नरैनापुरमा पेट्रोल पम्प संचालन : हट्यो भारत र नेपालगन्ज आउने बाध्यता

बाँके, २० मंसिर, २०७९ ।


नरैनापुर गाउँपालिकामा पहिलो पटक पेट्रोल पम्प संचालनमा आएको छ । पेट्रोल पम्प संचालनमा आएपछि त्यहाँका सवारी चालकलाई भारतीय र नेपालगन्जका पेट्रोल पम्पको निर्भरता हटेको छ । अव त्यहाँका सवारी चालकले आफ्नै ठाउँमा पेट्रोल, डिजेल हाल्न पाउने भएका छन् ।
स्टार रिफ्युलिङ्ग सेन्टरले नरैनापुर गाउँपालिका ५ मटेहियामा पहिलो पटक पेट्रोल पम्प संचालनमा ल्याएपछि नेपालगन्ज र भारतीय पेट्रोल पम्पमा धाउनु पर्ने बाध्यता हटेको स्थानीय विनय दिक्षितले बताए । ‘पेट्रोल भर्न नेपालगन्ज र भारतीय बजार धाउनु पर्ने र बोत्तलको पेट्रोल प्रयोग गर्नुपर्ने बाध्यता बाध्यता अन्त्य भएको छ,’ उनले भने ।
पेट्रोल पम्पको उदघाटन गर्दै गाउँपालिका प्रमुख इस्तियाक अहमद शाहले बाँकेको सबैभन्दा दुर्गम मानिने नरैनापुरमा शिक्षा, स्वास्थ्य, सडक र बिजुलीसँगै पछिल्लो पटक पेट्रोल पम्प पनि संचालनमा आएको बताए । उनले पेट्रोल पम्प संचालनमा आएपछि गाउँपालिका समृद्धिको एक खुड्किला माथि उक्लेको बताए । ‘समृद्धिको खुड्किलो एकपछि अर्को गरि उक्लिदै गाउँपालिकालाई समृद्ध नरैनापुर बनाउने अभियानमा हामी दृढ भएर लागेका छौँ,’ उनले भने ।
पेट्रोल पम्पका संचालक रिजवान अहमद खाँले पम्पमा डिजिटल प्रविधि प्रयोग भएकोले उपभोक्ताले परिमाण, कुल मूल्य र प्रतिलिटर मूल्यबारे सहजै जानकारी पाउने बताए ।
उनले आगलागीबाट जोगाउन पम्पमा विशेष किसिमको ‘अर्थिङ’ जडान गरिएको बताए । ‘हाल आयात भइरहेका युरो– ६ मापदण्डको इन्धनमा प्रज्ज्वलनशील क्षमता बढी भएर आगलागी हुने सम्भावना रहन्छ । त्यसलाई रोक्न हामीले स्पार्क नहुने ब्यवस्था मिलाएका छौँ,’ उनले भने ।
पम्पको उद्घाटन कार्यक्रममा नरैनापुर गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल, वडा नं. २ का वडा अध्यक्ष मसूद अहमद शाह, ५ का वडा अध्यक्ष कृष्णचन्द्र मौर्य, कार्यपालिका सदस्य सन्तोष श्रीवास्तव लगायतको सहभागिता रहेको थियो ।

Previous articleबाँके ३ (ख) बाट निर्वाचित प्रदेस सांसद बादशाह कुर्मीले खान पाउने छैनन् शपथ
Next articleमटेहिया–सोनपुर सडकका लागि बजेट पठाउने प्रदेस सरकारको आश्वासन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here