बाँके, १५ मंसिर, २०७९ ।
नेपाल शिक्षक महासंघ, बाँकेले डुडुवा गाउँपालिका स्थित विद्यालयमा कार्यरत शिक्षक र विद्यालय कर्मचारीलाई तत्काल तलव र सरकारले तोकेको अन्य सुविधा दिन माग गरेको छ । त्यहाँका विद्यालयमा कार्यरत शिक्षकले गत साउनदेखि तलव र दसैँ पेश्की नपाएको भन्दै महासंघले विहीवार विज्ञप्ती जारी गरि लामो समयदेखि तलव तथा अन्य सुविधा नपाउँदा शिक्षक र विद्यालय कर्मचारीहरु भोकभोकै बस्न बाध्य भएको जनाएको छ । ‘लामो समयदेखि तलव नपाउँदा शिक्षक र कर्मचारीको दैनिकी कष्टकर बन्दै गएको छ,’ महासंघ बाँकेले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

गाउँपालिकाका जनप्रतिनिधिका कारण विद्यार्थीहरु छात्रबृत्ती, दिवा खाजा जस्ता सेवा, सुविधाबाट बञ्चित हुनु परेको महासंघ अध्यक्ष पवनकुमार यादव र सचिव महेशकुमार शर्माद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । ‘जनप्रतिनिधि वीचको लडाइँले शिक्षक र कर्मचारी तलवबाट बञ्चित भएका छन् नै विद्यालयको दैनिक कामकाजमा समेत प्रत्यक्ष असर परेको छ,’ विज्ञप्तीमा छ ।
विद्यालय जस्तो संवेदनशील क्षेत्रमा राजनीतिको असर पार्न नहुने भन्दै महासंघले तत्काल समस्या समाधान नभए सशक्त आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएको छ । ‘आन्दोलनबाट उत्पन्न हुने घटनाको जिम्मेवारी डुडुवा गाउँपालिकाका सम्बन्धित सरोकारवाला निकायले लिनुपर्ने छ,’ विज्ञप्तीमा अगाडी भनिएको छ ।
विज्ञप्ती जारी गर्नुअघि डुडुवा गाउँपालिकामा कार्यरत शिक्षक र महासंघका पदाधिकारी वीच छलफल भएको थियो । छलफलमा सवै शिक्षक संगठनको सहभागिता रहेको थियो ।
