गरिएको बताए । नयाँ मेसिन पुरानो आइसियू कक्षमा राखिएको छ । उनले ६ नयाँ मेसिन मध्ये पाँच वटा मात्र संचालनमा ल्याउने बताए । नयाँ मेसिन जडान भए दैनिक थप १५ जना मिर्गौलाका विरामीले डायलाइसिस सेवा पाउने अस्पतालले जनाएको छ । ‘एक सिफ्टमा पाँच जनाका दरले थप दैनिक १५ जना विरामीले सेवा पाउने छन्,’ उनले भने ।