बाँके, १८ मंसिर, २०७९ ।
बाँके प्रदेससभा ३ (क) बाट निर्वाचित प्रदेससभा सांसद रत्न खत्रीले निर्वाचन क्षेत्र अन्तर्गतका अति विपन्न परिवारका तीन जना बालबालिकालार्ई पाँच बर्षसम्म पढाउने जिम्मेवारी लिएका छन् ।
नेकपा एमाले निर्वाचन परिचालन कमिटीको आइतबार बसेको बैठकमा एमाले बाँकेका सचिव समेत रहेका प्रदेस सांसद खत्रीले निर्वाचन क्षेत्र अन्तर्गतका दलित, मधेसी–मुस्लिम र थारु समुदायका एक–एक जना गरी तीन जना विद्यार्र्थीलाई पाँच वर्षसम्म अध्ययन–अध्यापनको सम्पूर्ण जिम्मेवारी आफुले लिने घोषणा गरेका हुन् । खत्रीले पार्टी कमिटीले अति विपन्न घरपरिवारका बालबालिकाको पहिचान गरि छनौंट गर्ने बताए ।
यसैगरी, खत्रीले जनतासँगको सम्वन्धलाई बलियो बनाउन निर्वाचन क्षेत्रमै सम्पर्क कार्यालय स्थापना गरि समन्वयको काम अघि बढाउने भएका छन् । सम्पर्क कार्यालयमा समन्वयका लागि एक जना कर्मचारीको ब्यवस्था गर्ने उनको योजना छ ।
उनले निर्वाचनको समयमा प्रत्येक महिना एकदिन निर्वाचन क्षेत्र अन्तर्गतका हरेक वडाका गाउँवस्तीमा प्रत्यक्ष पुगेर जनतासँग अन्तरक्रिया गर्ने प्रतिवद्धता जनाएका छन् । निर्वाचन परिचालन कमिटीका संयोजक तथा एमाले प्रदेस कमिटी सदस्य घननाथ खनालले निर्वाचनका समयमा जनतासँग गरिएका प्रतिवद्धता पुरा गर्न निर्वाचित सांसदसँगै पार्टी कमिटी पनि लाग्ने प्रतिवद्धता जनाए ।