बाँके, १३ मंसिर, २०७९ ।
भ्रष्टाचार बिरुद्धको अन्तर्राष्ट्रिय दिवस ९ डिसेम्वर (२३ मंसिर) मा नेपालगन्जमा ‘भ्रष्टाचार बिरुद्ध नेपालगन्ज वाकाथन’ हुने भएको छ । ‘भ्रष्टाचार बिरुद्धका लागि सँगै हिँडौं’ भन्ने नाराका साथ आयोजना हुने कार्यक्रमको व्यवस्थापनका लागि विभिन्न समिति र उपसमिति गठन भएका छन् ।
बासका केन्द्रीय उपाध्यक्ष शिवकुमार बर्मालाई कार्यक्रम ब्यवस्थापनको जिम्मेवारी दिइएको बासका निर्देशक हेमराज भट्टले जानकारी दिए । यसैगरी, मन भण्डारीलाई आर्थिक उपसमिति संयोजक, अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहलाई समारोह ब्यवस्थापन उपसमिति संयोजकको जिम्मा दिइएको छ ।
समन्वय उपसमितिको जिम्मेवारी नमस्कार शाहले पाएका छन् । भने, सांस्कृतिक उपसमितिको जिम्मेवारी रबिन्द्र बोहरालाई दिइएको प्रचारप्रसार उपसमिति संयोजक हेमराज भट्टले जानकारी दिए ।
यसैगरी बैठकले वाकाथनको रुट फाइनल गरेको छ । नेपालगन्जको गणेशमान चोकबाट शुरु भई जिल्ला प्रशासन कार्यालय, त्रिभुवन चोक हुँदै बीपी चोकमा गएर समापन हुने तय गरिएको भट्टले बताए ।
वाकाथनमा सांस्कृतिक प्रस्तुती, झाँकी प्रहर्सन, सडक नाटक, पर्चा, पम्पलेट बितरण, बिभिन्न प्रतियोगिता लगायतका गतिविधि समावेश गरिएको उनले बताए । कार्यक्रममा स्वस्फूर्त सहभागी भई भ्रष्टाचार बिरुद्धको अभियानमा समर्थन गर्न सरोकारवाला तथा आम नागरिकसँग बासले अपिल गरेको छ ।
दोस्रो पटक गर्न लागिएको वाकाथनले भ्रष्टाचार बिरुद्ध जागरण ल्याउने र नेपालगन्जको पहिचानलाई व्यापकता दिने अपेक्षा गरिएको छ । ९ डिसेम्वर, २००३ मा संयुक्त राष्ट्रसंघिय महासभाबाट भ्रष्टाचार बिरुद्ध संयुक्त राष्ट्रसंघिय महासन्धि पारित भएको थियो ।
यसैगरी बासका केन्द्रीय अध्यक्ष लुना बुढाथोकीको अध्यक्षतामा बसेको बास सचिवालय बैठकले बासको २२ औं बार्षिकोत्सबलाई भब्यताका साथ सम्पन्न गर्न जिम्मेवारी वाँडफाँड गरेको छ । २४ मंसिरमा नेपालगन्जमा हुने बार्षिकोत्सबको तयारीका लागि बोर्षिकोत्सब समारोह ब्यवस्थापन समिति संयोजकमा बासका निर्वतमान अध्यक्ष रमेश सिटौलालाई जिम्मेवारी दिइएको छ ।