आठौँ नेपालगन्ज म्याराथन : आर्मीका खडकसिंह खड्काले जिते उपाधि (फोटोहरु)

बाँके, २४ मंसिर, २०७९ ।


विभागीय त्रिभुवन आर्मी क्लबका खडकसिंह खड्काले आठौं संस्करणको धारा नेपालगन्ज म्याराथनको उपाधि जितेका छन् । नेपालगन्जमा शनिबार भएको म्याराथनमा खडकले निर्धाति दूरी २ घण्टा २० मिनेट २८ सेकेन्डमा पूरा गर्दै उपाधि जितेका हुन् ।
चौथो संस्करणको नेपालगन्ज म्याराथन बाहेक सबै संस्करणमा सहभागी भएका उनले सातौं संस्करणमा चौथो भएका थिए । प्रतियोगितामा आर्मीका नरेन्द्र रावत दोस्रो भए । उनी सातौँमा पनि दोस्रो भएका थिए । उनले निर्धारित दुरी २ घण्टा २२ मिनेट २९ सेकेन्डमा निर्धारित दुरी पार गरेको आयोजक क्रियटिभ ह्यान्डसका अध्यक्ष टीएस ठकुरीले जानकारी दिए ।
आर्मीकै मोहनदेव जोशी २ घन्टा २४ मिनेट ३६ सेकेन्डमा दुरी पार गर्दै तेस्रो भए । २ घन्टा ४१ मिनेट ५७ सेकेन्डमा दुरी पार गर्दै कमलराज तिमिल्सिना चौथो र रहिवत दाहाल, यामदेव राई, बल बहादुर सुनार र विकास यादव क्रमशः पाँचौँ, छैठौँ, सातौँ र आठौं भए ।
उपाधिसँगै खडकले एक लाख ५० हजार रुपैँया, पदक र प्रमाणपत्र प्राप्त गरेका छन् । दोस्रो भएका नरेन्द्रले ६० हजार, तेस्रो भएको मोहनदेवले ३० हजार, चौथो भएका कमलले १५ हजार रुपैयाँ पाएका छन् ।


यसैगरी, आठौं संस्करणको धारा नेपालगन्ज म्याराथन अन्तरगत महिला हाफ म्याराथनको उपाधि बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले जितेकी छन् । नवौं राष्ट्रिय खेलकुदकी दोहोरो स्वर्णधारी (५ हजार र १० हजार) मिटरकी च्याम्पियन सन्तोषीले निर्धारित दूरी एक घण्टा १६ मिनेट ४१ सेकेन्डमा पूरा गर्दै उपाधि जितेकी हुन् ।
सन्तोषी सातौं संस्करणको पनि च्याम्पियन हुन् । उनले त्यसबेला एक घण्टा १८ मिनेट ४८ सेकेन्डको समयमा निर्धारित दूरी पार गरेकी थिइन् । त्यसैगरी, एक घण्टा २५ मिनेट १५ सेकेन्डमा दूरी पार गर्दै अन्जली चौहान दोस्रो भइन् । अञ्जु खड्काले एक घण्टा ३६ मिनेट ४४ सेकेन्डमा दूरी पार गर्दै तेस्रो भएको आयोजकले जनाएको छ ।
सन्तोषीले ६० हजार रुपैँया, पदक र प्रमाण पत्र प्राप्त गरिन् । दोस्रो भएकी अञ्जलीले ३० हजार रुपैँया र तेस्रो भएकी अञ्जुले १५ हजार रुपँैया प्राप्त गरिन् । चौथोले १० हजार, पाँचौंले सात हजार, छैठौंले सात हजार, सातौंले ६ हजार र आठौंले पाँच हजार रुपैँया जितेको आयोजकले जनाएको छ ।


पाँच किलोमिटर खुल्ला (महिला) मा पुलिसकी राजपुरा पछाई प्रथम, राममाया बुढा दोस्रो र बिमला कार्की तेस्रो भइन् । उनीहरुले क्रमशः २० हजार, १० हजार र सात हजार रुपैँया प्राप्त गरेका छन् ।
यसैगरी, १० किलोमिटर खुल्ला (पुरुष) मा मुकेश पाल प्रथम, भुवन राना द्वितिय र सुनिल रम्जाली मगर तेस्रो भए । उनीहरुले क्रमशः ३० हजार, १५ हजार र १० हजार रुपैँया पुरस्कार पाए ।
म्याराथनमा ५ किलोमिटर (छात्र) मा अतुल गोडिया पहिलो, सन्तोष विक दोस्रो र केशर जंग रायमाझी तेस्रो भए । ३ किलोमिटर (छात्रा) मा नेहा सापकोटा पहिलो, दीपशिखा शाही दोस्रो र निर्मला सिजापति तेस्रो भइन् । यि दुवै विधाको शीर्ष तीनले क्रमशः १० हजार, सात हजार र पाँच हजार रुपैँया जितेका छन् ।
ह्वील चियर दौडतर्फ महिलामा देउकुमारी थारु पहिलो, मन कुमारी नेपाली दोस्रो र श्यामकली थारु तेस्रो भइन् । पुरुषमा यज्ञबहादुर खत्री पहिलो, महेश चौधरी दोस्रो र प्रज्वल शाही तेस्रो भए । ह्विलचेयरमा शीर्ष तीनले क्रमशः १० हजार, सात हजार र पाँच हजार रुपँैया पाए ।


किड्स रन (गल्स) मा जेनिशा थापा पहिलो र वैष्णवी मिश्र दोस्रो भइन् । उनीहरुले गिफ्ट ह्याम्पर पाए । ५ किमि कर्पोरेट रनमा योगेन्द्र मल्ल पहिलो, सन्दीप गुरुङ दोस्रो र दुर्गा गहतराज तेस्रो भए ।
कर्पोरेट रनतर्फका विजेताले पोखरा अन्तर्राष्ट्रिय म्याराथनको रन फर फनमा सहभागी हुन पाउनेछ । त्यसमा हवाई टिकट सहित दुई दिनको आवास तथा भोजनको व्यवस्थापन नेपालगन्ज म्याराथनले गर्नेछ ।
म्याराथनको उद्घाटन नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट र कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्यले गरेका थिए ।

Previous article१० ग्राम खैरो हिरोइन सहित रैदास पक्राउ
Next articleप्रतिनिधिसभा तर्फ बाँकेबाट माओवादी केन्द्रको प्रतिनिधित्व शुन्य (बाँके, बर्दिया र दाङबाट को-को भए सिफारिस ?)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here