नेपालगन्ज आइसिपी निर्माण ६५ प्रतिशत पूरा : थपिएको समयमा पनि पूरा नहुने संकेत

बाँके, १४ मंसिर, २०७९ ।


दुई वर्षमा सक्ने गरि नेपालगन्जमा निर्माणाधिन एकीकृत जाँच चौँकी (आइसिपी) निर्माणको काम थप भएको समयमा पनि सम्पन्न नहुने भएको छ । दुई वर्षमा ६५ प्रतिशत निर्माणको काम भए पनि थप भएको चार महिनामा ३५ प्रतिशत काम पूरा हुने सम्भावना कम रहेको सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई नेपालगन्जका आयोजना प्रमुख आर्किटेक्ट खड्गबहादुर चौधरीले बताए ।
भारत सरकारको दुई अर्व ३५ करोड नेपाली रुपैँया लागतमा भारतकै राजदीप विल्डकन प्रालिले निर्माण गरिरहेको आइसीपीको सम्झौता डिसेम्बर, २०२२ मा सकिदै थियो । कोरोना महामारीका कारण काम गर्न नसकेको भन्दै निर्माण कम्पनीले तीन महिनाको म्याद थप गराएको थियो । थपिएको म्याद ३० मार्च, २०२३ मा सकिदै छ ।
तर अहिलेसम्म कुनै पनि संरचना पूरा भएका छैनन् । आइसिपी क्षेत्रमा ब्लक विछ्याउने र स्टिल स्ट्रक्चरका संरचना धमाधम निर्माण भए पनि अधिकांश पक्की भवन निर्माण अपुरा छन् । ‘संरचना निर्माणको रफ्तार पछिल्लो समय बढेको छ, तर थपिएको तीन महिनामा सम्झौता अनुसारको निर्माण कार्य सम्पन्न हुने सम्भावना एकदमै न्यून छ,’ आयोजना प्रमुख चौधरीले भने ।
आइसिपी निर्माणको काम धेरै भएको जस्तो देखिए पनि मसिना काम धेरै बाँकी रहेको उनले बताए । ‘भौतिक संरचना निर्माणको काम सकेर फिनिसिङतर्फ लाग्नुपर्ने बेला हो यो, तर कुनै पनि संरचना फिनिसिङ भएका छैनन्,’ उनले भने, ‘दुई वर्षमा ६५ प्रतिशत काम भएको छ । बाँकी ३५ प्रतिशत काम पूरा गर्न अझैँ कम्तिमा ६ महिना लाग्ने देखिन्छ ।’
निर्माण कम्पनीले थप भएको समय भित्र निर्माण पूरा गर्ने प्रगति प्रतिवेदन बुझाएको उनले बताए । ‘निर्माण कम्पनीले ६५ प्रतिशत काम पूरा गरेको र ३५ प्रतिशत काम तीन महिनामा गर्ने दावी गरेको छ, तर कामका प्रकृति हेर्दा उसको दावीमा विश्वास गर्न सकिने अवस्था देखिदैन,’ उनले भने ।
प्रशासनिक भवन, सुरक्षाकर्मी, गोदाम घर, पशु, पंछी तथा प्लान्ट क्वारेन्टाइन लगायतका भवन पनि अधुरा छन् । पर्खाल लगाउने कार्य पनि आधामात्र पूरा भएको आयोजना प्रमुख चौधरीले बताए ।
८८ विघा क्षेत्रमा फैलिएको आइसिपीमा भन्सार, अध्यागमन, प्लान्ट तथा पशु क्वारेन्टाइन, बैँक, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्यारेक लगायतका संरचना निर्माण हुन लागेको छ । तर यी कार्यालयका लागि अहिलेसम्म कुनै पनि भवन निर्माण पूरा भएका छैनन् । ‘ढल तथा खानेपानीको लागि अन्डरग्राउण्डको काम पनि हुन बाँकी छ,’ उनले भने ।
सन् २००५ मा एकीकृत भन्सार जाँच चौकी (आइसिपी) निर्माण गर्न नेपाल–भारत सरकार वीच सम्झौता भएको थियो । नेपालको विराटनगर, वीरगन्ज, भैरहवा र नेपालगन्जमा आइसिपी निर्माण गर्ने सम्झौता एकैसाथ भए पनि विराटनगर र वीरगन्जमा निर्माण सम्पन्न भई आइसिपी संचालनमा आइसकेको छ ।

Previous article२३ मंसिरमा ‘नेपालगन्ज वाकाथन’ : सफल पार्न विभिन्न उपसमिति गठन
Next articleमतदाताको शिर झुक्न दिन्नौँ : संघीय सांसद ढकाल र प्रदेस सांसद चौधरी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here